रुसी महासंघद्वारा घोषित युक्रेनलक्षित ‘विशेष सैनिक अपरेसन’ को एक वर्ष पुगेको छ । विश्वमानव इतिहासमा यो अत्यन्त दुःखद घटना हो । सृष्टिको आदिकालदेखिका दाजुभाइहरूस करिब एक शताब्दी एउटै लक्ष्य र सिद्धान्त बोकेर एउटै सोभियत देश निर्माणमा जुटेका सहयात्रीहरूस काँधमा काँध मिलाउँदै एउटै ट्रेन्चबाट नाजी फासिस्टविरुद्ध लडेका सहयोद्धाहरू एकापसका दुश्मनमा परिणत भएका छन् ।
र, यो भन्दा दुःखद एक्काइसौं शताब्दीको उत्तरार्द्धमा जसलाई मानव सभ्यतामा विज्ञान र प्रविधिको उच्चतम उपलब्धि हासिल भएको युग मानिन्छ, यो समयमा पनि लाखौं युक्रेनी र रुसी जनताले कति सास्ती खप्नु पर्यो ?
कति कठ्याग्रिंदो चिसो र हिमपातमा दुख्नु पर्यो ? कति भूतलमा गएर लुक्नु पर्यो ? र त्रासदीहरु भोग्नु पर्यो, युक्रेनको धरतीमा असंख्य मृत्युहरू मडारिए, गोलीहरू पडकिए, गोलाबारीहरू र अन्य भयानक दुःस्वप्नहरू ओइरिए ।
संसारका धेरैदेशले यसलाई युक्रेनमा रुसी आक्रमणको संज्ञा दिए भने रुसी सरकारले यो हस्तक्षेलाई युक्रेनलाई नवनाजीहरूबाट मुक्त पार्ने ‘डिनाजिफिकेसन’अभियान भन्यो । यो विशेष सैनिक अपरेसनले युक्रेन र रुसमा मात्र नभई विश्व अर्थतन्त्रमै प्रभाव पर्यो ।
ग्यासको संकटले गर्दा युरोप जाडोले कक्रक्क हुने हो कि भन्ने हल्लाखल्ला फैलियो । शताब्दीको पूवाद्र्धदेखि नै विभिन्न आर्थिक मन्दी झेल्दै आएको विश्वले कोरोनाको प्रकोपबाट यसो के तंग्रिन खोजेको थियो, युक्रेन संकटले खोसिदियो ।
बीसौं शताब्दीको उत्तराद्र्धमा व्याप्त अफगान संकट शीतयुद्धको चरमचुलीमध्येको एक थियो र यसका लागि सोभियत सेनाको उपस्थितिलाई प्रमुख कारक मानिएको थियो । सन् १९८९ को फेब्रुअरीसम्ममा सोभियत सेना अफगानिस्तानबाट फिर्ती भयो । तर त्यहाँ युद्ध सन् २०२१ सम्म नै जारी रह्यो ।
०९ नोभेम्बर १९८९ मा बर्लिन पर्खाल ढल्नुलाई निःसन्देह शीतयुद्धको अन्त्यको चिह्न ठानिएको थियो । यसलाई राजनीतिवादबीचको संघर्षको विश्राम भएको मानिएको थियो । तर पर्खाल भत्काइनुले संसारमा विद्यमान विचारधाराहरूबीचको अन्तरविरोध, द्वन्द्व र राजनीतिक ध्रुवीकरणलाई रोक्न सकेन । बरु इरान, इराक, लिबियामा युद्धहरू भइरहे ।
कसरी निम्तियो युक्रेन संकट ?
