१० कार्तिक २०८३, सोमबार

 

पाँच दिवसीय कार्यक्रमसहित पुस्तकालय दिवस मनाइने

बागलुङ । विद्यामन्दिर पुस्तकालय, बागलुङले १७औँ राष्ट्रिय पुस्तकालय दिवस मनाउने भएको छ ।शुक्रबार बसेको पुस्तकालय कार्यसमिति र सल्लाहकार परिषद्को संयुक्त बैठकले पाँच दिवसीय कार्यक्रमसहित पुस्तकालय दिवस मनाउने निर्णय गरेको थियो ।

यो वर्ष ‘‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित सो दिवस मनाइँदैछ ।बर्सेनि भदौ १५ गते पुस्तकालय दिवस पर्छ ।

दिवसका अवसरमा भदौ ११ देखि नै विविध कार्यक्रम तय गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ११ गते प्रचारात्मक कार्यक्रमसहित पुस्तकालय परिसर सरसफाइ गरिनेछ ।

१२ र १३ गते विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘सिर्जनशील लेखन कार्यशाला’ आयोजना गरिने भएको छ ।

उक्त कार्यक्रम प्याब्सन, एनप्याब्सन, बागलुङ जेसीज, सदरमुकामस्थित केही सामुदायिक विद्यालयलगायतसँगको सहकार्यमा गरिने भएको पुस्तकालयका अध्यक्ष राम थापाले बताउनु भयो।

कार्यशालाको सहजीकरणका बाल साहित्यकार यशु श्रेष्ठले गर्नु हुने भएको छ।

कार्यशालामा मूलतः कथा, कविता, निबन्ध सहित बालबालिकामा लेखन सीप प्रर्वद्धन, बालबालिकामा बढ्दो मोबाइलको नकारात्मक लत न्यून गर्ने र मोबाइललाई कसरी सिकाइमा उपयोग गर्ने, शिक्षणमा कथावाचनको महत्व, प्रभाव र तरिकाबारे शिक्षकहरूसँग पनि अन्तरक्रिया गरिने भएको छ।

साथै १४ गते बागलुङ नगरपालिकाका माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता र १५ गते मूल समारोह रहेको छ ।

सोही समारोहमा धवलागिरि क्षेत्रमा पुस्तकालयको विकास र व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याउनुभएका धौलागिरि बहुमुखी क्याम्पस र विद्यामन्दिर पुस्तकालमासमेत झण्डै ४० वर्ष योगदान दिनुभएका पुस्तकालय संरक्षक समितिका सदस्य एवं पूर्वअध्यक्ष हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान गर्ने निर्णय भएको छ ।

दिवसकै अवसर पारेर समिति र कार्यालयमा कार्यरत महिला दिदीबहिनीहरूको सम्मानमा शुभकामना आदानप्रदानसहित तीजको दर खाने, दिवसको ब्यानर प्रदर्शन, बालविकास केन्द्रका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण,

खेलौना र स्टेशनरी सामग्री वितरण गर्ने र जिल्ला प्रहरी कार्यालयको हिरासतमा प्रयोग हुने गरी पुस्तकालयका तर्फबाट उपयोगी पुस्तक हस्तान्तरण कार्यक्रम रहेको पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

विसं २००३ सालमा स्थापित विद्यामन्दिर पुस्तकालय देशकै अग्रणीमध्येमा पर्छ । राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ ।

धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक, साँस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ ।

स्थापनाकालमा काठमाडौं उपत्यकाहुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १८ हजार पुस्तक छन् ।

पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्तकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ ।

अहिले पुस्तकालयमा बालबालिकाहरुलाई रमाएर अध्ययन गर्न सहज होस भनि वाल पुस्तकालय स्थापना गर्ने अभियानको पनि सुरुवात भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung