७ जेष्ठ २०८१, सोमबार

 

फुलमायाँको परिवारलाई बागलुङ नगरपालिकाद्वारा आर्थिक सहयोग

बागलुङ नगरपालिका १ खनियाघाट बस्ने फुलमायाँ माझीको परिवारलाई बागलुङ नगरपालिकाले आर्थिक सहयोग गरेको छ । असोज ३० गते हत्या भएको माझी परिवारलाई बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ३० हजार सहयोग गरेको हो । सोमबार नगर प्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले माझीको परिवारका सदस्यलाई घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

फुलमायाँको पति हर्कबहादुर र एक छोरा, ३ छोरी छन् । दैनिक ज्याला मजदुरी गरेर घर धानेका माझी परिवारमा भएको घटनाले पीडितलाई दैनिकी चलाउन समस्या भएको छ । पीडित हर्कबहादुरले मजदुरी गरेरै परिवार पाल्नु परेको बताए ।

नगर प्रमुख श्रेष्ठले परिवारका सदस्यमा रोजगारी मिलेसम्म दिलाइदिने बताएका थिए । घटनापछि आर्थिक अवस्था कमजोर भएकोले अस्पतालबाट माझीको शव समेत निकाल्न कठिन भएको थियो । नगर प्रमुख श्रेष्ठले सहयोगको आश्वासन दिएपछि शवको दाह संस्कार भएको थियो ।

असोज ३० गते बागलुङ नगरपालिका–१ गणेशघुम्तीमा मृत भेटिएकी फुलमायाँ माझीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले उनकै छिमेकी नातामा भाई पर्ने २६ वर्षीय प्रकाश योगीलाई पक्राउ गरेको थियो ।प्रहरीले योगीलाई कात्तिक ४ गते बागलुङ नगरपालिका १ खनियाबासबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्