६ जेष्ठ २०८१, आईतवार

 

यसरी सम्झिइए भानुभक्त

बागलुङ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यलाई यहाँका वाङ्मयप्रेमीले पनि सम्झिए । कसैले भानुभक्तको चित्र कोरे । कसैले कविता सुनाए । कसैले उहाँको योगदानबारे चर्चा गरे ।
‘न बिर्से पुराना अदा टासिएछ
कथा लेख्छु घाँसी कुवा नासिएछ
बुझायौ सबैमा उतारेर भाषा
सुनायौ खुसी भई कथा रामगाथा…’
विद्यामन्दिर पुस्तकालय र धवलागिरि साहित्य प्रतिष्ठान बागलुङद्वारा संयुक्त रुपमा आयोजित भानु जयन्ती समारोहमा सर्जक रामचन्द्र शर्माले सुनाउनुभएको कवितांश हो यो । आदिकविको सम्झनामा उहाँ अगाडि थप्नुभयो –
‘चरा मिर्मिरेमा गरी चिर्रचिर्र
मीठो गीतको बोल गाए बिचित्र
छ रिस्ती बगेको सफा स्वस्थ ठाउँ
रहेको छ हाँसी उहीँ रम्घा गाउँ…’
सर्जकहरुले राष्ट्रिय विभूतिसमेत रहनुभएका भानुभक्तको प्रशंसामा गहकिला शब्द खर्चिए । घाँस बेचेर कुवा खन्ने घाँसीबाट भानुभक्त प्रेरित भएको प्रसङ्गलाई सर्जक विष्णुनाथ गौतमले कवितामार्फत सुनाउनुभयो –
‘केही धन बचाएर कुवा खनाउँछु
यात्रा गर्ने बटुवालाई पानी पिलाउँछु
यस्तै कुरा भानुज्यूले घाँसीसँग गर्दा
मनभित्रै बत्ती बल्यो, खुल्यो ज्ञानको पर्दा…’
भानुभक्तप्रतिको सद्धाभावले ओतप्रोत कवितामा सर्जक कोपिला कँडेल यसरी अभिव्यक्त हुनुभयो –
‘भानु तिम्रो कर्मपथमा पाइला त्यतै बढाउँछु
आज तिम्रो जन्मदिनमा श्रद्धासुमन चढाउँछु…’
समारोहमा सर्जक शर्मा, गौतम, कँडेल, गोविन्द सुवेदी, पुष्पिका सुवेदीलगायतले कविता पाठ गर्नुभएको थियो । सर्जक धनराज सापकोटा ‘जिज्ञासू’ले भानुभक्तकृत रामायण वाचन गरेर सुनाउनुभएको थियो । कलाकार टेकबहादुर क्षेत्री ‘सङ्गम’ले रामायणकालीन कथा प्रसङ्गबारे चर्चा गर्नुभएको थियो । उहाँले भानुभक्तीय रामायणका श्लोकहरु कण्ठस्थ सुनाउनुभयो ।
धवलागिरि बहुमुखी क्याम्पसका उप–प्राध्यापक हरिप्रसाद पाण्डेयले भानुभक्त प्राथमिक कालको पहिलो महाकाव्यकारसमेत भएको बताउनुभयो । भानुभक्तको व्यक्तित्व र योगदानमाथि प्रकाश पार्दै उहाँले भानुभक्तले नेपालको सांस्कृतिक र भाषिक एकता गरेको बताउनुभयो ।
“नेपाल मात्र होइन भारतलगायत देशमा रहेका नेपालीभाषीले पनि उत्तिकै सम्मानसहित भानु जयन्ती मनाउँछन्, नेपाली भाषा र संस्कृतिलाई जोड्ने काम भानुभक्तले गर्नुभयो”, उहाँले भन्नुभयो, “भानुभक्तले नेपालीमा भावानुवाद गर्नुभएको ब्यासको अध्यात्म रामायणलगायतका कृतिमा समाज सुधारको दर्शन छ ।”
भानुभक्तका कतिपय रचनामा तत्कालीन समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग गरिएको उप–प्राध्यापक पाण्डेयले उल्लेख गर्नुभयो । भानुभक्तका हरेक कृतिको एतिहासिक मूल्यका आधारमा विवेचना गर्नुपर्ने उहाँको भनाइ थियो ।
साहित्यकार प्रेम छोटाले नेपाली साहित्यको विशिष्ट प्रतिभाका रुपमा भानुभक्तलाई चित्रित गर्नुभयो । उहाँले भानुभक्तका रचनामा जीवन दर्शन, समयको मूल्यबोध, सामाजिक जागरण र बेथिति विरुद्धको आवाज मुखरित भएको बताउनुभयो ।
भानुभक्तका साहित्यिक कृतिलाई प्रकाशमा ल्याउने र आदिकविको पगरी दिने काम युवाकवि मोतीराम भट्टले गरेको साहित्यकार छोटाले उल्लेख गर्नुभयो । साहित्यप्रेमी विश्वनाथ रेग्मीले भानुभक्तले बागलुङको मूल्पानीमा आई पण्डित बद्रीनाथ पन्तसँग गुरुकुल विद्या आर्जन गरेको प्रमाण भेटिएको जिकिर गर्नुभयो ।
पुस्तकालयका कार्यवहाक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारीले भानुभक्तको साहित्यिक देनबाट नयाँ पुस्ताले शिक्षा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले पछिल्लो समय रामायणलगायत पौराणिक ग्रन्थहरुको अध्ययन संस्कृति हराउँदै गएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्