दोस्रो विश्वयुद्धपछि सन् १९४९ मा उत्तर एट्लान्टिक गठबन्धन (नाटो) स्थापना भएको थियो । यसको उद्देश्य सोभियत संघले त्यस समयमा खडा गर्नसक्ने खतराको सामना गर्ने थियो । यसको लगत्तै मे १४, १९५५ मा तत्कालीन समाजवादी देशहरूले ‘वार्सा सन्धि’ गरे र पारस्परिक रक्षा संगठन स्थापना गरे । योसँगै शीतयुद्धको युग सुरु भएको मानिन्छ ।
सन् १९९१ को जुलाइको पहिलो दिन सोभियत संघको अवसानको पूर्वसन्ध्यामा ‘वार्सा सम्झौता’ समाप्त भएको घोषणा गरियो । यसले विश्वशान्तिलाई मार्गप्रशस्त गर्ने विश्वास लिइएको थियो । गोर्वाचोभको यो लचकताको बदला त्योबेला संयुक्त राज्य अमेरिकाबाट ‘पूर्ववार्सा सम्झौता राष्ट्रहरू नाटोको हिस्सा बन्ने छैन’ भनेर सहमत भएको थियो ।
सन् १९९१ मार्च ६ मा बोनमा भएको अमेरिकी विदेश मन्त्रालय, ग्रेट ब्रिटेन, फ्रान्स र जर्मनीका प्रतिनिधिसहितको बैठकमा सोभियत नेतृत्वलाई पूर्वमा नाटो विस्तार नगर्ने वाचा गरका थिए भन्ने गरिन्छ । यसविपरीत अल्बानिया, बुल्गेरिया, क्रोएसिया, चेक, डेनमार्क, इस्टोनिया, हंगेरी, लाटभिया, लिथुआनिया, मोन्टेनेग्रो, उत्तरी म्यासेडोनिया, नर्वे, पोल्यान्ड, रोमानिया, स्लोभककिया, स्लोभेनियामा नाटो विस्तार गरियो । सेप्टेम्बर २०२२ मा युक्रेनले नाटोको सदस्यताका लागि आवेदन दियो ।
आखिर सोभियत संघ र त्यसवरपरका समाजवादी शिविर अनि त्यसलाई रक्षा गर्न र नाटोलाई चुनौती दिन गठित ‘वार्सा प्याक्ट’ नै नरहेपछिको करिब एकध्रुवीय भइसकेको विश्वमा नाटोको समेत औचित्य समाप्त हुनुपर्ने हो । शीतयुद्धको कारक मानिएको विचारधाराको युग नै समाप्त भएपछि नाटो किन रुस घेर्न आइपुग्यो । नाटो विस्तारको कदम र युक्रेनको नाटोमा आबद्ध हुने रहर पनि हालको द्वन्द्व र संकटको जरो हो कि ?
१९९० को परिवर्तनको हुरीले पूर्वसोभियत राष्ट्रहरूमा बहुदल र बहुलवादको प्रवेश भयो । यसपछिका कैयौं दशक संक्रमणकालको अस्थिरतामै गुज्रियो । सन् २०१० को चुनावमा देशलाई असंलग्न राख्न रुचाउने भिक्टर यानुकोभिच राष्ट्रपति निर्वाचित भएपछि युक्रेनले नाटो सदस्यताको योजनालाई स्थगित गर्यो । फेब्रुअरी २०१४ पछिको ‘राजनैतिक कू’पछि यौटा निर्वाचित सत्तालाई फ्याँकियो । यसलाई प्रचारको दुनियामा ‘मैदान रिभोलुसन’ पनि भन्न रुचाइन्छ ।
युरो मैदान आन्दोलनका कारण उत्पन्न अशान्तिबीचमा यानुकोभिच युक्रेनबाट भागे । यसपछि युक्रेनमा कट्टरपन्थी राष्ट्रवादी शक्तिहरूको स्थिति बलियो भयो र खुलेआम जातीय असहिष्णुताका विचारहरू प्रचार गर्न थालियो ।
दोस्रो विश्वयुद्ध (जसलाई सोभियतहरू महान देशभक्तिपूर्ण युद्ध भन्ने गर्थे) मा युक्रेनी, रुसी, यहुदी, पोल्याकी र अन्य हजारौंको जीवन नष्ट गर्ने युक्रेनी राष्ट्रवादी पार्टीबाट परिचालित युक्रेनी विद्रोही सेनाका अत्याचारलाई अहिले त्यहाँ स्वतन्त्रताको संघर्षका रूपमा प्रस्तुत गरिएको छ ।
यो इतिहास तोडमरोड गर्ने र पहिलेका परिभाषा उल्ट्याउने हर्कतलाई रुसी संस्थापन पक्ष नाजीवादलाई महिमा गर्न थालिएको भन्दछ । २२ फेब्रुअरी, २०१४देखि किभका अधिकारीहरुले रूसी भाषीहरुको अधिकारलाई दबाउन सक्रिय नीति सुरु गर्यो ।
