जाजरकोटमा शुक्रबार राति गएको भूकम्प अरूको परकम्प नभई नयाँ भूकम्प हो । केही समयअघिको बझाङको र यो भूकम्पको आफैंमा प्रत्यक्ष सम्बन्ध देखिंदैन ।२०७२ सालमा गोरखाको बारपाक केन्द्र रहेको ७.८ को भूकम्पको केही सातामै सिन्धुपाल्चोकलाई केन्द्र बनाएको ७.३ म्याग्निच्युडको भूकम्प गयो । ती दुईबीचको सम्बन्धबारे पनि बहस भएको थियो ।
भूकम्पमा कुन मुख्य कम्प र कुन परकम्प हो भन्ने सवालमा दुई विषयमा निक्र्योल गर्छ । मुख्य कम्पन भएर त्यो क्षेत्रमा गएका अरू कम्पहरूलाई परकम्प भन्ने गरिन्छ । परकम्प हुनका लागि मूल भूकम्प भएको ठाउँमा नै धम्का दिएको हुनुपर्छ र त्यो मुख्य कम्पभन्दा एक म्याग्निच्युड कम भएमा त्यसलाई परकम्प भन्ने गरिन्छ ।
बझाङमा ६.३ को भूकम्प गएपछि ५.२ का धेरै परकम्प गए । मुख्य कम्पनपछि परकम्पहरू सयौं, हजारौं हुनसक्छन् । कुनै कम्पन मूल भूकम्प हो कि परकम्प हो भनेर निक्र्योल गर्ने दुईवटा आधार हुन्छन् । पहिलो, मुख्य भूकम्प भएको क्षेत्र (रप्चर) आसपास गएको र एक यूनिट म्याग्निच्युड कम भएमा त्यसलाई परकम्प भन्ने गरिन्छ ।
सिन्धुपाल्चोकको भूकम्प आफैंमा परकम्प हो कि होइन भन्नेबारेमा हामीबीच नै मतभेद भयो । बारपाक भूकम्पको रप्चर पूर्वतिर गयो, त्यसले अर्को भूकम्प ट्रिगर ग¥यो र त्यो अर्को भूकम्प थियो भन्ने हाम्रो निष्कर्ष भयो ।
पश्चिम नेपालको जोखिम
बझाङ र जाजरकोटका कम्पनहरू साना खालका भूकम्प हुन् । बारपाकभन्दा पश्चिममा भूकम्पको इतिहास हेर्ने हो भने विक्रम संवत् १५०५ पछि त्यता ठूलो भूकम्प आएको छैन । भूकम्पविद्हरूको मत अनुसार भारतीय प्लेट हरेक वर्ष २ सेन्टिमिटरका दरले तिब्बततिरको प्लेटमुनि धसिंदै गएको छ ।
करिब ५०० वर्षको इतिहास हेर्दा करिब १० मिटर जमिन सरिसकेको छ । १० मिटर सरेकाले जमिनमुनि जति शक्तिसञ्चय भएको छ, त्यो ‘रिलिज’ हुन बाँकी छ । त्यही शक्ति रिलिज हुने क्रममा कहिले बझाङ त कहिले जाजरकोटमा भूकम्प गइरहेका छन् ।
भूकम्पले भौतिक संरचनाहरूको क्षति गर्नुमा म्याग्निच्युड (हामीले यति रेक्टर स्केलको भन्ने गर्छौं) मात्रै आफैंमा एक्लो र पर्याप्त कारण होइन ।म्याग्निच्युडले भूकम्पका क्रममा कति शक्ति ‘रिलिज’ भयो भन्ने मापन त गर्छ तर मापन (गणना) सबै ठाउँको लागि एउटै नै हुन्छ । तर कस्ता खालको जमिनमा, कस्तो खालको झट्का गएको छ, त्यो आधारमा क्षतिको आकलन हुन्छ । कत्तिको शक्तिशाली वा कमजोर रूपमा हल्लायो भन्ने आधार पनि हुन्छ ।
जमिनमुनि कति गहिराइमा भूकम्प गएको छ भन्ने आधारमा पनि क्षतिको मापन हुन्छ । जति गहिराइमा भूकम्प गयो, त्यति कम क्षति हुन्छ । जमिनमुनिको संरचनाले पनि यसलाई तय गर्छ । बझाङ र जाजरकोटमै पनि जमिनमुनिको संरचना फरक हुनसक्छ ।
काठमाडौंकै उदाहरण हेर्ने हो भने यहाँ करिब ७०० र ८०० मिटरसम्म बाक्लो दलदले बलौटे माटोको धाप छ । त्यही भूकम्प अन्यत्रको तुलनामा काठमाडौंमा आयो भने यहाँ बढी क्षति हुनसक्छ । कुन रूपमा हल्लिन्छ (जसलाई प्राविधिक भाषामा सेकिङ फ्रिक्वेन्सी भन्ने गरिन्छ), त्यसले पनि क्षतिलाई प्रभाव पार्छ । कम्पन जमिनको सतहमा आइपुग्दा कसरी हल्लाउँछ, कति समय हल्लाउँछ भन्ने आधारमा पनि क्षतिको मात्रा थाहा हुन्छ । रप्चरले लिएको दिशाका आधारमा पनि क्षतिको मात्रा भर पर्छ ।
