१७ बैशाख २०८१, सोमबार

 

गायक भक्तराज आचार्यको स्मृतिमा बागलुङमा शोकसभा

बागलुङ । गायक भक्तराज आचार्यको स्मृतिमा मंगलबार बागलुङ बजारमा शोकसभा आयोजना गरिएको छ ।

डम्बर स्मृति पुरस्कार कोष, बागलुङको आयोजना र माँ भद्रकाली सेवा समूह बागलुङको सहआयोजनामा शोकसभा आयोजना गरिएको माँ भद्रकाली सेवा समूह बागलुङकी संरक्षक सुन्दरी श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनु भयो । सभामा साहित्यकार शत्रुध्न श्रेष्ठले गायक आचार्यले गीत संगीतको क्षेत्रमा पुर्याउनु भएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा गायक रमेश राजभण्डारी, शुभराम भारी, तारा प्रसाद श्रेष्ठ र सूर्य घटानेले गायक आचार्यका गीत र भजन प्रस्तुत गरेका थिए । आयार्यको कालजयी गीतको मुटु जलिरहेछ, यो मन गलि रहेको छ गीत गायक ताराप्रसाद श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम राधाकृष्ण सेवा समिति बागलुङका अध्यक्ष रमेश राजभण्डारीले संचालन गर्नु भएको थियो । कार्यक्रमको लागि खाजाको व्यवस्था माँ भद्रकाली सेवा समूहले गरेको थियो ।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। उनका जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको माया लागेर आउछ, जति चोट दिन्छौं, मुटु जलिरहेछ, भगवान जीवन नाउ आउ पार लगाउ, राम यहि छन् श्याम यहि छन् लगायतका कालजयी गीतहरु चर्चित छन्।

२०४६ साल दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्