अमेरिकामा वाइल्सलाई प्रभावशाली नेत्री मानिन्छ। देशको इतिहासमा उक्त पदमा पुग्ने उनी प्रथम महिला हुन्।रिपब्लिकन पार्टीका दुई चुनावी व्यवस्थापकमध्येकी एक वाइल्स ट्रम्पले नियुक्त गर्न पाउने पदाधिकारीमध्ये प्रथम व्यक्ति हुन्।
सुजी वाइल्स को हुन्

चुनावी अभियानमा वाइल्सले निभाएको भूमिकाको ट्रम्पले आफू निर्वाचित भएपछिको पहिलो भाषणमा प्रशंसा गरेका थिए।अमेरिकी सञ्चारमाध्यमहरूले सुजीलाई “अरूले निकै कम थाहा पाएका र डर मान्ने ” राजनीतिज्ञ भनेका छन्।
‘पोलिटिको’लाई गत एप्रिलमा दिएको निकै दुर्लभ अन्तर्वार्तामा उनले आफू निकै “परम्परागत पृष्ठभूमिबाट” आएको बताएकी थिइन्।उनले राजनीति सुरु गरेको एक वर्ष पनि नपुग्दै सन् १९८० को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार रोनल्ड रेगनको चुनावी अभियानमा काम गरेकी थिइन्।
सन् २०१० मा उनले राजनीतिबारे निकै कम जानकार रहेका अमेरिकी तत्कालीन व्यवसायी रिक स्कटलाई सात महिनामै फ्लोरिडाको गभर्नर बनाउन महत्त्वपूर्ण भूमिका खेलिन्।स्कट अहिले अमेरिकी माथिल्लो सदनमा सिनेटर छन्।

ट्रम्पसँग उनको भेट सन् २०१५ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार चयन गर्ने प्रक्रियाका क्रममा भयो। उनी फ्लोरिडाको चुनावी अभियानको सह-अध्यक्ष भइन्। ट्रम्पले सन् २०१६ मा उक्त राज्यमा हिलारी क्लिन्टन भन्दा १.६ प्रतिशत धेरै मत ल्याएका थिए।
आफू गभर्नरको उम्मेदवार हुँदा वाइल्सलाई आफ्नो अभियानको नेतृत्व दिएका फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले उनको प्रशंसा गर्दै वाइल्सलाई यो “कामका लागि सबैभन्दा उत्कृष्ट” भनेका थिए।
चीफ अफ स्टाफको भूमिका के हुन्छ

ट्रम्पले नयाँ टोली बनाइरहेको फ्लोरिडामा रहेका बीबीसी संवाददाताका अनुसार वाइल्सले ह्वाइट हाउसमा प्रमुख नीति र दैनिक गतिविधि हेर्ने भूमिका पाउने छिन्।अमेरिकी राष्ट्रपतिको प्रशासनमा चीफ अफ स्टाफको उल्लेख्य भूमिका रहने गर्छ।
उनीहरूको सबैभन्दा प्रमुख जिम्मेवारी ह्वाइट हाउसको व्यवस्थापकको हो। राष्ट्रपतिको सचिवालयका कर्मचारीहरूको नेतृत्व पनि चीफ अफ स्टाफले गर्छन्।कार्यकारी अधिकार हुने राष्ट्रपति कार्यालयका अन्य कर्मचारीहरूका गतिविधि र सञ्चालनको रेखदेख गर्ने चीफ अफ स्टाफले राष्ट्रपतिलाई नीतिगत विषयमा सल्लाह र नीतिनिर्माणमा मार्गदर्शन पनि गर्ने हैसियत राख्छन्।
ट्रम्पले अरू कसलाई नियुक्त गर्लान्
बाइडनबाट ट्रम्पलाई हुने सत्ता हस्तान्तरणमा सघाउन गठित ट्रम्पको समूहले नयाँ प्रशासनमा कसलाई नियुक्त गर्ने भनेर विचार गर्न थालिसकेको छ।
ट्रम्पको पहिलो कार्यकालमा काम गरेका धेरै व्यक्तिहरूले यसपालि रुचि देखाएका छैनन्। तर ट्रम्पसँग निकट रहेका केही व्यक्तिहरूले भने पुनः ह्वाइट हाउसमा स्थान पाउने चर्चा चलेको छ।
यसपालि ट्रम्पले नयाँ व्यक्तिहरूलाई आफ्नो सरकार, ह्वाइट हाउसका महत्त्वपूर्ण पद र अन्य सरकारी पदमा नियुक्त गर्ने सक्ने देखिन्छ।तीमध्ये रोबर्ट एफ केनडी जूनिअर, इलोन मस्क, माइक पोम्पिओ, रिचर्ड ग्रेनल, क्यारोलिन लीअभिट र टम होमनको नाम अगाडि देखिएको छ।

