२२ बैशाख २०८१, शनिबार

 

साहित्यकार ताराकान्त पाण्डेयको बस दुर्घटनामा निधन

काठमाडौं । साहित्यकार प्राध्यापक डा. ताराकान्त पाण्डेयको बस दुर्घटनामा मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौं आउने क्रममा शुक्रबार राती दाङको भालुबाङमा भएको बस दुर्घटनामा पाण्डेयको निधन भएको हो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको बस दुर्घटनामा परी निधन भएको हो । उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए ।

प्रगतिशिल कला, साहित्यमा समर्पित पाण्डेय इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए । २०१७ असोज ८ गते रुपन्देहीमा जन्मेका उनी २०३६ सालदेखि नेपाली प्रगतिवादी साहित्यमा सकृय थिए ।उनले विसं २०५७ सालमा पारिजात सिर्जन पुरस्कार पाएका थिए ।

बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा उनीसहित १२ जनाको मृत्यु भएको थियो ।

उनका भूमिका र मूल्याङ्कन २०५३, प्रगतिवाद र कविता २०५६, देवकोटाको व्यङ्ग्य व्यक्तित्व २०५८, अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध २०६७, अर्थको आनन्द २०६८, समय र सिर्जना २०६८ जस्ता समालोचना प्रधान कृतिहरु प्रकाशित थिए ।

उनले कलम र आलोचना साहित्यिक पत्रिकासमेत सम्पादन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्