बागलुङ । उद्योग दिवसको अवसरमा पर्यटन तथा उदोग कार्यालय बागलुङले सात जना उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । १० औँ राष्ट्रिय उद्योग दिवसको अवसरमा घरेलु तथा मझौला उद्यमीलाई सम्मान गरेको हो ।
पर्यटन तथा उद्योग कार्यालय बागलुङले सलाई कटाई, घरबास, मौरीपालन, कोशेली घर, कालिज उत्पादन, दुनाटपरी उत्पादन, फूल खेती लगायतको विद्याका सात उद्यमीलाई सम्मान गरेको हो ।
उद्यम स्थापना पश्चात रोजगारी, बजारीकरण लगायतको क्षेत्रमा फरक पहिचान बनाउन सफल उद्यमीलाई सम्मान गरिएको कार्यालय प्रमुख पारसिंह थापाले जानकारी दिनुभयो ।
सम्मानित हुनेमा लामो समयदेखि मौरीपालन व्यवसाय गरेर ख्याती कमाएका जैमिनी नगरपालिका ७ का मोहराज शर्मा, ढोरपाटन नगरपालिकामा सानो स्वर्ग काजिज फर्म संचालन गरेका चुडामणी कँडेल, बागलुङ कोसेली घर संचालक उद्योग वाणिज्य संघ, ऋषिका नर्सरीका संचालक भुवन बोहोरा, सिलाई क्षेत्रमा सक्रिय मंगोलियन लेडिज टेलर्सकी प्रोपाइटर प्रेमकुमारी श्रीष, उद्यमशिल दुना टपरी उद्योगका अध्यक्ष बलकुमारी पुन र अतिथि सत्कार होमस्टेका संचालक उमेश सर्बुजालाई सम्मान गरिएको हो ।
उद्यमीलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले सम्मानपत्रले सम्मान गर्नुभएको थियो । उद्यमी प्रोत्साहन कार्यक्रम गत वर्षदेखि गरिदै आइएको छ । गत वर्ष उत्कृष्ट छ उद्यमीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख राजु खड्काले एमीका लागि पालिकाले लचिलो नीति लिएको बताउनुभयो । उहाँले दीर्घकालिन सोच राखेर स्थापना गरेका उद्यम राम्रो चल्ने बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल र सम्मानित प्रेमकुमारी श्रीषले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पारसिंह थापा मगरको अध्यक्षता, शाखा अधिकृत विष्णुनाथ शर्माको स्वागत र वद्रीनाथ गौतमको संचालनमा सम्पन्न भएको थियो ।













































































































































































































