२२ बैशाख २०८१, शनिबार

 

यतिखेर विश्व र हाम्रो भविष्य पनि संकटमा छ : खगेन्द्र सङ्ग्रौला

‘यतिखेर सिद्धान्त संकटमा छ, आस्थाहरु संकटमा छन्, उज्यालो संकटमा छ, हाम्रो भविष्य पनि संकटमा छ ।’

यो चेतावनी प्रसिद्ध प्रगतिवादी साहित्यकार खगेन्द्र सङ्गौलाको हो । आज नयाँ ठिमीमा आयोजित बैकुण्ठहरि पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

सङग्रौलाका अनुसार, ‘हामी अहिले संकटमा छौं, विश्व नै संकटमा छ । आजको विश्व दक्षिणपन्थी नश्लवादमा छ । त्यसको प्रतिनिधित्व अमेरिकामा ट्रम्प, रुसमा पुटिन, ब्राजिलमा बोलसेनारो भन्ने कोही थियो र भारतमा मोदी छन् र हाम्रोमा ओली । अब त पुष्पकमलहरु नै पनि गेरु बस्त्र लगाएर ५१ हजार दान गर्दै कता कता हिँडिरहेका छन् । त्यसैले समग्र विश्व नै चिन्तनमा दक्षिणपन्थी भएको छ ।’

त्यसअवसरमा सङ्ग्रौलाले आफूलाई मुर्खको संज्ञा दिँदै भने, ‘परम्पराले स्थापित गरेका नियमहरुलाई बुढो गोरु मियोको वरिपरि घुमिरहेजस्तो गरिकन आँखा चिम्लेजस्तो गरी जसले मानेन, तिनले परम्परा, धर्म, ईश्व र बादशाहामाथि प्रश्न गरे । सनातनी समाजमा तिनीहरु एक्लो देखिए । म पनि त्यही किसिमको एक्लो, किनारमा उभिएको मुर्ख हो ।’

आफू बाहेक सबैलाई शिरदेखि पाउँसम्मै गलत देख्ने नेपालका कम्युनिष्ट पार्टीहरु धार्मिक पन्थ जस्तै देखिएको बताउँदै सङ्ग्रौलाले राजनीतिमा सहमति–असहमति हुन्छ, ठीक–बेठीक हुन्छ, उकाली–ओराली तलमाथि सबै हुन्छ तर तपाईंको सबैभन्दा जघन्य शत्रु पनि त्यो मान्छे भएकोले केही न केही गुण नभएको नहुने पनि बताए ।’

आफूलाई नेपालको वर्तमान समाजको सम्भवतः सबैभन्दा विवादास्पद मान्छे बताउँदै उनले समाज स्वार्थमा, सत्यममा, दर्शनमा, धारणामा विभाजित रहेको र विभाजित समाजमा सबैको प्यारो कोही पनि हुन नसक्ने’ उल्लेख गरे ।

त्यस अवसरमा पुरस्कृत व्यक्तित्व सङ्गौलाको व्यक्तित्वमाथि प्रगतिवादी साहित्यकार मातृका पोखरेलले आफ्ना विचार राखेका थिए । ‘सङ्ग्रौला आफ्नो विद्यालय रहेको र आफू त्यसको विद्यार्थी’ भन्दै पोखरेलले ‘सबैको आआफ्नो समूह रहेको र समूहमा जाँदा बहादुर हुन गाह्रो नभएको तर सङ्ग्रौला त्यो अर्थमा फरक रहेको र एक्लै बहादुर रहेको’ बताए ।

‘सङ्ग्रौलाले सत्य कुरा गर्नको लागि समूह खोजिनरहने तथा न्यायिक कुरा गर्नको लागि उनलाई कुनै समुहको दरकार नपर्ने’ पोखरेलको कथन थियो ।

‘कतिपय अवस्थामा आफू आबद्ध रहेको पार्टीले बोलिदिओस् भन्ने चाहेको तर पार्टीले नबोलेको तथा सङ्ग्रौलाले बोलिदिने गरेको अर्थमा समूहमा आबद्ध मानिसहरुको पनि उहाँ नेता हुनुहुन्छ’ भन्दै पोखरेलले सङ्ग्रौला एक व्यक्तिले एउटा समूह वा संस्थाकै भूमिका निर्वाह गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेको बताए ।

‘सङ्ग्रौलाले नेपालको प्रगतिवादी साहित्यलाई अत्यन्तै उर्बर र मलिलो बनाएको उल्लेख गर्दै उनले त्यसको तुलना अरु साहित्यकारहरुसँग हुनै नसक्ने’ बताए ।

‘अखबारी लेखनतिर लागेपछि सङ्ग्रौलाको सिर्जनामा कमी आएको भनी मानिसहरुले भन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै पोखरेलले ‘त्यसपछि पनि सङ्ग्रौलाबाट धेरै उन्नत खालका सामग्रीहरु सिर्जना भएको’ बताए । त्यस अवसरमा पोखरेलले ‘आफूहरुलाई खगेन्द्र सङ्ग्रौलाले गणतन्त्रको कविता आन्दोलन चलाउन उत्प्रेरित गरेको’ कुरा पनि स्मरण गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सङ्ग्रौलालाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल भाषाका वरिष्ठ प्रगतिवादी कवि डा. योगेन्द्र प्रधानले दोसल्ला ओढाइ सम्मान गर्नुका साथै सम्मानपत्र एवं ५१ हजार नगद पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मध्यपुर ठिमी नगरपालिकाका पूर्व मेयर मदनसुन्दर श्रेष्ठ, वडा नं-४ वडाअध्यक्ष वालकृष्ण श्रेष्ठले समेत सम्बोधन गरेका थिए । । सभाको सञ्चालन बैकुण्ठहरि स्मृति प्रतिष्ठानको सचिव कृष्णमोहन जोशीले गरेका थिए ।

दायित्ववोधबाट

प्रतिक्रिया दिनुहोस्