१६ बैशाख २०८१, आईतवार

 

कालीगण्डकी नदीमा पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण

- दुई घण्टाको बाटो ३० मिनेटमै छोटियो

बागलुङ । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण भएको हो ।

दुई वर्षमा निर्माण सक्ने गरी विसं २०७९ जेठमा सम्झौता भई विसं २०७९ साउनदेखि निर्माण सुरु पुल डेढ वर्षमा काम सकिएको छ । सात करोड लागतमा उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न भएको बागलुङ–४ का वडाध्यक्ष कुमार विक्रम क्षत्रीले जानकारी दिनुभयो ।

लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जोड्नेगरी कालीगण्डकी नदीमाथि नै पाँच सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ ।  निर्माण सम्पन्न भएपनि औपचारिक उद्घाटन हुन बाँकी रहेको छ ।

पुल बनेपछि पर्वतको जलजला गाउँपालिका – ८ नाग्लीवाङ र ९ को बनौ गाउँ बागलुङ बजारसँग जोडिएको छ । यसअघि यहाँका नागरिक आउजाउ गर्न दुई  घण्टा लाग्नेमा अब घटेर ३० मिनेट लाग्नेछ । पुल हस्तान्तरणको तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

बागलुङ बजारलाई पर्वतको जलजलासँग जोड्दा यहाँको व्यापार व्यवसाय बढ्ने छ भने जलजला गाउँपालिकाका स्थानीय जनतालाई घण्टौ लगाएर बागलुङ बजार आउनुपर्ने वाध्यताको अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्