२४ बैशाख २०८१, सोमबार

 

वंश-रत्न स्मृति कोषद्वारा तीन जना व्यक्तित्व सम्मानित हुँदै

काठमाडौं । वंश-रत्न स्मृति कोष ( वंश-रत्न मेमोरियल ट्रस्ट ) ले तीन जना मानववादी व्यक्तित्वहरूलाई “वंश–रत्न मानववादी सम्मान” बाट सम्मानित गर्ने भएको छ ।

चार वर्षअघि स्थापना गरिए पनि कोभिड-१९ महामारी लगायतका विषम् परिस्थितिका कारण उक्त सम्मान प्रदान गर्न नपाएको ट्रस्टले २०७८, २०७९ तथा २०८० गरी तीन वर्षका सम्मान तथा पुरस्कार एकैपटक घोषणा गरेको हो ।

ट्रस्टको सम्मान तथा पुरस्कार निर्णायक समितिको निर्णयानुसार २०७८ का लागि राजनीतिज्ञ मोहन विक्रम सिंहलाई, २०७९ का लागि राजनीति विश्लेषक श्याम श्रेष्ठलाई र २०८० का लागि भारतका मानववादी अभियानकर्मी प्रो डा नरेन्द्र नायकलाई सम्मानित तथा पुरस्कृत गर्न लागिएको हो ।

आगामी असोज २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा दिउँसो १ बजे देवकोटा कक्षमा एक विशेष समारोहका बिच प्रति-सम्मानित व्यक्तित्वलाई एक लाख रुपैयाँ सहित सम्मान–पत्र प्रदान गरिने ट्रस्टका अध्यक्ष सन्त कुमारी श्रेष्ठ (सन्तु श्रेष्ठ) ले जानकारी गराउनु भयो ।

ट्रस्टले कुरीति, कुसंस्कार, अन्धविश्वास र सबैखाले विभेदका विरुद्ध एवं मानववादको पक्षमा काम गर्ने विभिन्न क्षेत्रका व्यक्तित्व अथवा संस्थालाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्