एमसीएच अर्थात् मेन हिमालयन सर्च
जाजरकोटको भूकम्पलाई ‘स्यालो अर्थक्वेक’ पनि भन्न सकिन्छ । किनभने जमिनभन्दा १४ किलोमिटर तल मात्रै भूकम्पको केन्द्रविन्दु हो । हिमालय रेञ्जका ९० प्रतिशतभन्दा बढी भूकम्पहरू जमिनदेखि १० देखि २० किलोमिटर भित्रमै गएका हुन्छन् ।
तिब्बतीय र भारतीय प्लेटको घर्षण भएको बिन्दु नै २० किलोमिटरभित्रको क्षेत्रमा पर्छ । त्यसलाई हामीले प्राविधिक भाषामा मेन हिमालयन थ्रष्ट (एमएचटी) भन्ने गर्छौं ।हिमालयन रेञ्जमा गएका ठूलाठूला भूकम्पहरूको स्रोत एमएचटी नै हो । जाजरकोटको भूकम्प पनि त्यही भित्र ९१४ किलोमिटर तलबाट गएको देखिएको छ ।
अन्तर्राष्ट्रिय एजेन्सीहरूले बझाङको भूकम्पलाई २० किलोमिटरभन्दा गहिरो भागमा गएको भनेर निष्कर्ष निकालेका छन् । बारपाक भूकम्पको केन्द्रविन्दु जमिनबाट १५ किलोमिटर गहिरो ठाउँमा थियो ।त्यसपछिको अर्को ठूलो झट्का पनि त्यही क्षेत्रमा थियो ।
हिमालय क्षेत्रमा ठूलो स्केलको भूकम्पहरू अरू क्षेत्रमा जाने सम्भावना निकै कम हुन्छ । ७ र ८ रेक्टर स्केलको भूकम्प जानका लागि ठूलो क्षेत्र रप्चर हुनुपर्छ । त्यसरी रप्चर हुने सम्भावना भएको क्षेत्र ‘मेन हिमालयन थ्रष्ट’ नै हो ।भूसतहबाट जति गहिराइमा भूकम्प गयो, त्यति नै क्षति कम हुन्छ ।
जापानमा निकै गहिरो भागमा भूकम्पको केन्द्र बनेको हुन्छ, जहाँ क्षति निकै कम हुन्छ । ५०० किलोमिटर भित्री क्षेत्रमा भूकम्प भयो भने त्यहाँबाट निस्केको शक्ति सतहमा आइपुग्दा निकै कमजोर भइसकेको हुन्छ, जसले स्वतः क्षति कम गर्छ । तर हामीले म्याग्निच्युड भने उति नै गणना गर्छौं । सेकिङ इन्टेन्सिटी (हल्लाउने मात्रा) भने निकै घटिसकेको हुन्छ ।
सन् २००३ मा इरानमा गएको भूकम्प ६.६ रेक्टर स्केलको थियो, जसले ३४ हजार मानिसको ज्यान गयो । चिलीको ९.५ रेक्टर स्केलमा गएको कम्पनलाई हालसम्मकै ठूलो भूकम्प मानिन्छ ।इन्डोनेसियामा सन् २००४ मा गएको भूकम्पमा करिब ३ लाख मानिस मारिए ।
त्यसैले भूकम्पको क्षतिको एक मात्रै कारण म्याग्निच्युड मात्रै त हुँदैहोइन । ७.८ को बारपाक भूकम्पका कारण हामीले ९ हजारभन्दा बढी मानिस गुमायौं । त्यही म्याग्निच्युडको भूकम्प न्यूजिल्याण्डमा गएको थियो, जसमा २ जनाको मात्रै ज्यान गयो ।
उत्तरमा तिब्बती र दक्षिणमा भारतीय प्लेटको दबाबका कारण हाम्रो हिमालय रेञ्ज जोखिमपूर्ण छ । यो क्षेत्रमा १० देखि २० किलोमिटरको क्षेत्रभित्र नै भूकम्प जाने गरेको छ । त्योभन्दा गहिरो क्षेत्रमा भूकम्प गएर कम क्षति होला कि भनेर आशावादी हुने सम्भावना हाम्रो हिमाली क्षेत्रमा छैन । त्यसैले आवश्यक सतर्कता अपनाउन जरूरी छ ।
रातिमा भूकम्प जानु दुर्भाग्य
