बागलुङ । म्याग्दीको सदरमुकाम बेनीमा आगामी पुष २८ गतेदेखि आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला हुने भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघले आइतबार बेनीमा पत्रकार सम्मेलनको आयोजना गरेर पुस २८ देखि माघ ८ गतेसम्म १० दिन महोत्सव गर्ने जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला–२०८१ हुने जानकारी गराइएको थियो ।
स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र व्यापार प्रर्वद्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको म्याग्दी महोत्सवका मुल संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा खुल्ला लोक तथा दोहोरी गीत प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल तथा खुल्ला महिला भलिबल, गण्डकी प्रदेश भित्रका वडा स्तरीय बास्केटबल प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, पुख्र्यौली नाच प्रतियोगिता, म्याग्दी आइडल एकल लोक नृत्य प्रतियोगिता, जातजाति, जनजातिको झाँकी प्रतियोगितासमेत रहेको छ ।
त्यस्तै महिला पुरुष छेलो हान्ने प्रतियोगिता, महिला पुरुष लाठो तान्ने प्रतियोगिता पनि महोत्सवको अवारमा हुने म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण घर्ती क्षत्रीले बताउनुभयो ।
महोत्सवको अवसरमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपैयाँ खर्च भएर म्याग्दी उद्योग वाणिज्य संघलाई पाँच लाख १० हजार ८६ रुपैयाँ बचत गर्ने लक्ष्य लिएको कोषाध्यक्ष सुमन श्रेष्ठले बताए। महोत्सवको समयमा म्याग्दी क्षेत्र भित्र १० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ ।
महोत्सव सफल बनाउन ३७ वटा उपसमिति समेत गठन गरिएको छ ।
महोत्सवमा २१० वटा व्यवसायिक स्टल राखिने भएको छ । स्थानीय उत्पादनलाई विक्री र प्रचारप्रसार गर्नका लागि निशुल्क स्टलको व्यवस्था गरिएको छ ।
जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०५७ सालदेखि प्रत्येक ३-३ वर्षमा संघले महोत्सव गर्दै आएको छ ।
महोत्सवलाई सफल बनाउन संघ, जिल्ला समन्वय समिति, ६ वटा स्थानीय तह लगायतको सहकार्य गरिने भएको छ ।
नागरिकबाट













































































































































































































