५ जेष्ठ २०८१, शनिबार

 

बागलुङमा आँखा पाक्ने रोगको प्रकोप : एक जना नेत्र सहायकको भरमा धौलागिरि आँखा अस्पताल

बागलुङ । बागलुङको सबै पालिकामा आँखा पाक्ने रोग प्रकोपका रुपमा फैलिएको छ । विशेषगरी आँखा चिलाउने, आँखा रातो हुने, पाक्ने र अत्याधिक दुख्ने समस्या देखिएको छ । आँखामा संक्रमण देखिएपछि नेपाल नेत्र ज्योति संघ बागलुङ धौलागिरि आँखा अस्पतालमा आँखा पाकेका बिरामीहरुको भिड लाग्ने गरेको छ ।

असार महिनादेखि नै आँखा पाक्ने रोगको संक्रमण फैलिन लागे पनि आँखा अस्पतालमा एक जना मात्र नेत्र सहायकको भरमा चलि रहेको छ । नेत्र विशषेज्ञ डा अनिल पराजुलीको गत जेठ महिनामै सरुवा भएको छ भने नेत्र सहयाक विनम लामिछाने दुई हप्तादेखि तालिमको लागि भरतपुरमा गएका छन् ।

अहिले नेत्र सहयाक सरिता शर्मा एक्लैले दैनिक ५० देखि १ सय २० जनासम्म आँखाका विरामीहरुको जाँच गरि रहेकी छिन् ।नेत्र विशषेज्ञ डा अनिल पराजुली जेठदेखि नै हुनु हुन्न । नेत्र सहायक विनम लामिछान तालिममा जानु भएकोले एक्लै विरामी जाँच्नु परेको छ नेत्र सहायक सरिता शर्माले नयाँ विश्वलाई बताइन् ।

एकै दिनमा अहिले ५० देखि ९० जनासम्म विरामीको आँखा जाँच गर्न आउनु हुन्छ, सबै काम एक्लै गर्नु पर्दा समस्या र चुनौति दुवै छ तर अस्पतालमा आउनु भएका सबैलाई राम्रो सेवा दिएका छौ, औषधी पनि केहि दिन अगाडि आएको छ शर्माको भनाई थियो ।

आँखा अस्पताल एक जना नेत्र विशषेज्ञ र दुई जना नेत्र सहायकको दरबन्दी छ । नेपाल नेत्र ज्योति संघ बागलुङले आँखा पाक्ने रोगको प्रकोप यसरी डरलाग्दो रुपमा फैलिएको बेला पनि नेत्र विशषेज्ञ र नेत्र सहायकको व्यवस्थापन गर्न सकेको छैन् ।

यस्तो विशेष परिस्थितिमा पनि नेपाल नेत्र ज्योति संघ बागलुङको बैठक नै नबसेको समितिका एक सदस्यले नयाँ विश्वलाई बताउनु भयो । सबै उमेर समूहका मानिसहरुलाई आँखा पाक्ने रोगको प्रकोप फैलिएपछि बागलुङ बजारका आँखा क्लिनिकहरुमा पनि विरामीको चाप बढ्न थालेको छ।

अस्पतालमा तत्काल नेत्र विशषेज्ञ र नेत्र सहायकको व्यवस्थापन गरि सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक सहजिकरण गर्न समितिलाई आग्रह गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।
आँखा पाक्ने रोगका कारण बागलुङ नगरपालिकाले एक साता विद्यालय समेत बन्द गरेको थियो ।

यो रोग भाइरसजन्य प्रकोप भएकोले सिधा सम्पर्कबाट पनि सर्ने गरेको छ । प्रकोपको रुपमा आएकोले बिरामीका आँखा पाक्ने, ज्वरो समेत आउने र शरीर दुख्ने जस्ता समस्या देखिने गरेका छन् ।

नेपाल नेत्र ज्योति संघ बागलुङ, धौलागिरि आँखा अस्पतालका अध्यक्ष विन्दु सागर राजभण्डारीले दुई जना नेत्र सहायकको दरवन्दी रहेको आँखा अस्पतालमा एक जना तालिमको लागि चितवन गएकोले १ जनाले मात्र उपचार गरिरहेको बताउनु भयो । तालिमको लागि गएको नेत्र सहायक विनम लामिछाने आईतबार फर्कने बताउनु भयो ।

१ वर्षको लागि आएका नेत्र विशषेज्ञ डा अनिल पराजुलीकोको सरुवा भएपछि अहिले दरवन्दी खाली रहेकोले शुक्रवार पोखरा गएर साझेदार निकाय आई केयर फाउण्डेशनमा नेत्र विशषेज्ञको माग गर्न जाने तयारी रहेको अध्यक्ष राजभण्डारीले बताउनु भयो ।

अस्पतालमा नेत्र विशषेज्ञ र औषधि अभाव भएको जानकारी पाएकोले आवश्यक पहल र सहजिकरण भैरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताउनु भयो । औषधिको अभाव हुन नदिन सम्वन्धीत निकायमा पहल गर्ने श्रेष्ठले बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्