भूकम्पका विषयमा अध्ययन गर्नेहरूले नेपालमा भएका भूकम्पको अध्ययन, स्थलगत निरीक्षण, धाँजा फाटेका ठाउँको अवलोकन गर्दा नेपालमा भएको क्षतिको प्रमुख कारण कमजोर भौतिक संरचना हो ।आधाभन्दा बढी घरहरू ढुंगामाटोले बनेका छन् । बझाङ लगायतका केही जिल्लामा हामी घुम्दा ढुंगामा माटो नराखेर फेरि ढुंगा नै थपेर घर बनाएको पनि देखेका थियौं । त्यस्ता घरहरू त झट्का सुरु भएको ५ र ७ सेकेण्डमै ढल्न थाल्छन् ।
भवन निर्माण संहितालाई हामीले गाउँ तहमा पुर्याउन सकेनौं । भूकम्प प्रतिरोधी संरचना बनाउँदा अरूको तुलनामा दोब्बर पनि पर्दैन । तर, मानिसहरूले त्यसमा चासो नै दिएनन् । स्थानीय सरकारहरूले पनि भवन संहिता लागू गर्न र कडाइका साथ त्यसको पालना गराउन सकेनन् । त्यस खालको प्राविधिक जनशक्ति पनि भएन ।
भूकम्पपछि जाजरकोट र रुकुममा भत्किएका संरचनाको फोटो र भिडियो हेर्ने हो भने कमजोर संरचनाका कारण नै क्षति भएको सहजै बुझ्न सकिन्छ । अर्को दृष्टिकोणबाट हेर्दा यो भूकम्पलाई ‘दुर्भाग्यपूर्ण भूकम्प’ भन्न सकिन्छ । त्यसको तुलनामा बरु बझाङको भूकम्प ठिकै थियो ।
बझाङमा ६.३ रेक्टर स्केलको भूकम्प जानुभन्दा २५ मिनेट पहिले ५.३ रेक्टर स्केलको पहिलो भूकम्प आएको थियो । त्यसले मानिसहरूलाई सतर्क गरायो । स्कूलमा बसेकाहरू चौरमा निस्के, घरमा रहेकाहरूले बाहिर खुला ठाउँ खोजे । त्यसको आधा घण्टामा ठूलो भूकम्प आयो, घर भत्कियो, तर मान्छे बाहिर भएकाले मानवीय क्षति कम भयो । बझाङमा पनि १४ हजार घर भत्केका छन् ।
अहिले जाजरकोटमा कति घर भत्किए, ढिलोचाँडो रिपोर्ट आउला । तर तुलनात्मक रूपमा धेरै मानिस गुमाउनुपर्यो । मानिसहरू सबै सुतेको बेला मध्यरातमा आएको भूकम्पले धेरै क्षति भयो । उनीहरू भाग्ने र फुत्किने उपाय भएन । त्यत्तिको मझौला भूकम्पमा, त्यो खालका घरहरूमा रहेका बेला भूकम्प आएपछि भाग्न र जोगिन मुस्किल नै पर्छ । भूकम्पको झट्का सुरु भएको ५ सेकेण्डभित्र घरको पाखो भत्किन र छाना खस्न थाल्यो भने मानिस जोगिन सक्दैन ।
हामी केही दिनमा प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाँदैछौं । त्यहाँ नेपाल सरकारको भूकम्प मापन केन्द्रले राखेका उपकरणहरू पनि छन् । साना भूकम्पहरूको जति रेकर्ड राखेर अध्ययन गरियो, ठूला भूकम्पहरूको सम्भावनाबारे यकिन गर्न सकिन्छ । भूकम्पका अनेक आयाम मापनका लागि सकेसम्म बढी उपकरणहरू स्थापना गर्नुपर्छ । नेपाल सरकारले ४० भन्दा बढी ठाउँमा उपकरणहरू राखेको छ ।
भूकम्पले पढाउँछ, हामी पढ्दैनौं
हरेक भूकम्पले हामीलाई पाठ पढाएर गएको हुन्छ । २०७२ सालको भूकम्पले निकै पाठ पढायो, बझाङमा पढायो, अहिले जाजरकोटको भूकम्पले पनि पाठ सिकाएको छ । हामीले आफैंलाई मार्ने घर बनाइरहेका छौं । यस्ता घरहरूले हामीलाई मारे, अब हामीले त्यस्ता घरबाट छुटकारा पाउनै पर्छ ।
हामी भवन निर्माण संहिताको मामिलामा कति सजग छौं भनेर मनन् गर्नुपर्ने अवस्था छ । भएका घरहरूलाई भूकम्प प्रतिरोधी बनाएर होस् या नयाँ घर बनाएर, अब हामीले भूकम्पीय जोखिमयुक्त संरचनालाई बदल्नुपर्छ ।
आजको भोलि नै लाखौं नयाँ घर बनाउन सकिंदैन । त्यसका लागि भूकम्पीय जोखिमबाट जोगिने सचेतना कार्यक्रम पनि चलाउनुपर्छ । जापानले हरेक महिना विद्यालयहरूमा सचेतना कार्यक्रम चलाएको हुन्छ, बारम्बार सुरक्षाका अभ्यासहरू गरिन्छ ।
