२३ बैशाख २०८१, आईतवार

 

प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा बागलुङमा निःशुल्क आँखा शिविर

बागलुङ । प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । आईतबार प्रेस सेन्टर नेपाल बागलुङ शाखाले विद्यामन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क आँखा जाँच शिविर कार्यक्रम गरि स्थापना दिवस मनाइएको हो ।

सफल आँखा क्लिनिक तथा चश्मा पसल बागलुङको प्राविधिक सहयोगकमा भएको निःशुल्क आँखा शिविर कार्यक्रममा बालविकासदेखि कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरु, शिक्षक र कर्मचारी गरी १ सय ३६ जनाको आँखा जाँच गराएका थिए ।

जाँच गरिएका मध्य विद्यामन्दिर माध्यमिक विद्यालयका ११ जना विद्यार्थीमा कम देख्ने र टाढाको नदेख्ने समस्या रहेको सफल आँखा क्लिनिक तथा चश्मा पसलका नेत्र सहायक तथा प्रबन्धक गणेश महतोले जानकारी दिनुभयो ।

निःशुल्क आँखा जाँच कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको बताउनु भयो ।

गैरेले मुलुकका हरेक परिवर्तनहरुमा सञ्चार क्षेत्रको विशेष भूमिका हुने भन्दै नेपालको राजनीतिक परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिका विर्सन नहुने बताउनु भयो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले देश र समाजको विकासको लागि संचारकर्मी र संचार माध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, नागरिक संचार प्रालिका अध्यक्ष माधव शर्मा, विद्यामन्दिर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक छवि रमण रेग्मी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्यबहाक अध्यक्ष नविन शिशिर विक, प्रेस सेन्टर नेपाल बागलुङका सस्थापक अध्यक्ष बन्द्री प्रसाद शर्मालगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङ शाखाका अध्यक्ष थम्मन थापाको अध्यक्षता, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य कोपिला कँडेलको स्वागत र सचिव अनिष खातीको संचालनमा सम्पन्न भएको । २०६१ साल माघ १५ गते प्रेस सेन्टर नेपाल पत्रकार महेश्वर दाहालको नेतृत्वमा स्थापना भएको थियो । प्रेस सेन्टर नेपालको तत्कालिन नाम क्रान्तिकारी पत्रकार संघ थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्