६ जेष्ठ २०८१, आईतवार

 

पाँच दिवसीय कार्यक्रमसहित १६औँ पुस्तकालय दिवस मनाउन सुरु

विद्यामन्दिर पुस्तकालय, बागलुङले १६ औँ राष्ट्रिय पुस्तकालय दिवस पाँच दिवसीय कार्यक्रमसहित मनाउन सुरु गरेको छ । यो वर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित सो दिवस मनाइँदैछ । पहिलो दिन पुस्तकालय परिसर सरसफाइसहित बागलुङ सदरमुकामका ३ ठाँउमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिएको छ ।

पुस्तकालयका पदाधीकारी सदस्य तथा पुस्तकालय प्रेमीहरुको सहभागितामा पुस्तकालय परिसर सरसफाइ गरिएको हो । बर्सेनि भदौ १५ गते पुस्तकालय दिवस पर्छ । मंगलबार ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता र पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिने पुस्तकालयका  अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।
१३ गते अन्य सामाजिक तथा शैक्षिक संस्थाहरुसँगको सहकार्यमा पठन संस्कृतिको विकास र आयामबारे विमर्श कार्यक्रम राखिएको पुस्तकालयले जनाएको छ । १४ गते लागूऔषध प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापना केन्द्रमा पुस्तक उपहार दिने कार्यक्रम राखिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले शर्माले जानकारी दिनुभयो ।

१५ गते पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिने पुस्तकालयका अध्यक्ष राम थापाले बताउनुभयो । “दिवस पुस्तकालयप्रेमीका लागि वार्षिक पर्व जस्तो हो, दिवसले पुस्तकालयको महत्व पनि उजागर गर्छ, पुस्तकालयप्रति आकर्षण पनि बढ्छ”, उहाँले भन्नुभयो, “यस वर्ष पनि विविध रचनात्मक र सन्देशमूलक कृयाकलापसहित दिवस मनाउँदैछौँ ।”

विसं २००३ सालमा स्थापित विद्यामन्दिर पुस्तकालय देशकै अग्रणीमध्येमा पर्छ । राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक, साँस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ ।

स्थापनाकालमा काठमाडौं उपत्यकाहुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् । पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय ९ई–लाइब्रेरी० पनि छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्ताकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्