४ जेष्ठ २०८१, शुक्रबार

 

विद्यामन्दिर पुस्तकालयले देवकोटा जयन्ती मनाउने

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती बागलुङमा पनि मनाइने भएको छ । विद्यामन्दिर पुस्तकालयले प्रतियोगितात्मक कविता गोष्ठी, परिचर्चासहित विविध कार्यक्रम गरेर देवकोटा जयन्ती मनाउन लागेको हो ।

बर्सेनि तिहारको लक्ष्मीपूजाका दिन देवकोटा जयन्ती मनाइन्छ । यो वर्षको देवकोटा जयन्ती आउँदो आइतबार परेको छ । पुस्तकालयका अध्यक्ष राम थापाले जयन्ती समारोहको तयारी अगाडि बढेको बताउनुभयो । पुस्तकालयले प्रतियोगितामा भाग लिन स्रष्टाहरुमा सार्वजनिक आव्हानसमेत गरेको छ ।

पुस्तकालयले विगत लामो समयदेखि देवकोटा जयन्ती मनाउँदै आएको छ । महाकवि देवकोटाको सम्मानसँगै नेपाली भाषा, साहित्यको उन्नयन हेतु जयन्तीको परम्परा बसालिएको अध्यक्ष थापाले उल्लेख गर्नुभयो । पुस्तकालयकै सभाकक्षमा जयन्ती समारोह आयोजना हुनेछ । जयन्तीको अवसर पारेर पुस्तक विमोचन, प्रहसन, चित्रकला प्रदर्शनी आदि गर्न चाहाने सर्जक/कलाकारलाई पनि समारोहमा स्थान दिइने पुस्तकालयले जनाएको छ ।

विसं २००३ मा स्थापना भएको विद्यामन्दिर पुस्तकालयले साहित्य, कला र संस्कृतिको प्रवद्र्धनमा टेवा पुग्ने क्रियाकलाप गर्दै आएको छ । पुस्तकालयअन्तर्गत साहित्य उपसमिति पनि क्रियाशील छ ।

प्रतिक्रिया दिनुहोस्