४ जेष्ठ २०८१, शुक्रबार

 

परम्परा झल्काउने तिहारे मेला

गण्डकी । भाइमाला उन्ने प्रतियोगितादेखि मौलिक सोरठीको प्रस्तुतिसम्मले यहाँ आयोजित तिहारे मेलामा मौलिकता थपेको थियो। तिहारको छेकोमा बागलुङको गलकोट नगरपालिका–७ मल्ममा लागेको सो मेलाले परम्पराको झल्को दिन्थ्यो।

जनहित कला केन्द्रद्वारा आयोजित तिहारे मेलामा भाइमाला उन्ने, टीकी टाँस्ने, सोरठी, मौलिक नृत्य, रस्साकस्सी, भलिबल प्रतियोगिता, सांस्कृतिक झाँकी आदि समावेश थिए। तीन दिनसम्म चलेको मेला मङ्गलबार सकिएको केन्द्रका अध्यक्ष ईश्वर थापाले बताए।

‘तिहार पर्वको मौलिकतालाई यो मेलासँग जोड्ने प्रयास गर्दै आएका छौं’, थापाले भने, ‘कला, संस्कृति र खेलकुदको जगेर्ना गर्ने उद्देश्यले विसं २०६९ देखि तिहारे मेलाको सुरु गरिएको हो।’ भाइमाला उन्ने र टीकी टाँस्ने प्रतियोगिताले मेलामा छुट्टै आकर्षण थपेको अध्यक्ष थापाले बताए।

छिटो र राम्रो माला उन्ने महिला उक्त प्रतियोगितामा विजयी हुने उनको भनाइ छ। यसपालि भाइमाला उन्ने प्रतियोगितामा माया दर्जी प्रथम र गुमा थापा द्वितीय भएकी थिइन्। दर्जीले दुई हजार र थापाले एक हजार पुरस्कार हात पारिन्।

टीकी टाँस्ने प्रतियोगितामा भुमा खड्का प्रथम र भुमा विश्वकर्मा द्वितीय भएका थिए। खड्काले एक हजार र विश्वकर्माले पाँच सय पुरस्कार प्राप्त गरिन्। कलाको उत्थान र परम्पराको रक्षाका लागि मेला सहयोगी बनेको केन्द्रका निवर्तमान अध्यक्ष ज्ञानबहादुर थापाले बताए।

मेलामा मल्ममा प्रचलित सोरठी गीत र नृत्यले पनि दर्शकलाई लोभ्याउने गरेको ज्ञानबहादुरको भनाइ छ। पञ्चेबाजा, भजनलगायत सांस्कृतिक भाँकी पनि मेलामा प्रदर्शन गरिएको थियो। लोकनृत्य प्रतियोगितामा मौलिक वेषभुषामा सजिएका कलाकारको प्रस्तुति पनि बेजोड देखिन्थ्यो। रस्साकस्सी प्रतियोगिताले उस्तै रौनक थपेको थियो।

रस्साकस्सीमा आरानटोल समूह प्रथम भएर चार हजार पुरस्कार हात पारे भने आयोजिक टिमले दोस्रो स्थान हासिल गरी दुई हजार पुरस्कार प्राप्त गर्‍यो। सामूहिक लोकनृत्यमा उत्कृष्ट प्रदर्शन गर्ने आयोजिक समूहले पाँच हजार र जनहित माध्यमिक विद्यालयको कलाकार समूहले तीन हजार प्राप्त गर्‍यो।

भलिबल खेलका पारखीलेसमेत तिहारे मेलाबाट आनन्द बटुले। उक्त प्रतियोगितामा आयोजक टिम विजेता बनी ३० हजार पुरस्कार जित्यो। उपविजेतमा सीमित भएको सङ्गम युवा क्लबले २० हजार पायो।

भलिबल प्रतियोगिता पनि मेलाको नियमित आकर्षण बनेको छ। केन्द्रले मल्म, गैराखर्कस्थित आफ्नै खेलमैदानमा मेला सञ्चालन गर्दै आएको छ। केन्द्रले रु छ लाख लगानीमा जग्गा किनेर मैदान र कार्यक्रमस्थल व्यवस्थापन गरेको थियो। मेलालाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना केन्द्रको छ।

मेलामा लोकगायक विष्णु खत्री, कुलवीर थापालगायतले प्रस्तुति दिएका थिए। मेलाको उद्घाटन गण्डकी प्रदेशसभाका सदस्य कुसुम बुढाले गरेका थिए। उनले मेलाले कला, संस्कृतिको संरक्षणमा टेवा पुर्‍याएको उल्लेख गरे। मेला अवलोकनका लागि गलकोटका विभिन्न ठाउँबाट दर्शक मल्म आएका थिए।

प्रतिक्रिया दिनुहोस्