१६ बैशाख २०८१, आईतवार

 

गुराँस कप फूटसल प्रतियोगिता सुरु, २० समूहमा प्रतिस्पर्धा हुने

बागलुङ । गुराँस विद्या सदनको छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा गुराँस कप अन्तर विद्यालय स्तरीय फूटसल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले प्रतियोगिताले खेल प्रतिभा पहिचान र प्रस्फुटनमा सहयोग पुग्ने बताउनु भयो ।

उनले आजका बालबालिका भविष्यका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी हुने बताउँदै त्यसको लागि निरन्तर हुने यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा एन प्याब्सनका जिल्ला अध्यक्ष नेत्र न्यौपाने, केन्द्रिय सदस्य वालकृष्ण शर्मा, प्याब्सनका केन्द्रिय सदस्य नवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका विजय रानाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

गुराँस विद्या सदन बाल क्लवको आयोजनामा प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगितामा १५ विद्यालयका २० समूहको सहभागिता रहेको गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्काले जानकारी दिए ।

वार्षिकोत्सवको उपलक्ष्यमा कक्षा ८ सम्मका विद्यार्थीहरुबीच प्रतियोगिता संचालन गर्न लागिएको विद्यालयका प्रिन्सिपल खड्काले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

प्रतियोगितामा विजेता समूहलाई १५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता बन्ने समूहलाई ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडल, प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा सेमिफाइनल पुग्ने समूह, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने भएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्