बागलुङ । सातौं बागलुङ महोत्सवमा साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङको सुपथ मूल्य पसलमा सामान किन्नेको भिड लागेको छ ।
महोत्सवमा आउने दर्शकले किनारा पसलमा भन्दा सस्तो मूल्यमा उपभोग्य सामान पाउने भएकोले सामान किन्ने ग्राहकको घुँइचो लागेको साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका कार्यालय प्रमुख मनोज श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो । पुष ११ बाट संचालनमा आएको सुपथ मूल्य पसलमा दैनिक उपभोगका खाद्यान्न सामानहरु विक्री वितरणमा राखिएको छ ।
‘हामीले एक जनालाई कम्तीमा २ केजीसम्म प्रति किलो सय रुपैयाँमा चिनी दिन्छौँ’ श्रेष्ठले भन्नु भयो। बजारमा १ सय १५ रुपैयाँ पर्ने चिनी सुपथ मूल्य पसलमा सय रुपैयाँमा पाइने भएकोले पनि सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको हो ।

यस्तै नुनको मूल्य प्रतिकेजी २० रुपैयाँ रहेको छ। साल्ट ट्रेडिङले तेल, मैदा, पिठो, आटा, चामल, चिया विशेष छुटमा दिएको छ।सुपथ मूल्य पसलमा चिउरा तथा विभिन्न प्रकारका दाल तथा गेडागुडी पनि उपलब्ध छन्। सबै दाल तथा गेडागुडीमा बजारमाभन्दा सस्तो छ।
यसपटकदेखि आफै तोरीको तेल उत्पादन गरेर बेच्न थालेको साल्ट टे«डिङले तेल प्रतिलिटर ३७० रुपैयाँमा बेचिरहेको छ। चामल २० केजीलाई ३ हजार २ सय २५ रुपैयाँ र ५ केजीको चामललाई ८ सय ५० रुपैयाँ दिएकोले उक्त सामानहरु बजार भाउभन्दा सस्तो छ ।
सुपथ मूल्य पसलमा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, जनप्रतिनिधिहरु, पर्वत उद्योग वाणिज्य संघ र म्याग्दी उद्योग वाणिज्य संघको पदाधिकारी र सदस्यहरुलेले पनि अवलोकन गर्नु भएको थियो । पसलमा डोल्पा जिल्लामा उत्पादन हुने गेडागुडी, जिम्मु र स्वास्थ्यको लागि उपयोग हुने साबुन पनि उपलब्ध छ । ट्रेडिङले विभिन्न ब्रान्डका चिया पनि छुटमा दिएको छ।
सुपथ मूल्य पसलको शुभारम्भ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठको पनि उपस्थिति थियो । कार्यक्रमको संचालन साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका कार्यालय प्रमुख मनोज श्रेष्ठले गर्नु भएको थियो ।



















































































































































































