५ जेष्ठ २०८१, शनिबार

 

बागलुङ नगरको घुम्ती शिविरमा ४ सय ६ जनाको स्वास्थ्य परीक्षण

बागलुङ नगरपालिकाले प्रदान गरेको तेस्रो चरणको ‘घुम्ती सेवा शिविर’ बाट सिगानाका ६६४ जना नागरिकले विभिन्न सेवा मार्फत लाभान्वित भएका छन् ।

ग्रामीण भेगको रुपमा रहेको सिगानाका नागरिकले नागरिकले स्वास्थ्य सेवा सहित पाँच प्रकारका सेवा गाउँमै लिएका छन् । सोमबार बागलुङ नगरपालिका वडा नं ८ सिगानामा सञ्चालित शिविरमा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, माटो परीक्षणलगायत सेवा प्रदान गरिएको थियो ।

शिविरमा चालु आर्थिक वर्षका २० योजना सम्झौता भएको र सो मध्ये पाँच वटा उपभोक्ता समिति मार्फत र १५ वटा टोल विकास समिति मार्फत सम्झौता भएको वडा अध्यक्ष छम बहादुर कार्कीले जानकारी दिनुभयो ।

सम्झौता गरिएका सबै टोल विकास समिति र उपभोक्ता समितिको शिविरमै बैंक खाता समेत खोलिएको छ ।घुम्ती शिविरमा ४ सय ६ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

शिविरमा सञ्चालित २८० जनाको निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गरिएको थियो । जसमध्ये १०३ महिलाको पाठेघर जाँच र उपचार गरिएको जनाइएको छ । यस्तै २५५ जनाको आँखा जाँच, २७ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने १२५ जनाको मधुमेहको परिक्षण गरिएको थियो ।

जसमध्ये ५ जना महिलाको पाठेघर खसेकोमा रिङ्ग पेशरी राखिएको छ । स्वास्थ्य शिविरबाट अधिकांश उच्च रक्तचाप, स्त्री रोग र हाडजोर्नीका बिरामीले लाभ लिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले जानकारी दिनुभयोे ।

यस्तै नयाँ र पुरानो गरी २१ जनालाई अपाङ्गता परिचयपत्र वितरण वितरण गरिएको छ । जसमा ‘क’ वर्गका ७, ‘ख’ वर्गका १० र ‘ग’ वर्गका ४ रहेको नगरपालिकाको सामाजिक विकास शाखा अधिकृत सरस्वती रेग्मीले बताउनुभयो ।

शिविरकै अवसरमा कृषि प्राविधिकले किसानको खेतबारीमै पुगेर माटोको गुणस्तर परीक्षण गरेका थिए । वडा भित्र समेटिने गरी २३० रोपनी जग्गालाई समेटिएर ४६ स्थानको माटोको नमूना परिक्षण गरिएको थियो । नगरका कृषि शाखा प्रमुख राहुल केसीका अनुसार सिगानाको माटोमा अधिकांश अम्लियपन रहेको पाइएको र उपचारका लागि कृषि चुनको प्रयोग गर्न सिफारिस गरिएको छ । शिविरमा ५५ जनाको सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ताको नविकरण र दर्ता गरिएको छ ।

शिविरमा उपभोक्ता समिति, टोल विकास समिति र सर्वसाधारण गरी ६२ जनालाई वित्तीय सारक्षरता अनुशिक्षण दिइएको थियो । यस्तै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि आवश्यक सूचकहरु पूरा गर्नका लागि १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको थियो ।

घुम्ती सेवा शिविरको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सेवा शिविरको शुभारम्भ गर्नुभएको थियो । नगरबाट प्रवाह हुने सेवालाई घरदैलोमा पु¥याएर जनतालाई सहज सेवा दिने उद्देश्यले घुम्ती शिविरको अभियान थालिएको श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले पहिलो चरणमा बागलङ नगरपालिका–११ रायडाँडा र १० नम्बर वडाको भकुण्डेमा, दोस्रो चरणको शिविर वडा नं। १२ अमलाचौर, १३ पैयुपाटा र १४ नारायणस्थानमा सम्पन्न गरेको थियो भने तेस्रो चरणमा बागलुङ नगरपालिका–९ तित्याङ र ८ नम्बर वडा सिगानामा सञ्चालन गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्