१६ बैशाख २०८१, आईतवार

 

बागलुङमा क्षयरोग निवारणको अभियान सुरु हुने

बागलुङ । ‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नारासहित बागलुङमा क्षयरोग निवारणको अभियान थालिने भएको छ । बागलुङमा परीक्षणको दायरा बढाएर क्षयरोग पत्ता लगाउने क्रम समेत शुरु भएको छ । हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवशको अवसरमा स्वास्थ्य कार्यालय बागलुङले पत्रकार अन्तरक्रिया गरेर उक्त जानकारी दिएको हो । यो वर्ष गलकोट र बडिगाडमा क्षयरोग मुक्त पालिका बनाउने लक्ष्य राखिएको छ ।

त्यसका लागि ती क्षेत्रमा परीक्षणको दायरा पनि बढाइएको हो । परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या पनि उल्लेख्य भेटिएको क्षय कुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । क्षयरोगीलाई प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्न लगाउने, तीनपटक परीक्षण गर्ने र संक्रमितको परिवारका सदस्यको समेत खकार परीक्षण गर्ने योजना घिमिरेले सुनाए । एक जना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने भएकोले यो कोरोनाभन्दा पनि जोखिम भएको उनले बताए ।

‘हामीले सामान्य मानेका छौं, तर यो भयानक संक्रमण हो’ घिमिरेले भने, ‘सामान्य जस्तो लाग्नेले पनि क्षयरोगका व्याक्टेरिया बोकेर हिंडेका छौं ।’ रोग प्रतिरोधी क्षमता कमजोर भएको समयमा ती व्यक्टेरिया सक्रिय बन्ने उनले बताए ।
नेपालका ६० प्रतिशत युवामा क्षयरोगका व्याक्टेरिया भएको स्वास्थ्यकर्मीको अनुमान छ ।

धुम्रपान र मध्यपान गर्नेलाई संक्रमण बढी हुने तथ्य उनीहरुले बताए । कुपोषण भएका बालबालिका, जेष्ठ नागरिक, समूहमा बस्नेहरु समेतमा क्षयरोगको संक्रमण बढी हुने बताइएको छ । घिमिरेका अनुसार गत वर्ष २ सय ३५ जनामा क्षयरोग संक्रमण भएकोमा चालुवर्षको ८ महिनामै यो संख्या २ सय २७ पुगेको हो । यो क्रम असार मसान्तसम्म बढ्ने उनले बताए ।

बागलुङमा पछिल्लो समय क्षयरोगको परीक्षणको दायरा बढेसँगै संक्रमित पनि बढेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए । जिल्लाका १४ वटा ल्यावबाट क्षयरोग परिक्षण हुने गरेको छ । जटिल प्रकारको अवस्थाबाहेक सबैलाई ती ल्याबबाट खकार परीक्षण गरिन्छ । जटिल प्रकारको भएमा धौलागिरि अस्पतालमा रहेको विशेष मेसिनबाट समेत परीक्षण हुनेछ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले संक्रमण रोक्न सबै प्रकारका प्रयास गर्नुपर्ने र जनचेतनाका अभियान संचालन गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल, धौलागिरि अस्पतालकी निमित्त मेसु डा रेखा पौडेल लगायतले स्वास्थ्य उपचारभन्दा पुर्व तयारी र सचेतना आवस्यक भएको बताए । कार्यक्रम तथ्यांक अधिकृत घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

कारागारका कैदीबन्दीको क्षयरोग परीक्षण बागलुङ कारागारका कैदीबन्दीको पनि शुक्रबार क्षयरोग परीक्षण गरिएको छ । बागलुङ नगर स्वास्थ्य शाखाको अगुवाइमा स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन र धौलागिरि अस्पतालको समन्वयमा शिविरमार्फत परीक्षण गरिएको हो ।

कारागारमा रहेका १ सय ८१ जनामध्ये अधिकांसलाई परीक्षण गरिएको हो । परीक्षणपछि उनीहरुमा संक्रमण भए नभएको पत्ता लाग्नेछ । कारागारको परीक्षण शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले कैदीबन्दीले पनि स्वास्थ्य सेवा सहज पाउने वातावरणका लागि शिविर गरिएको बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलको अध्यक्षता, स्वास्थ्य शाखाका अधिकृत लक्ष्मण शर्माको संचालनमा सम्पन्न कार्यक्रममा नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल र स्वास्थ्य कार्यालयका प्रमुख वावुराम आचार्यले पनि बोलेका थिए ।

ढोरपाटनबाट

प्रतिक्रिया दिनुहोस्