१७ बैशाख २०८१, सोमबार

 

मृतक थापाका परिवारलाई प्रवासीले पठाए २० लाख

२ हप्ताअघि सडक दुर्घटनामा परी ज्यान गुमाएका बागलुङको गलकोट नगरपालिका–७ मल्मका विनोद थापाको परिवारलाई जापान र लक्जम्बर्गमा रहेका प्रवासी नेपालीले राहत रकम पठाएका छन् ।

घुम्टे युवा परिवार जापान शाखाको पहलमा संकलित १८ लाख ८५ हजार र लक्जम्बर्गमा रहेका आफन्तजनबाट प्राप्त २ लाख रुपैयाँ थापाको तेह्रौं दिनको पुण्यतिथिमा परिवारजनलाई हस्तान्तरण गरिएको हो ।

राहत रकम वडाध्यक्ष राज थापा र घुयुप जापान शाखाका सचिव तुलवीर थापाले विनोदका बुवा द्रोणबहादुरलाई प्रदान गरेका थिए । छोराको वियोगसँगै परिवार आर्थिक समस्यामा जेलिएपछि राहत अभियान चलाइएको सचिव थापाले बताए । ‘

१ हप्तामै स्वस्फूर्त रूपमा रकम संकलन भयो, अभियानमा जापानमा रहनुभएका गलकोटे धेरै जोडिनुभएको छ,’ उनले भने, ‘दिवंगत विनोद थापाका बहिनीहरूको पढाइ र परिवारको जीविकाका लागि केही सहयोग पुगोस् भनेर राहत प्रदान गरेका हौं ।’

राहत अभियानमा शाखाका उपाध्यक्ष दुर्गा थापा, युवा संयोजक प्रकाश केसी र सल्लाहकार कुलवीर थापा विशेषरूपमा खटेका थिए ।

वडाध्यक्ष थापाले गाउँछिमेकमा विपद् पर्दा प्रवासमा रहेका नेपालीहरूले गर्ने सहयोग अतुलनीय रहने बताए । उनले घुम्टे युवा परिवारका देशभित्र र बाहिर रहेका शाखाले सामाजिक तथा मानवीय सेवामा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

गलकोट, मल्ममा केन्द्रीय कार्यालय रहेको घुयुपका अध्यक्ष थम्मन थापाले जापान शाखामार्फत गलकोटमा ठूलो सहयोग भित्रिएको बताए । गाउँको गाह्रोसाह्रोमा आर्थिक सहयोगदेखि सामाजिक विकासका काममा घुयुपले हातेमालो गर्दै आएको उनको भनाइ छ ।

चितवनमा मोटरसाइकलमा सवार रहेका बेला विद्यालय बसको ठक्करबाट विनोदको निधन भएको थियो । भिसा लागेर जापान जाने तयारीमा रहेका थापाले अल्पायुमै ज्यान गुमाएका थिए । उनका बुवाआमा र ३ बहिनी छन् ।

प्रतिक्रिया दिनुहोस्