३ श्रावण २०८३, आईतवार

 

बुढानीलकण्ठमा पाँचतारे होटल लेमन ट्री सञ्चालन, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बूढानीलकण्ठमा निर्माण गरिएको पाँचतारे होटल लेमन ट्री प्रिमियरको उद्घाटन गरेका छन्।

प्रधानमन्त्रीले साढे २ अर्बको लगानीमा पाँच वर्षमा निर्माण गरिएको होटल प्रधानमन्त्री ओलीले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको समृद्धि र विकासको यात्रामा होटल क्षेत्रको योगदान रहेको बताए।

पर्यटकलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको उनको भनाइ छ।

‘व्यवसायीले निर्वाध व्यावसायिक काम गर्न सक्नुहुन्छ। काम गर्न कहीँ–कतै नजराना बुझाउनुपर्दैन।

सरकारी निकायमा हुनुपर्ने कामको फाबल रोकिँदैन। कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङका लागि हामीले प्रविधि बनाइसकेका छौं। पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस्। सरकारले गर्नुपर्ने सहरीकरणमा कमी हुने छैन’, प्रधानमन्त्रीले भने।

गत माघ १ मा होटलको सफ्ट लन्च गरिएको थियो। साढे १२ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा छन् तीमध्ये ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन्।

होटल नारायणगोपाल चोकबाट पाँच किलोमिटर दूरीमा रहेको छ ।होटलमा पाहुना सेवालाई लक्षित गरेर छुट्टै सर्भिस लिफ्ट र गेस्ट लिफ्ट जडान गरिएको छ।

होटलमा अल डे डाइनिङ रेस्टुराँ, स्पेसियालियाटी रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एन्ड बार, हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन, स्पा, योगा तथा ध्यान केन्द्र २ वटा बैंक्वेट हल र सुविधा सम्पन्न क्यासिनो छ ।

काठमाडौंको कोलाहलबाट टाढा शान्त वातावरणमा बस्न र समय बिताउन लेमन ट्री प्रिमियर उत्कृष्ठ गन्तव्य बनेको छ।

होटल सञ्चालकमा बाबुकाजी कार्कीसहित डा राजेन्द्र केसी, अम्बिका पौडेल, हरिप्रसाद पाठक, नवराज बुर्लाकोटी, दीपक पाण्डे, जनक भट्ट, दिपेन्द्र श्रेष्ठ र जलेश्वर पाण्डे रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung