५ जेष्ठ २०८१, शनिबार

 

स्वास्थ्यसम्बन्धी मौलिक हक सुनिश्चित गर्ने दायित्व सरकारको हो : मन्त्री अधिकारी

- धौलागिरी अस्पतालमा पाठेघर खसेका महिलाहरुको निःशुल्क स्वास्थ्य शिविर सुरु

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरिएकोले जनताको स्वास्थ्यसम्बन्धी मौलिक हकलाई सुनिश्चित गर्ने दायित्व सरकारको हुने बताउनु भएको छ । धौलागिरी अस्पताल बागलुङमा पाठेघर खसेका महिलाहरुको निःशुल्क अप्रेसन सेवाको उद्घाटन समारोहमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनु भएको हो ।

प्रजनन स्वास्थ्यबारे कमै खुल्ने नेपाली समाजमा पाठेघर खस्ने समस्या विकराल रहेको भन्दै यो समस्याबारे अझै कति महिलाहरू परिवारभित्रै खुल्न नसकिरहेकोले पाठेघर खस्नुलाई लाजको विषय नमानि उपचारमा गर्न आग्रह गर्नु भयो ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा आमनागरिककोे सर्वव्यापी पहुँच सुनिश्चित गर्न हरेक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पु¥याउने उद्देश्यका साथ प्रदेश सरकारले नयाँ स्वास्थ्य नीति जारी गरिएको मन्त्री गुरुङले बताउनुभयो । धौलागिरी अस्पतालमा रहेको जनशक्ति व्यवस्थापन गर्न नसकिरहेको भन्दै यस विषयमा मन्त्रालय गम्भीर रहेको बताउनु भयो ।

धौलागिरी अस्पताललाई स्तरउन्नती गरी २ सय सैयाको बनाउने तयारी रहेको भन्दै अस्पतालको जनशक्ति व्यवस्थापनको विषयमा आफूहरु लागिरहेको बताउनु भयो ।कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव विश्व मन्दु बगालेले पहुँच नहुनेहरूका लागि निःशुल्क पाठेघर परीक्षण र उपचार समुदायस्तरमै पुर्‍याउन स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनु भयो ।

समुदायमा शिक्षाको कमी, आफैं खुलेर आउन नसक्दा, ग्रामीण क्षेत्रमा पाठेघर खस्ने समस्यामा रहेका महिलाहरु प्रसस्तै रहेकोले महिलाहरुको सहजताको लागि शिविर आयोजना गरेको बगालेले बताउनु भयो । कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का,धौलागिरी अस्पताल व्यवस्थापन समितिका सदस्य लक्ष्मी जिसी कार्कीं लगाएतले बोल्नु भएको थियो ।

धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा अमित ढुंगाना र सञ्चालन अस्पतालका प्रमु्ख प्रशासकिय अधिकृत तेजप्रसाद शर्मा न्युरेले गर्नु भएको थियो ।धौलागिरी अस्पताल बागलुङको आयोजनामा यहि मंसिर १६ गतेदेखि २० गतेसम्म पाठेघरको समस्या भएका महिलाहरुको पाठेघर जाँच गरिएकोमा २५ जना महिलाको अप्रेशन गर्नु पर्ने भएकोले आजबाट अप्रेशन सुरु भएको अस्पतालले जनाएको छ ।

पहिलो दिन ९ जना महिलाहरुको पाठेघरको अप्रेशन भएको छ । २३ गतेसम्म सञ्चालन हुने शिविरमा पाठेघर खसेका करिब ३० जना महिलाको अप्रेशन गर्ने लक्ष्य राखिएको छ ।

अप्रेशनको लागि गण्डकी प्रदेशबाट प्रति बिरामी १३ हजार रुपैयाँका दरले १० लाख रुपैयाँ विनियोजन गरेको छ भने धौलागिरी अस्पतालले प्रति बिरामी ७ हजार रुपैयाँ बिनियोजन गरेको छ ।गण्डकी प्रदेश सरकारले छुट्याएको बजेटले शिविरलाई अपुग हुने भएपछि अस्पतालले बजेट थप गरेको हो । शिविरमा डा. राजेश अधिकारी, डा. प्रेम पंगेनी, डा. पदमराज ढुंगानासहित चिकित्सकको टोलीले अप्रेशन गरि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्