२९ बैशाख २०८१, शनिबार

 

बागलुङमा घन्कियो तीन सय दश वर्ष पुरानो ‘फागु’ गीत

बागलुङ । परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मङ्का खल’को आयोजनामा बागलुङ बजारमा ३ सय दश वर्ष पुरानो फागु गीत गाइएको छ। फागु पर्वको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने उद्देश्यले नेवारी समुदायमा प्रचलित पुरानो फागु गीत गाइएको थियो ।

फागु पर्वका अवसरमा बागलुङ नगरपालिका ३ नारायण चोकमा गाइएको ऐतिहासिक फागु गीतले युवायुवतीदेखि वृद्धवृद्धासम्मको ध्यान तानेको थियो । नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध छ।

राजाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो…..
औँला काटी कलम बनावे रगतके मसिया बनावे…यै हो…
हाय हाय रगत के मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती हो…
मजाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो….

फागु गीतमा बलि राजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छौं, फागुको राग लिन्छौँ, गाउँछौँु, महिला पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपीनीबीचका माया पिरतिलगायतका भाव गीतमा समावेस गरिएको नेपाल भाषा मङ्का खल बागलुङका सल्लाहकार प्रेम छाटाले बताउनु भयो।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, २३ नम्वर वाहिनीका सहायक रथी जगत बहादुर पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेललगाएतले बोल्नु भएको थियो ।

फागु पूर्णिमाको मौलिकता हराउँदै गएपछि यहाँको नेवार समुदाय एकजुट भएर होली पूर्णिमाको दिन फागु गीत गाउँदै आएको नेपाल भाषा मङ्का खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनु भयो । फागु पूर्णिमाको मौलिकता जोगाउनु नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्न फागु गीत गाउन र बजाउन युवाहरुलाई र महिलाहरुलाई सहभागि गराइएको छ ।

यस पालिदेखि महिलाहरुले पनि बजारमा फागु गीत गाउँदै हिड्को थियो । हामीले संस्कृतिको प्रवर्द्धन गर्न होलीका अवसरमा निकै पुरानो फागु गीत गाउँदै आएका हौं । केही वर्षअघिसम्म शहरबजार र गाउँघरमा फागु पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्वमा परम्परागत महिमा र रौनक हराउँदै गएकोप्रति बागलुङको नेवार समुदाय चिन्तित छ।

पुरानो गीत पुरानो भाकामा गाउँदै यसपालिको होली उत्साहका साथ मनाएका छन्। पाकादेखि युवासम्मका पुस्ताले तीन सय वर्ष पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता देखिएको थियो। गीत सुन्न र नाच हेर्नका लागि युवायुवतीको भिड लागेको थियो।

होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो ‘फागु’ गीत गाउँदा युवायुवती आश्चर्यमा परेको उनी बताउँछन्। नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध रहेको राजभण्डारीको भनाइ छ। बागलुङ बजारको नारायणचोकमा पुराना र नयाँ पुस्तासँगै बसेर यो फागु गीत गाउँदै थिए।

राजबली के हो राजबली केहो
राजबली के द्वारे मचे होली
राजबली के हो
ऋद्धि आए, सिद्धि आए
गणेश आए त मुसा चढी के 
राम आए, लछुमन आए
दशरथ आए रथ चढी के 
मजाको फागु जानमा लाग्यो ढड्कन लाग्यो छाति 
राजबलि के हो

गीतमा मिरदङगाको ताललाई लयबद्ध बनाउँदै गाउँदै होलीको रङसँग रमाउँदै थिए बागलुङ नेवार समुदायका युवायुवाती र बुढाबुढी। उनीहरूले गाएको यही ऐतिहासिक फागु गीतले युवायुवतीदेखि बुढाबुढीसम्मको ध्यान तान्यो।मादल बजाउँदै पुराना पुस्ताहरू गाउँदै होली खेल्दै रमाउँदै थिए, भने नयाँ पुस्ता साथमा साथ दिँदै थिए।

सडकमा युवा युवती, ‘ह्यापी होली –ह्याप्पी होली’ भनी रमाइरहेका थिए ।तर, अधिकांशको ध्यान भने बागलुङको नारायणचोकमा नेवार समुदायले परम्परागत संस्कृतिको संरक्षण गर्दै होली मनाएकोतर्फ खिचियो।

नेवार समुदायमा सामूहिक भोजसहित यो गीत गाएर फागु अर्थात् होली खेलिन्छ। होलीमा नेवार मात्र होइन अन्य समुदायका व्यक्तिको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्