मे २३, २०१७ मा, राष्ट्रपति पेट्रो पोरोसेन्कोको पहलमा टेलिभिजन र रेडियो प्रसारण कानुनमा संशोधनहरू गरियो, फलतः युक्रेनमा रूसी टिभी च्यानलहरू र टिभी कार्यक्रमहरूको प्रसारण रोकिएको थियो र रूसी चलचित्रहरूको प्रदर्शनमा प्रतिबन्ध लगाइएको थियो । ०५ सेप्टेम्बर २०१७ मा युक्रेनको संसद्ले शिक्षासम्बन्धी कानुन संशोधन गर्यो । त्यसमा पाँचौं कक्षादेखि रूसी र अन्य भाषाहरूमा नपढाइने प्रावधान राखियो ।
अहिले विश्व मिडिया र सामाजिक सञ्जालहरुमा कसको वर्चस्व छ भनिरहनु पर्ने कुरा होइन । रुसीहरुको गुनासो चाहिँ संसारभरका सञ्चारमाध्यमले रुसको युक्रेनमाथिको ज्यादती मात्र देख्छन् तर किन उनीहरु सन् २०१४ देखि युक्रेनका रुसी मूलका नागरिकमाथि भएको विभेद र अत्याचार देख्दैनन्, किन उनीहरू युक्रेनले डोनेट्स्क र लुहान्स्कमाथि एकतर्फी गोलाबारी गरिरहँदा, पानी र बिजुलीको अभाव भोगिरहँदा पनि चुँ बोल्दैनन् भन्ने रहँदै आएको छ ।
इन्टरनेटको सुविधाले साँघुरिएको विश्वमा पंक्तिकार स्वयं यी घटनाको प्रत्यक्षदर्शी हुने गर्थ्यो । सन् २०१५ देखि नै ‘नात्छ कोर्पस्’ (नेसनल कोप्र्स) का ठिटाहरूको उरन्ठेउला हर्कत ‘लाइभ’ देखिन्थ्यो । मे २०१६ मा खार्किभ क्षेत्रीय राज्य प्रशासनका प्रमुख इगोर रेनिनले खार्किभ सहरको स्थलको पुनर्नामाकरण गर्ने सम्बन्धमा एक आदेशमा हस्ताक्षर गरे ।
दोस्रो विश्वयुद्धका लिजेन्ड सोभियत मार्सल झुकोभको नाममा रहेको मेट्रो स्टेसनलाई ‘स्पोर्ट प्यालेस’ र ‘मार्सल झुकोभ प्रोस्पेक्ट’ लाई ‘पेटर ग्रिगोरेन्को प्रोस्पेक्ट’ मा परिवर्तन गरियो । २०१६ को जुन १९ मा, खार्किभ सिटी काउन्सिलले ‘नाजीहरुको कब्जाबाट खार्कोभ स्वतन्त्र गर्न मार्सल झुकोभको नेतृत्वदायी भूमिका रहेको’ भन्दै सडकको नामकरण ‘पेटर ग्रिगोरेन्को प्रोस्पेक्ट’ बाट पुनः ‘मार्सल झुकोभ प्रोस्पेक्ट’ मा फिर्ता गर्यो ।
खार्कोभ राज्य प्रशासनको यो निर्णयबाट क्रुद्ध राष्ट्रवादी युवा जमातले तुरुन्त आफ्नो दादागिरी प्रदर्शन गर्यो र प्रशासनका पदाधिकारीहरुको ‘पुतला’ बनाई तिनलाई सहरको केन्द्र भागस्थित स्वतन्त्रता स्क्वायरमा फाँसी दिएको दृश्य इन्टरनेटबाट लाइभ प्रसारण देखियो ।
यस्ता गतिविधि ‘खार्कोभ लाइभ’ बाट दिनहुँजसो देख्नुपर्दा अहो कस्तो देशमा कस्ताहरूको हालीमुहाली हुन थालेछ, सीधा र फरक मत राख्नेहरूले टुलुटुलु हेरेर बस्ने दिन पनि आएछन् भन्ने भान हुन्थ्यो । जस्तोसुकै राजनैतिक र कूटनीतिक रूप दिन खोजिए पनि सारमा यो अरुको भाषा, संस्कृति र राष्ट्रियतालाई सहन गर्न नचाहने नवनाजीवादको अभ्यास थियो र अहिलेको युक्रेन संकटको विभिन्न सामरिक कारणमध्ये यो एउटा मूल कारण थियो ।
सन् २०१४ मार्चमा क्राइमिया प्रायद्वीप रुसी महासंघमा गाभिएपछि युक्रेन संकट चरमचुलीमा पुग्यो । किभका अधिकारीहरु यसलाई युक्रेनको अभिन्न अंग मान्दछन् । यो घटनापछि पश्चिमा राष्ट्रले रुसविरुद्ध नाकाबन्दी लगाउन थाले ।
