काठमाडौं। बुढानिलकण्ठमा पहिलो पाँचतारे होटल ‘बूढानीलकण्ठ हेरिटेज’ सञ्चालनमा आएको छ। होटल नारायणगोपाल चोकबाट पाँच किलोमिटर दूरीमा रहेको छ । २ अर्ब ५० करोड लागतमा होटल निर्माण भएको हो ।
२ अर्ब ४० करोडसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भएपनि कोरोना र आर्थिक मन्दीका कारण १० करोड लगानी बढेको हो।भारतीय प्रसिद्ध ब्राण्ड ‘लेमन ट्री प्रिमियर‘ले बूढानीलकण्ठ हेरिटेजको व्यवस्थापन सम्हालेको छ। नेपालमा लेमन ट्री प्रिमियरको यो.पहिलो प्रवेश हो।
फागुन पहिलो साता ग्रान्ड ओपनिङ गर्ने तयारी भइरहेको होटलका सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिनु भयो । गत माघ १ मा होटलको सफ्ट लन्च गरिएको थियो। साढे १२ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा छन् तीमध्ये ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन्।

होटलमा पाहुना सेवालाई लक्षित गरेर छुट्टै सर्भिस लिफ्ट र गेस्ट लिफ्ट जडान गरिएको छ। होटलमा अल डे डाइनिङ रेस्टुराँ, स्पेसियालियाटी रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एन्ड बार, हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन, स्पा, योगा तथा ध्यान केन्द्र २ वटा बैंक्वेट हल र सुविधा सम्पन्न क्यासिनो छ ।
केहि महिनापछि क्यासिनो सञ्चालन हुनेछ त्यसको लागि रहेको कुन कम्पनीलाई सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भइरहेका सञ्चालक कार्कीले बताउनु भयो। होटलको संचालनले बूढानीलकण्ठ क्षेत्र पर्यटकिय गन्तव्यको रुपमा विकास हुँदैछ ।
होटलका हरेक कोठाबाट काठमाडौं उपत्यकालाई नजिकबाट नियाल्न सकिन्छ । काठमाडौंको कोलाहलबाट टाढा शान्त वातावरणमा बस्न र समय बिताउन लेमन ट्री प्रिमियर उत्कृष्ठ गन्तव्य बन्न सक्छ।होटल सञ्चालकमा कार्कीसहित डा राजेन्द्र केसी, अम्बिका पौडेल, हरिप्रसाद पाठक, नवराज बुर्लाकोटी, दीपक पाण्डे, जनक भट्ट, दिपेन्द्र श्रेष्ठ र जलेश्वर पाण्डे रहेका छन्।
१५ करोडको आइपिओ जारी गर्ने तयारी
होटलले चालु आर्थिक वर्ष भित्रै १५ करोड रुपैयाँको प्राथमिक सेयर९आइपिओ० जारी गर्ने तयारीसमेत गरेको छ। आइपिओ जारी गर्नका लागि बुढानिलकण्ठ हेरिटेज लिमिटेडको पाँचौ वार्षिक साधारण सभामा प्रस्ताव पारित गरिसकेको छ । आइपिओ निष्कासनका लागि बिक्री प्रबन्धकमा इलाइट क्यापिटल चयन भएको छ।















































































































































































































