२० बैशाख २०८१, बिहीबार

 

विद्यामन्दिर पुस्तकालयको स्थापना दिवसमा त्रिदिवसीय कार्यक्रम

बागलुङ । विद्यामन्दिर पुस्तकालय, बागलुङ–२००३ को ७७ औँ स्थापना दिवस त्रिदिवसीय कार्यक्रमसहित मनाइने भएको छ । देशकै पुरानो र अग्रणीमध्येको उक्त पुस्तकालय विसं २००३ श्रीपञ्चमी पर्वका दिन स्थापना गरिएको थियो ।

सोही तिथिलाई पारेर यस वर्ष माघ २९ देखि फागुन २ गतेसम्म विविध कार्यक्रमसहित दिवस मनाउन लागिएको पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिनुभयो । उहाँका अनुसार दिवसको पहिलो दिन सरसफाइ सचेतना र दिवसको प्रचारात्मक कार्यक्रम गरिनेछ ।

दिवसको दोस्रो दिन फागुन १ गते बिहान प्रभातफेरिको आयोजना गरिएको अध्यक्ष थापाले बताउनुभयो। प्रभातफेरिमा पुस्तकालय परिवार, सदरमुकामस्थित विद्यालयका विद्यार्थी, शिक्षक, सामाजिक अगुवा, शिक्षासेवीसहित पुस्तकालप्रेमीको सहभागीता रहने उहाँको भनाइ छ ।

सोही दिन दिउँसो पुस्तकालयको महत्व र आवश्यकता विषयक अन्तरक्रिया र पुस्तकालयद्वारा सञ्चालित बाल विकास केन्द्रका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम तय गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले बताउनुभयो । फागुन २ गते श्रीपञ्चमी पर्वका दिन दिवसको मुख्य समारोह आयोजना गरिने उहाँको भनाइ छ ।

सो दिन सरस्वती पूजा, पुस्तकालयको महत्वबारे प्रवचन, पूर्वअध्यक्ष सम्मान, बालबालिकालाई झोला र स्टेनशनरी सामग्री वितरण, दाताहरुबाट पुस्तकालयलाई सहयोग हस्तान्तरणलगायत कार्यक्रम हुने पुस्तकालयका सचिव शर्माले बताउनुभयो ।

पुस्तकालयको इतिहासमा पहिलोपटक गत वर्षदेखि स्थापना दिवस मनाउन थालिएको हो । राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको सामाजिक, राजनीतिक जागरणको केन्द्रको रुपमासमेत विद्यामन्दिर पुस्तकालयलाई लिइन्छ । स्थापनाकालमा काठमाडौं उपत्यकाहुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् ।

पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय ९ई–लाइब्रेरी० पनि छ । पुस्तकालयले बाल विकास केन्द्र पनि सञ्चालन गरिरहेको छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्तकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ । ओमप्रसाद गौचन र मेघकुमार वैद्यले १९९७ सालमा विद्यामन्दिर माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्