२४ बैशाख २०८१, सोमबार

 

७१ औं कुष्ठरोग दिवस बागलुङ मनाइयो

बागलुङ । ७१ औं विश्व कुष्ठरोग दिवस आईतबार बागलुङमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गरि मनाईएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहको आयोजना, स्वास्थ्य कार्यालय बागलुङको संयोजन र फेयरमेड विवाईसी बागलुङको सहयोगमा कुष्ठरोग सम्बन्धी खोजपड्ताल शिविर, जनप्रतिनिधिसँग अन्तरक्रिया, विद्यालय शिक्षा र अन्य सचेतना मुलक कार्यक्रम संचालन गरी दिवस मनाईएको हो ।

“कुष्ठरोग सम्बन्धी गलत धारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं” भन्ने मुल नाराका साथ दिवस मनाईएको हो ।

दिवसको अवसरमा जिल्लाको जैमिनी नगरपालिका—८ छिस्तीमा खोज पड्ताल शिविर शिविरको संचालन गरिएको थियो । शिविर उद्घाटन कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले कुनै पनि रोग लाग्न भन्दा यसबाट कसरी जोगिने भन्नेमा सवैले सचेत हुनुपर्ने बताए ।

उनले कुष्ठरोग निवारणका निम्ती नगरपालिकाले हरेक क्षेत्रमा यस्ता खोजपड्ताल शिविर संचालन गर्ने बताए । कार्यक्रममा फेयरमेडका जिल्ला संयोजक राजेन्द्र रुचालले कुष्ठरोग लाग्नबाट जोगिने उपायका बारेमा आम सर्वसाधारणलाई जानकारी गराएका थिए ।

शिविरमा १३४ जनाले स्वास्थ्य जाँच गरेका थिए । जसमा ११९ जना छाला सम्बन्धी स्वास्थ्य समस्या रहेका विरामीले स्वास्थ्य जाँच गरेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक अधिकृत देवप्रकाश घिमिरेले जानकारी दिए । शिविरमा धौलागिरि अस्पतालका छाला रोग विशेषज्ञ डा प्रभात सिंह राजपुतले विरामीको स्वास्थ्य जाँच गरेका थिए ।

दिवसकै अवसरमा जिल्लामा विभिन्न स्वास्थ्य संस्थाले विद्यालय शिक्षाका कार्यक्रम संचालन गरेका छन भने गलकोट नगरपालिकाले जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको घिमिरेले जानकारी दिए ।
जिल्लामा अघिल्लो आर्थिक वर्षमा १२ जना कुष्ठरोगका विरामी थिए भने यस वर्षको ६ महिनाको अवधीमा ३ जना नयाँ विरामी भेटिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले जानकारी दिए ।

यस वर्ष भेटिएका विरामी बागलुङ नगरपालिका र ढोरपाटन नगरपालिकाका रहेका छन । कुष्ठ रोग लागेपछि ६ महिनादेखि १ वर्षसम्म नियमित औषधी सेवन गरे यसको निको हुनेछ । स्वास्थ्य कार्यालयले जिल्लामा कुष्ठरोगका विरामी पत्ता लगाउनका निम्ति सबै स्थानीय तहमा खोजपड्ताल अभियान संचालन गर्ने जनाएको छ ।

कुष्ठ रोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ ।

यो रोग संक्रमणको सुरुको अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई नसर्ने र अपाङ्गता हुनबाट जोगाउने जन स्वास्थ्य प्रशासक आचार्य बताउँछन । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठ रोगका नयाँ बिरामी फेला पारेको छ ।

कुष्ठ रोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन् । मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् नौ सय ४४ बिरामी रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा चार सय ७१, सुदूरपश्चिम प्रदेशमा दुई सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा एक सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्