गण्डकी। पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु भएको छ।
‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जगको काम भइरहेको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले जनाएको छ।
गत वर्ष ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले ढिलो गरी पुल निर्माण सुरु गरिएको हो। निर्माण सम्झौता अवधि तीन वर्ष रहेको कम्पनीले जनाएको छ।
‘काममा कुनै बाधा आएन भने निर्धारित समयमै पुल बन्छ, वर्षायाम पनि सकिन लाग्यो, अब कामले गति लिन्छ,’ निर्माण कम्पनीका इञ्जिनियर सुदर्शन देवकोटाले भने, ‘उपकरण र कामदार कार्यस्थलमा आइसकेका छन्, निर्माण सामग्री पनि ल्याउन सुरु गरिएको छ।’
एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक विभागमार्फत उक्त पुल बन्न लागेको हो। भ्याटबाहेक ९४ करोड रुपैयाँको ठेक्कामा पुल निर्माण हुन लागेको पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख राजेश पौडेलले बताए।
‘निर्माण कम्पनीले जगको काम थालेको छ, दसैँअघि संरचना निर्माणको काम सुरु हुन्छ,’ उनले भने, ‘अहिले रहेको चाइना पुलको तलमाथि गरी आकर्षक बनावटका दुई सिग्नेचर पुल बनेपछि ६ लेनको सडक हुन्छ।’
गण्डकी प्रदेशको राजधानी पोखरा छिर्ने मुख्य राजमार्गको उक्त पुल साँघुरो हुँदा सवारी जामको समस्या छ। सिग्नेचर पुल बनेपछि पर्यटकीय नगरी पोखराको आकर्षण पनि बढ्ने आयोजना प्रमुख पौडेलले बताए।
‘पुरानो प्रविधिको भन्दा अहिले बनाउन लागि पुल डिजाइनका हिसाबले पनि आकर्षक छ, यसले पोखरा घुम्ने आउने पर्यटकलाई पनि आकर्षित गर्नेछ,’ उनले भने, ‘दुई वर्षभित्रमै काम सक्ने लक्ष्य लिइएको छ, निर्माणमा कुनै बाधा अफ्टेरो परे आयोजना कार्यालयले सहजीकरण गर्छ।’
१ सय ९० मिटर उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने इञ्जिनियर मनोज जिसीले बताए। उनले निर्माण सामग्रीको गुणस्तर परीक्षण काम पनि अन्तिम चरणमा पुगेकाले अब पूर्वाधारको काम अगाडि बढाइने बताए।
‘विदेशी प्राविधिकसहितको टोलीले पुल डिजाइन गरेको हो, देख्दा पनि यो पुल आकर्षक देखिन्छ, नेपालमा पछिल्लो समय बन्ने पुलमा बढीजसो यही प्रविधिको प्रयोग हुन थालेको छ,’ इञ्जिनियर जिसीले भने।
एसियाली विकास बैंकको सहयोगमा पोखरा–मुग्लिन सडकलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ।
सोही आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा सिग्नेचर पुल बनाउन लागिएको हो। कुल ८१ किमि दुरीको उक्त सडकलाई दुई खण्डमा बाँडेर विस्तारको काम भइरहेको हो।
पश्चिम खण्डमा पोखरा–जामुने र पूर्वी खण्डमा जामुनेदेखि मुग्लिनसम्मको सडक पर्छ। विसं २०७८ वैशाखदेखि सडक विस्तार थालिए पनि कामको गति भने सुस्त छ।
पूर्वी खण्डको निर्माण ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन र पश्चिमखण्डको यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले लिएको छ।
















































































































































