इतिहास पल्टाउँदा क्राइमिया सन् १७८३ देखि १९५४ सम्म रूसको हिस्सा थियो । फेब्रुअरी १९, १९५४ मा, सोभियत कम्युनिस्ट पार्टीका महासचिव निकिता ख्रुश्चेव नेतृत्वको सर्वोच्च सोभियतको प्रेसिडियमको आदेशअनुसार क्राइमियालाई रूसी सोभियत संघ समाजवादी गणतन्त्रबाट युक्रेनी सोभियत गणतन्त्रमा हस्तान्तरण गरिएको थियो ।
फेब्रुअरी २०२२ मा रूसी महासंघद्वारा डोनेट्स्क र लुहान्स्क जनगणतन्त्रहरुलाई स्वतन्त्रताको मान्यता र युक्रेनमा रूसी विशेष सैन्य अभियानको सुरुवातपछि युक्रेन संकटले विकराल रूप लियो ।
अन्त्यमा,
वर्तमान युक्रेन युद्ध उपरोक्त घटनाक्रमको परिणति हो । आखिर देशहरू किन युद्ध चाहन्छन् ? किन हतियारमा लगानी गर्छन् योचाहिँ अहम सवाल हो । युद्ध कसलाई आवश्यक छ ? यो झन् रहस्यको विषय हो ।
युक्रेनमा रुसी विशेष सैनिक अपेसन सुरु भएपछिको हालसम्मको स्थिति धेरैलाई थोरबहुत जानकारी नै छ । पंक्तिकार स्वयं पाँच वर्ष युक्रेनको पुरानो राजधानी खार्कोभमा इन्जिनियरिङ अध्ययन गरेको नाताले यो युक्रेन घाउले उसलाई सधैं घोंच्छ । युक्रेन–रुस द्वन्द्वका समाचार हेर्ने र सुन्ने हिम्मत जुट्दैन । यसैले पनि यो आलेखमा अहिलेको घटनाक्रमभन्दा त्यसअघिका आक्कलझुक्कल विकासक्रमलाई प्रस्तुत गरेको छु ।
यति मात्र भन्न चाहन्छु, युक्रेन संकटको घोषित वार्षिकोत्सव नजिकिँदा ‘प्रजातन्त्रिक मुलुक’ अमेरिकी राष्ट्रपति जो बाइडेन राजधानी किभ पुगे र उनले युक्रेनलाई अमेरिकी सहयोग निरन्तर रहने प्रतिबद्धता दोहोर्याए ।
यो युद्ध शान्त पार्ने हैन, आगोमा घ्यू थप्ने प्रतिबद्धता थियो । यसलगत्तै २१ फेब्रुअरी २०२३ का दिन राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘हतियार कटौतीसम्बन्धी स्टार्ट सम्झौता’बाट रुस पछाडि हटेको, रुसले ठूलो परिमाणमा हतियार उत्पादन गर्ने, युक्रेनी सेनालाई रुसको सिमानाबाट अझ टाढा लखेट्नेजस्ता घोषणा गरेका छन् । यसले झन् द्वन्द्व बढ्ने आकलन गरिएको छ ।
विज्ञान, प्रविधि र कला साहित्य क्षेत्रमा उपलब्धिको चुचुरोमा पुगेका यी विकसित राष्ट्रहरुले युक्रेनमा शान्ति कायम गर्नेसम्बन्धी कुनै चासो व्यक्त गरेनन् । युक्रेन युद्धको आगोमा जलिरह्यो शक्तिराष्ट्रहरू कसैबाट निभाउने प्रतिबद्धता आएन । यसलाई विडम्बना नै मान्नुपर्छ मानव सभ्यताको ।
महाशक्तिको दम्भमा कसैले विश्वका जुनै राष्ट्रका, जुनै कुनाका स्वतन्त्र मानिसहरूमा आफ्नो इच्छा थोपार्नु हुँदैन, आदेशहरू घोषणा गरेर लाद्न पाइँदैन । यो पृथ्वी हाम्रो साझा ग्रह हो, यहाँ कसैको आधिपत्य कसैलाई स्वीकार्य छैन ।
युक्रेन संकटले अंसलग्न परराष्ट्रनीतिको महत्त्वको सन्देश दिएको छ । अन्य कारणहरु जे जसो भएता पनि उसले अंसलग्न नीति मात्र अपनाएको भए यो नौबतको सामना गर्नुपर्थेन सायद । दुई ठूला राष्ट्रको बीचमा रहेका हामी नेपालीलाई पनि युक्रेन द्वन्द्वको गतिलो पाठ हुन सक्छ ।
(इन्जिनियर रामविन्दु श्रेष्ठले युक्रेनको पुरानो राजधानी खार्कोभमा इन्जिनियरिङ अध्ययनका क्रममा ५ वर्ष बसेका थिए )



















































































































































































































