२० बैशाख २०८१, बिहीबार

 

बागलुङ समाज कल्याण केन्द्र, काठमाडौंको आयोजना धौलागिरि अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सुरु

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको आयोजनामा शुक्रबारबाट धौलागिरि अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । गण्डकी मेडिकल कलेज पोखरा, बागलुङ नगरपालिका र धौलागिरि अस्पतालसँगको समन्वयमा दुई दिने स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा अर्थोपेडिक, मुटुरोग, पिशाव, क्यान्सर, महिला तथा स्त्रीरोग, सुगर, भिडियो एक्सरे र मुटुको इको निःशुल्क प्रदान गरिने छ ।

शिविर उद्घाटनको अवसरमा धौलागिरि अस्पतालका अध्यक्ष नारायण प्रसाद शर्मा पौडेल, गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा रविन्द्र श्रेष्ठ, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रवी रञ्जन प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठको अध्यक्षता, सदस्य निर्मला श्रेष्ठको स्वागत र सचिव किस्मत मणि श्रेष्ठको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । विपन्न, असाहय विरामीहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

दुई दिन सञ्चालन हुने उक्त स्वास्थ्य शिविरमा गण्डकी मेडिकल कलेज पोखराका १५ जना विशेषज्ञ डाक्टरहरुले उपचार गर्ने छन् । ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले बागलुङमा शिविर सञ्चालन गरेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले जानकारी दिनु भयो ।

विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्न सक्ने श्रेष्ठको भनाई थियो । विसं २०३९ सालमा स्थापना भएको समाजले लामो समयदेखि शिक्षा, स्वास्थ्य, मावनता र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्