२२ बैशाख २०८१, शनिबार

 

कवि निर्भीकजंगको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक

काठमाडौं । कवि निर्भीकजंग रायमाझीको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक भएको छ । शनिबार सर्वनाम थिएटरमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति एवं कवि भूपाल राई, कवि श्यामल र कवि मोमिलले कविता सङ्ग्रहको संयुक्त रूपमा विमोचन गरेका हुन् ।

कवि श्यामलले आम मानिसको भोगाइ र त्यसको तरङ्ग भित्री ह्रदयसम्म लैजाने‌ शक्ति निर्भीकका कवितामा रहेको बताउनु भयो । सिर्जनामा स्वतन्त्र कल्पनासिलता जरुरी हुने बताउँदै उनले ‘त्यसरी त कहिल्यै सोचिएन’ पछिल्लो समयको बलियो हस्तक्षेप भएको बताउनु भयो।

यस्तै, कवि मोमिलाले निर्भीकका कवितामा मानिसको वेदना, सुस्केरा, सकस र आक्रोश भएको बताइन् । उनले भनिन्, ‘निर्भीकका कविता पढ्दा अव्यस्था र अराजकताको विरुद्ध लड्न बलियो शक्ति प्राप्त हुन्छ ।’

यसैगरी, कवि भूपाल राईले निर्भीकलाई सुरुमा पत्रकारको रूपमा चिनेको बताउनु भयो । निर्भीकमा एक्लै नडराइकन कठोर प्रश्न गर्ने साहस भएको युवाको रुपमा पाएको बताउनु भयो । उनमा ईर्ष्यालाग्दो धारिलो लेखन भएकोले म धेरै प्रभावित भएँ ।’

‘त्यसरी त कहिल्यै सोचिएन’ सङ्ग्रहमा आम मानिसले भोगेका समस्या, प्रेम, राजनीति, सामाजिक, आर्थिक असमानता र विभेद आदि विषयमा लेखिएका ५० थान कविता सङ्कलित छन् । कलम प्रकाशनले प्रकाशन गरेको कविताकृतिको मूल्य ३ सय ७५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्