२३ बैशाख २०८१, आईतवार

 

बडिगाडमा १६०४ जनामा परीक्षण गर्दा ९८ जनामा क्षयरोग देखियो

बागलुङ । बागलुङको बडिगाडमा क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहदै आएको छ। पालिकाको कुल जनसंख्याको झन्डै ०।२८ प्रतिशत जनसंख्या क्षयरोगबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। आ व २०७९र८०मा बागलुङमा जम्मा २३५ क्षयरोगका बिरामी रहेकोमा बडिगाड गाउँपालिकामा मात्र ८६ जना क्षयरोगी पहिचान भएका थिए। गाउँपालिकाले घरघरमै पुगेर परीक्षण गरेको थियो।

गतवर्ष खोजपड्ताल कार्यक्रमबाट उच्च संख्यामा क्षयरोगी पहिचान भएकाले यसवर्ष अझै नविनतम योजनाका साथ निःशुल्क क्षयरोग पहिचान शिविर आयोजना गर्ने योजनामा स्वास्थ्य कार्यालय र पालिका थिए। २०८० ज्येष्ठ महिनाको अन्त्यसम्ममा बिरामीको संख्या ८० पुगेको थियो।

बडिगाडमा अहिले क्षयरोगका बिरामी थपिने संख्या दिनानु दिन रूपमा बढीरहेको छ साथै उपचार गरेर निको बनाउन सफल भएका उदाहरण पनि उही गतिमा बढेको छ। तर कतिपय अवस्थामा आफूलाई क्षयरोगका लक्षण देखियो भनेर खकारका जाँचको लागि स्वास्थ्य संस्था नआउनेको संख्या पनि ठूलो संख्यामा रहेको छ।

विशेष गरी बडिगाड गाउँपालिकामा वृद्ध उमेरका मानिसहरुमा, लागू औषधि सेवन गर्ने व्यक्तिमा, प्रतिरोध क्षमतामा कमी हुने व्यक्तिहरुमा, एचआईभी संक्रमित व्यक्तिहरुहमा,समूहमा बस्ने व्यक्तिहरुमा, दीर्घरोगका बिरामीहरुमा, अंग परिवर्तन गरेका व्यक्तिमा, स्टेरोयड औषधि सेवन गर्नेको शरीरमा प्रतिरक्षा प्रणाली कमजोर हुने भएकोले वार्षिक करिब ५० जना क्षयरोगका बिरामी थपिन्छन् भन्ने आँकडा रहेकोमा अहिले त्यो संख्या डरलाग्दोगरी उकालो लागेको छ।

बागलुङमै पहिलोपटक छातिको एक्सरेद्धारा क्षयरोग परिक्षण गर्न स्वास्थ्य कार्यालय बागलुङ र बडिगाड गाउपालिकको आयोजना तथा क्षयरोग उपचार केन्द्र पोखराको समन्वय तथा जापान नेपाल हेल्थ एन्ड ट्यूबरकुलोसिस रिसर्च एसोसिएसनको प्राविधिक सहयोगमा पुष १६देखि १८ सम्म क्षयरोग सम्पर्क तथा परीक्षण शिविर बडिगाड गाउपालिकाको वडा नं २ खर्वाङ,वडा नं ४ जलजला र वडा नं ७ भिमगिठेमा सम्पन्न भएको छ।

पहिलो दिन ५०० जना, दोस्रो दिन ४९९ जना र तेस्रो दिन ६०५ जना गरी जम्मा १६०४ जना व्यक्तिको छातिको एक्सरे तथा २५६ जना शंकास्पद व्यक्तिको जिन एक्सपर्टका लागि खकार सकंलन गरिएको छ।

क्षयरोग जोखिमको हिसाबले जिल्लामै उच्च स्थानमा रहेको गाउँपालिकाले क्षयरोग निर्मुल अभियान अन्तर्गत शिविरको आयोजना गरेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्। क्षयरोगी पहिचान गरी उनीहरुको औषधोपचारसँगै पालिकालाई क्षयरोग मुक्त बनाउने अभियान स्वरुप बागलुङमै पहिलो पटक नविनतम प्रविधिद्धारा शिविर आयोजना गरिएको उनको भनाइ छ।

शिविरमा राष्ट्रिय क्षयरोग केन्द्र काठमाण्डौका क्षयरोग विशेषज्ञ डा प्रमोद भट्टराई, क्षयरोग उपचार केन्द्र पोखराका निर्देशक डा रमेश आचार्य, जापान नेपाल ट्युबरक्लोसिस रिसर्च एशोशियसनका एक्जुकेटिभ डाइरेक्टर रामशरण गोपाली, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्मा, क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरे सहितको प्राविधिक टोली रहेको थियो भने सबै कार्यक्रमको संयोजन स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देव प्रकाश घिमिरे तथा पालिकाका स्वास्थ्य संयोजक विपेन्द्र केसीले गरेका थिए। शिविरबाट धेरै क्षयरोगी पहिचान भएमा गाउँपालिकाले सोही अनुसार योजना बनाएर अगाडी बढ्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीले बताए।

सन् २०५० सम्म नेपाल सरकारले टिवी फ्रि नेपाल घोषणा गर्ने लक्ष्य राखेकोमा बडिगाड गाउँपालिकाले सन् २०३० सम्म क्षयरोग निर्मुल गर्ने योजना राखेको समेत उनले बताए ।

स्वास्थ्य खबर बाट

प्रतिक्रिया दिनुहोस्