रोबर्ट एफ केनडी जूनिअर पर्यावरण वकिल हुन्। उनी रिपब्लिकन पूर्वराष्ट्रपति जोन एफ केनडीका भतिजा हुन्। विगतका दुई वर्षमा उनको राजनीतिक जीवनमा निकै उथलपुथल देखियो।
उनले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदमा उठ्ने प्रयास गरेका थिए। तर उनको परिवार जो बाइडनको पक्षमा उभियो।
त्यसपछि उनी स्वतन्त्र उम्मेदवार बने। तर विभिन्न विवादका माझ प्रतिस्पर्धाबाट बाहिरिँदै उनले डोनल्ड ट्रम्पलाई सघाउने घोषणा गरे।ट्रम्पले केनेडीलाई जनस्वास्थ्यको क्षेत्रमा भूमिका दिने वाचा गरेका छन्।

विश्वका सर्वाधिक धनी व्यक्ति इलोन मस्कले खुलेरै ट्रम्पलाई सघाए। ट्रम्पको निर्वाचन प्रचारप्रसारमा संलग्न हुनेमध्ये मस्क सर्वाधिक चिनिएका व्यक्ति थिए।
उनी स्पेसएक्स तथा एक्स कम्पनीका प्रमुख हुन्।ट्रम्प र मस्क दुवैले मस्कले “डिपार्टमन्ट अफ गभर्न्मन्ट इफिशन्सी” को नेतृत्व पाउने बताएका छन्। उक्त नयाँ निकायले सरकारको खर्च कटौती, नियमावलीहरूमा सुधार र “निसास्सिने खालको विशाल कर्मचारीतन्त्र”लाई चुस्त बताउने बताइएको छ।

माइक पोम्पिओ कन्सासबाट सांसद निर्वाचित भएका छन्। उनी अमेरिकी सङ्घीय गुप्तचर निकाय सीआईएका पूर्वप्रमुख हुन्। उनी ट्रम्पको पहिलो कार्यकालमा विदेशमन्त्री पनि थिए।
उनलाई विदेशनीतिमा धुरन्धर मानिन्छ। उनी इजरेलका प्रखर समर्थक हुन्। इजरेलस्थित अमेरिकी दूतावासलाई तेल अभिभबाट जेरुसलेम सार्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

ट्रम्प राष्ट्रपति हुँदा रिचर्ड ग्रेनल जर्मनीका लागि राजदूत र बाल्कन क्षेत्रका लागि विशेषदूत थिए। उनी राष्ट्रिय गुप्तचर निकायका कार्यवाहक प्रमुख पनि बने।सन् २०२० मा नभाडा राज्यमा ट्रम्प पराजित हुँदा उक्त परिणामलाई उल्ट्याउने प्रयासमा ग्रेनल धेरै खटेका थिए।
केही महिनाअघि उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गोप्य वार्ता गरेका थिए। ट्रम्पले आफू राष्ट्रपति बने युक्रेन युद्ध तत्काल अन्त्य गराउने बताउँदै आएका छन्।ग्रेनलले विदेश मन्त्रालय वा राष्ट्रिय सुरक्षा सल्लाहकारको पदमा नियुक्ति पाउन सक्ने ठानिएको छ।
बाइडनको वाचा
त्यसअघि राष्ट्रपति जो बाइडनले ट्रम्प निर्वाचित भएपछि पहिलो सार्वजनिक मन्तव्य दिँदै शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने वाचा गरेका थिए।अमेरिकी प्रजातन्त्रको प्रशंसा गर्दै बाइडनले राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाई पनि दिएका छन्।

“देशले एक जना वा अर्कोलाई छान्छ। हामीले देशको छनोट स्वीकार गर्नुपर्छ। आफूले जित्दा मात्रै तपाईँले देशलाई माया गर्ने भन्ने हुँदैन, तपाईँ सहमत हुँदा मात्रै छिमेकीलाई माया गर्ने भन्ने हुँदैन,” उनले भने।
उनले निर्वाचनमा पराजित ह्यारिससँग पनि आफूले टेलिफोनमा संवाद गरेको भन्दै ह्यारिसको “प्रेरणादायी चुनावी अभियान”को प्रशंसा गरे।बाइडनको कार्यकाल अब ७४ दिन बाँकी छ। उनले हरेक दिन उल्लेख्य बनाउने बताएका छन्।
बीबीसीनेपालीबाट













































































































































































































