४ जेष्ठ २०८१, शुक्रबार

 

भ्रष्टाचार रोक्न सबैको सहयोग आवश्यक : नगरप्रमुख बसन्त कुमार श्रेष्ठ

बागलुङ । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था बागलुङले भ्रष्टाचार निवारणमा नागरिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बोल्ने सहभागीले हरेक क्षेत्रमा भ्रष्टाचारको जालो फिजिएकाले सबै मिलेर निर्मुल पार्नुपर्ने बताए । जिल्लामा कालोबजारी, गुणस्तरहिन सामग्रीको किनबेच तथा कालिगण्डकी दोहन, आर्थिक लेनदेन लगायतका भ्रष्टाचार मौलाउदै गएको गुनासो गरे ।

सो अवसरमा अख्तियार अनुसन्धान आयोग गण्डकी प्रदेश पोखराका शिनियर डिभिजन ईञ्जीनियर (सिडिई) नवराज शर्मा, अधिवक्ता हरिकृष्ण सुबेदी र पत्रकार प्रकाश बरालले भ्रष्टाचार सम्बन्धी बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।कार्यपत्र माथि टिप्पणी गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले भ्रष्टाचारको मुद्धामा विशेष गरी सिदासादा नागरिक फस्ने गरेको बताउनुभयो ।

टाठाबाठाले ब्यक्तिगत रिसिबिको कारणले मुद्धा हालेर दुख दिने गरेको चर्चा गर्दै नगरप्रमुख श्रेष्ठले” ‘कसैले मुद्धा हाल्दैमा दोषी ठहर नहुने बताउनुभयो । भ्रष्टाचारको जड पत्ता लगाएर दोषीलाई कानुन बमोजिम कारबाही हुनुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार रोक्न सबैको सहयोग आवश्यक भएको र भ्रष्टाचार रोक्न सके मात्र राजनीति लगाएत सबै क्षेत्रमा सुधार हुने श्रेष्ठको भनाई थियो ।

यसैगरी नगर उपप्रमुख राजु खड्काले भ्रष्टाचारको अन्त्यका लागि सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल र नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भ्रष्टाचारको अन्त्य गरी समाजमा सुशासन कायम गर्नका लागि सबै सरोकारवाला जवाफदेही बन्नुपर्ने बताउनुभएको थियो ।

सो अवसरमा बागलुङ नगरपालिका वडा नम्वर ३ का अध्यक्ष सनि केसी लक्ष्मणले कालिगण्डकी नदी दिन दहाडै दोहन हुने गरेको तथा बजारमा नुनदेखि सुनसम्मका हरेक वस्तुमा भ्रष्टाचार र कालोबजारी हुने गरेकाले विशेष निगरानी बढाउन आग्रह गर्नुभएको थियो ।

त्यस्तै बागलुङ उच्च अदालत बार एशोसिएशनका कार्यसमितिका सदस्य गोविन्द प्रसाद ओझाले धौलागिरि अस्पताल सेवामैत्री नभएको गुनासो व्यक्त गर्नुभएको थियो ।

अस्पतालभित्र देखिएको समस्या सुधारको लागि व्यवस्थापन समितिले विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष संगम केसीको स्वागत मन्तव्य र सचिव रामबहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्