हामीले पनि भूकम्पीय जोखिम घटाउन तयारी थाल्नुपर्छ । संरचना बलियो बनाउनुपर्छ, साथसाथै आम नेपालीलाई पनि भूकम्पका बारेमा ज्ञान दिनुपर्छ । विद्यालयका पाठ्यक्रमहरूमा यसलाई समावेश गर्नुपर्छ । विद्यालय तहदेखि नै सचेतना कार्यक्रम गर्नुपर्छ ।
अस्तिको जाजरकोटको भूकम्प आफैंमा एउटा भूकम्प हो । भ्रमका कारण कतिपयले यसलाई ठूलो भूकम्प टरेको रूपमा बुझेका छन्, कतिपयले अर्को महाभूकम्प आउने पूर्वसंकेत भनेका छन् । न यसले कुनै भूकम्पको पूर्वसंकेत गरेको हो, न कुनै भयावह अवस्था टारेको हो । यस्तो थाहा भइदिएको भए त हामीले पर्याप्त तयारी गर्ने थियौं नि १
यथार्थमा यो भूकम्पले अर्को भूकम्प टारेको होइन । बारपाकभन्दा पश्चिमको भागमा ८ रेक्टर स्केलको भूकम्प जान पुग्ने गरिको शक्ति सञ्चय भएको छ भनेर भूकम्पविद्हरूले बारम्बार चेतावनी दिएका छन् ।त्यो अवस्था टर्नका लागि ७ रेक्टर स्केल बराबरका ३२ वटा भूकम्प आउनुपर्छ ।
६ रेक्टर स्केल बराबरका हजार वटा भूकम्प आउनुपर्छ, अनि मात्रै ८ रेक्टर स्केल बराबरको शक्ति क्षय हुन्छ । त्यसैले बारम्बार स–साना भूकम्प गएमा मात्रै पश्चिम नेपालमा सञ्चय भएको शक्ति रिलिज हुन्छ । हालको अवस्था हेर्दा, स–साना भूकम्प गएर ठूलो जोखिम टर्ने सम्भावना असम्भव जस्तै हो ।
मेरो बुझाइमा पश्चिम नेपालमा तीनवटा सम्भावना देखिन्छ । पहिलो, स–साना झट्काका रूपमा अरू कुनै पनि बेला अन्य ठाउँमा भूकम्प आउन सक्छ । अहिलेभन्दा एकरदुई कम स्केलको पनि झट्का आउन सक्छ । त्यसैले चर्केको घर छ भने त्यहाँभित्र नबस्नुहुन अनुरोध गर्छु ।
दोस्रो, बझाङ वा जाजरकोटको जस्तो मझौला खालको भूकम्प अरू कुनै ठाउँमा आउन सक्छ ।हामीले चेतावनी दिंदै आएको अन्तिम विकल्प पनि छ । पश्चिमममा कुनै पनि बेला ७ र ८ रेक्टर स्केलको भूकम्प जान सक्छ । यो मैले कसैलाई तर्साउन वा आतंकित बनाउन भनेको होइन । विभिन्न वैज्ञानिक अध्ययन, अनुसन्धानहरूले पनि त्यो सम्भावना देखाएको छ ।
भूकम्प पूर्व सूचना प्रणाली जडान गर्न सक्ने हो भने धेरै राम्रो हुन्छ । केन्द्रविन्दुबाट नजिक रहेको उपकरणले भूकम्पको संकेत थाहा पाउनासाथ वरपरका क्षेत्रमा तत्काल सूचना प्रवाह गर्ने प्रणाली विकास भएको छ । त्यसका आफ्नै विशेषता र कमजोरी छन् ।
अन्त्यमा, हामीले भूकम्प टार्न त्यो कहिले आउला भनेर पूर्वानुमान गर्ने तरिका हालसम्म पत्ता लागेको छैन । तसर्थ भएका संरचनालाई बलियो बनाएर नै जोखिम घटाउने हो, सचेतना कार्यक्रम गरेर मानिसहरूलाई सजग गराउने हो, अरू विकल्प छैन ।
(नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट) मा कार्यरत भूकम्पविद् सुवेदीसँगको कुराकानीमा आधारित)



















































































































































































































