१६ बैशाख २०८१, आईतवार

 

भकुण्डेमा रुद्रमान गुरुङको शालिक अनावरण

बागलुङ । नेपालका होमस्टे पिता क्यापटेन रुद्रमान गुरुङको स्मृतिमा निर्मित शालिक अनावरण गरिएको छ ।

गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री दिपेन्द्र थापाले मंगलबार एक समारोहकाबिच शालिक अनावरण गरेका हुन् ।

शालिक अनावरणपछि बोल्दै मन्त्री थापाले होमस्टेका पिता रुद्रमान गुरुङले ऐतिहासिक काम गरेको सम्झना स्वरुप शालिक निर्माण गरिएको बताए ।

‘अर्गानिक खेती गरेर स्थानीय उत्पादन होमस्टेमा प्रयोग गर्नुपर्छ’ मन्त्री थापाले भने, ‘पर्यटकीय क्षेत्र भकुण्डेमा पूर्वाधार निर्माण गर्न प्रदेश सरकार सधै साथमा छ ।’

स्याङ्जाको आँधीखोलास्थित सिरुवारी गाउँ र बागलुङ नगरपालिका वडा नं। १० भकुण्डे गाउँबिच भगिनी सम्बन्ध समेत कायम भएको छ ।

कार्यक्रममा सविधानसभा सदस्य नरबहादुर थापा मगर, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खडका, गण्डकी प्रदेश सरकारको अर्थ सचिव बलराम रिजाल, नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी बागलुङ अध्यक्ष लालबहादुर थापा, नेपाल रेडक्रस सोसाइटी बागलुङका निवर्तमान सभापति जब्बरबहादुर लामिछाने, सिरुवारी होमस्टे समितिका जितेन्द्र गुरुङ, सिरुवारी होमस्टेका संचालक उर्मिला गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।

रुद्रमान गुरुङ स्मृति पार्कका संस्थापक सदस्य यामबहादुर थापा मगरले पार्कबारे जानकारी गराएका थिए । कार्यक्रममा संस्थापक सदस्यहरुलाई सम्मान पत्र वितरण गरिएको थियो । कार्यक्रम लालबहादुर थापाको अध्यक्षता, खिमबहादुर थापाले स्वागत र उदित थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्