बागलुङ । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित चन्द्र प्रसाद ढकाल लगायतका केन्द्रीय पदाधिकारीलाई गृह जिल्ला बागलुङमा एक विशेष कार्यक्रम गरि स्वागत तथा सम्मान गरिएको छ ।
बागलुङ नगरपालिकाको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल लगाएतको टिमलाई स्वागत तथा सम्मान गरेका हुन् ।
सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले विकास निर्माणका काम होस जुनसुकै काममा स्थानीय तहसँग र उद्घमी, व्यवसायी तथा महासंघ जुनसुकै हिसाबले सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
आफू पनि बागलुङ जिल्ला कै भएको नाताले जिल्लामा हुने हरेक संभावनामा स्थानीय तहसँग सँगै हातेमालो गरेर जान तयार रहेको अध्यक्ष ढकालले प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा वडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले नेता पद प्रतिष्ठामा बसेका व्यक्ति मात्र भ्रष्टाचारी भनेर आवाज उठ्ने गरेको कुरा तर्फ इंगित गर्दै हरेक क्षेत्रमा बेथिति र अराजकताको बाटोमा हिडिरहेको हुँदा त्यसलाई सच्याउन जरुरी रहेको बताउनु भयो ।



कार्यक्रममा नया विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी विश्वब्यापी रूपमा आर्थिक संकट आएको समयमा नेपाल अर्थतन्त्रलाई चलायनमान बनाउन, रोजगारी सृजना गर्न, लगानीमैत्री नीति निर्मार्ण गर्न, व्यवसायी सुरक्षा र आर्थिक वृद्धि दर हासिल गर्नको लागि सरकारले निजी क्षेत्रसँग विश्वासको वातावरण बनाएर सहकार्य गर्नु पर्ने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा बागलुङ जिल्लाबाट पहिलोपटक केन्द्रीय अध्यक्षमा बन्न सफल भएका चन्द्र प्रसाद ढकाल लाई वरिष्ठ उपाध्यक्षमा निर्वाचन लड्नका लागि बागलुङ उद्योग बाणिज्य संघले प्रस्ताव गरेको थियो । बागलुङ जिल्लाबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय उपाध्यक्ष र सदस्यमा पटकपटक धेरै जना व्यक्ति पुग्न सफल भएपनि केन्द्रीय अध्यक्षमा पुग्ने ढकाल पहिलो उद्यमी हुनुहुन्छ ।
महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँको व्यवसायिक यात्रा करिब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गर्नु भएको थियो ।
त्यसपछि विसं २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मार्नु भएको थियो ।

































































































































































































