४ श्रावण २०८३, सोमबार

 

बागलुङका दुई युवाको भिडियोग्राफीमा विश्व कीर्तिमान

बागलुङ । बागलुङका दुई युवाले  भिडियोग्राफीमा विश्व कीर्तिमान कायम गराउन सफल भएका छन् ।

बागलुङका फोटोग्राफर तथा भिडियोग्राफर सोनाम केसी र सौगात कार्कीले गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् । अग्लो उचाईमा नृत्यको भिडियोग्राफी गरेपछि गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन् ।

गत जेठ ६ गते नेपाली नृत्य निर्देशकद्वय ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुमन तामाङले सोलुखुम्बुको कालापत्थरमा ‘उच्चतम उचाइमा जोडी नृत्य कोरियोग्राफी गरिएको नृत्य’ विधामा आधिकारिक गिनिज बुक अफ दी रेकर्डसमा कायम गरेका थिए ।

उनीहरुले ५ हजार ४३८ मिटरको उचाइमा नृत्य गरेका थिए ।  उक्त विश्व किर्तिमानको भिडियोग्राफी गरेर केसी र कार्कीले उक्त रेकर्डमा नाम लेखाउन सफल भएका हुन् ।

उनीहरु दुवै जनाले विश्व किर्तिमानको प्रमाणपत्र प्राप्त गरेका छन् । केसी काठेखोला गाउँपालिका–२ घरभई हाल बागलुङ नगरपालिका–२ मा बसोबास गर्दै आएका छनभने कार्की बागलुङ नगरपालिका–३ गुठी निवासी हुन् ।

रेकर्ड बनाउने क्रममा दि गोल्ड स्टुडियो बागलुङका सञ्चालक समेत रहेका केसी र काठमाडौंका उमेश सापकोटाले भिडियोग्राफी र फोटोग्राफीमा दि गोल्ड स्टुडियोका सौगात कार्कीले साथ दिएका थिए ।

भिडियोग्राफर केसीले मेहनतले ठूलो सफलताको साझेदार बन्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा झनै राम्रो गर्ने उर्जा मिलेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung