२१ बैशाख २०८१, शुक्रबार

 

बडिगाड गाउँपालिकाको आयोजनामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बागलुङ । बडिगाड गाउँपालिकाको आयोजनामा ५ औं राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको आइतवार बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले उद्घाटन गर्नु भयो ।

प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले राष्ट्रिय खेलाडी उत्पादन गर्नको लागि  गाउँपालिकाले खेलको विकासको लागि विशेष ध्यान दिएको बताउनु भयो । बडिगाड गाउँपालिकालाई खेलको आर्कषक गन्तव्य बनाउने र खेलबाटै युवाहरुले भविष्य देख्ने अवस्था सिर्जना गर्न प्रतियोगिताहरु आवश्यक भएको बताउनु भयो ।

शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको भन्दै खेलुकद क्षेत्रका लागि गाउँपालिकाले आवश्यक योजनाहरु बनाएर अगाडी बढिरहेको बताउनुभयो । बडिगाड गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना एवम खार माध्यमिक विद्यालयको व्यवस्थापनमा  खार बजारमा प्रतियोगिता सुरु भएको छ ।

कार्यक्रममा  गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी, त्रिभुवन नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले  मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम खार माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर केसीको अध्यक्षता, प्रधानाध्यापक यज्ञ घिमिरेको स्वागत र गाउँपालिकाका शिक्षा अधिकृत पूर्ण बहादुर घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।तीन दिनसम्म चल्ने प्रतियोगितामा  सामुदायिक र संस्थागत गरी माध्यमिक तहका १४ विद्यालयको सहभागिता रहेको  छ ।

पहिलो दिन छात्र भलिबल तथा छात्र छात्रा सटफुट लगाएतका प्रतियोगताहरु सञ्चालन भएका छन् । खेलमा छात्र तर्फ कबड्डी, भलिवल, १००, ४००, १५०० मिटर, ४-१०० रिले दौड, उफ्रने र फ्याँक्ने हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम र सटफुट १२ पाउण्ड लगाएतका प्रतियोगिताहरु सञ्चालन हुनेछन् ।

त्यस्तै छात्रा तर्फ कबड्डी, भलिवल, १००,४००,१५०० मिटर, ४-१०० रिले दौड, उफ्रने र फ्याँक्ने हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउण्ड लगाएतका खेलहरु रहेका छन् ।

 

तस्वीर : जिटिभिनेपालबाट

प्रतिक्रिया दिनुहोस्