१७ बैशाख २०८१, सोमबार

 

प्रदेश नाकामा पशु क्वारेन्टाइनको माग

गण्डकी । पशुको स्वस्थता परीक्षण तथा नियमनका लागि प्रदेश नाकामा पनि क्वारेन्टाइनसहितको चेकपोष्ट स्थापना गर्नुपर्ने माग गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले पशुमा देखिने महामारीजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रदेश नाकामा क्वारेन्टाइन सेवा सञ्चालन गर्न माग गरेको हो ।

प्रदेश सरकारले राष्ट्रिय विकास समस्या समाधान समितिमासमेत सो विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने भनी मन्त्रालयले किटान गरेको छ । पुश क्वारेन्टाइनस्थल स्थापना सङ्घ सरकारको एकल अधिकारभित्र पर्ने भएकाले उक्त विषयलाई प्रदेशले भोगिरहेको समस्याका रुपमा राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाइएको मन्त्रालयले जनाएको छ ।

पोखरास्थित पशु सेवा तालिम केन्द्रका प्रमुख डा।गृष्म न्यौपानेले तनहुँ र स्याङ्जामा कृषि तथा पशुपन्छी नियमन एकाइ भए पनि तिनले प्रभावकारी सेवा दिन नसकेको बताए । प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतका ती एकाइमा पूर्वाधार र जनशक्तिको अभाव रहेको उनको भनाइ छ ।

“व्यवस्थित पशु क्वारेन्टाइन सेवाका लागि सङ्घ सरकारले प्रदेश नाकामा पनि आन्तरिक पशु क्वारेन्टाइनस्थलसहितको चेकपोष्ट स्थापना गर्नुपर्छ”, डा।न्यौपानेले भने, “प्रदेश सरकारअन्तर्गतका कृषित तथा पशुपन्छी नियमन एकाइलाई पनि स्रोतसाधन सम्पन्न बनाउनु आवश्यक छ ।”

हालै मात्र अफ्रिकन स्वाइन फिभर, लम्पीस्किनजस्ता महामारीका कारण नेपालले ठूलो पशुधनको क्षति बेहोर्नुपरेको भन्दै डा।न्यौपानेले क्वारेन्टाइन सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय सिमानामा समेत पशु क्वारेन्टाइन सेवा प्रभावकारी हुन नसकेको उल्लेख गरे ।

“क्वारेन्टाइन सेवा फितलो हुँदा पशुमा महामारीजन्य रोगको प्रकोप नियन्त्रणमा चुनौती थपिएको छ, पशुपालन व्यवसाय नै धरासयी भइरहेको छ”, उनले भने, “सङ्घ सरकारले प्रदेश नाका, मुख्य राजमार्ग र स्थानमा क्वारेन्टाइन सेवा विस्तार गरेर पशु रोग मुक्त क्षेत्र बनाउन प्रदेश सरकारलाई सहयोग गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्