१५ बैशाख २०८२, सोमबार

 

इतिहास बोकेको विद्यामन्दिर पुस्तकालयसँगसँगै यात्रा गर्दा

विद्यामन्दिर पुस्तकालय म श्याम दाई, विकास शाक्य दाईको पालामा सहभागि भए कि मुकेश शाक्य दाईका पालामा अहिले मैले बिर्सें । म २०४६ सालभन्दा अघि देखि नै पुस्तकालयमा जाने गर्थे ।

त्यति बेला शेखरचन्द्र श्रेष्ठ, ताराप्रसाद श्रेष्ठ, भाष्कर राजभण्डारीसँग पुस्तकालमा हुने कार्यक्रम हेर्न जान्थे । त्यति बेला कार्यसमिति र उपसमितिका सबै सदस्यहरुले स्वंयसेवा गर्ने परम्परा थियो । पालो गरेर दिनको दुई तीन घण्टा खोल्ने चलन थियो ।

प्रत्येक दिन पुस्तकालय कुचोले सफा गर्ने, हप्ता, महिनाको एक चोटी लिप्ने, वर्षको एक चोटी दशैको विदा पारेर पुस्तक रुजु गर्ने चलन थियो । पुस्तकालय सञ्चालन गर्न, नयाँ पुस्तक र पत्रिका किन्न सहज होस भनेर वर्षको एक चोटी मुठ्ठी दान गरेर पैसा जुटाउने गरिथ्यो ।

कपडामा झोलि थापेर बागलुङ बजारको टोलटोलमा गएर पुस्तकालयका लागि आर्थिक संकलन गर्ने गरिथ्यो । धेरैले निस्वार्थ भावले पुस्तकालयलाई आर्थिक वा भौतिक सहयोग गर्नु हुन्थ्यो । कसैले फर्निचर, कसैले घडि, कसैले पैसा त कसैले पुस्तक सहयोग गर्नु हुन्थ्यो ।

त्यति बेला पत्रिका खरीद गर्न पैसा नभएर साथीहरुले वार्षिक ग्राहक शुल्क तिर्ने गर्नु हुन्थ्यो । राणा कालदेखि, पञ्चायत कालसम्म र २०४७ सालको परिवर्तनदेखि अहिलेसम्म पुस्तकालय ज्ञान, शिक्षा र सूचना लिने एक मात्र थलो थियो धौलागिरि क्षेत्रको ।

ऋग्वेदमा भनिएको छ, संसारको सर्वश्रेष्ठ दान भनेको ज्ञान दान हो । किनकी ज्ञानदानमात्र एउटा त्यस्तो ज्ञान हो, जसलाई न त कसैले चोर्न सक्छ, न त कसैले नष्ट नै गर्नसक्छ । बरु जति बढि पुस्तक र पत्रपत्रिकाको अध्ययन ग-यो उति नै बढ्दै जाने र मानिसहरु सुसंस्कृत र जिम्मेवार बुद्धिजिवी उत्पादन हुने ।

समाजमा प्रश्न गर्ने, विश्लेषण, संस्लेषण गर्ने, कल्पना गर्ने, समाधान खोज्ने जवाफदेही अर्गानिक बुद्धिजिवी त्यति कै उत्पादन हुन सक्दैन । त्यसको लागि जिम्मेवारी, छलफल, अध्ययन, बहस, विमर्श र तर्कको लामो श्रृखला चाहिन्छ । यो कार्य विद्यामन्दिर पुस्तकालय गर्ने गथ्र्यो ।

पुस्तकालयमा साहित्य गोष्ठी, विचार गोष्ठी, नाटक र वैचारिक कक्षा सञ्चालन हुने गथ्र्याे । त्यति बेला पुस्तकालयको भवन साह्रै जिर्ण थियो ।

बागलुङ बजारको भुपी चोकमा रहेको मुस्ताङ जानको लागि तिर्थ यात्री बस्ने ठाँटीमा पुस्तकालय विद्यामन्दिर माध्यमिक विद्यालयबाट तत्कालिन प्रधानपञ्च तथा पूर्वअध्यक्ष टोपबहादुर विजुच्छेले विसं २०२८ मंसिर एक गते सार्नु भएको थियो ।

यो पुस्तकालय विद्यामन्दिर माविबाट सार्दा विद्यालय र पुस्तकालयका संस्थापक ओमप्रसाद गौचन रिसाउनु भएको थियो रे ।

पुस्तकालय सञ्चालनमा गाह्रो भएपछि हरिहर गुरुको आग्रहमा पुष्पमान श्रेष्ठ अंकलले काठमाडौंमा बसोबास गर्ने बागलुङका शिक्षासेवी र अन्य समाजसेवीहरुलाई जुटाएर ढुकुटी बनाएर पुस्तकालयलाई विसं २०४२ सालमा दुई लाखको अक्षय कोष बनाई दिनु भएको थियो ।

यसमा आठ जनाले २५ हजारको दरले पुस्तकालयलाई योगदान गर्नु भएको थियो । यो नै पुस्तकालयको जिवनमा पहिलो कोष थियो ।

विसं २०६३ सालमा उत्तम प्रसाद श्रेष्ठ दाई अध्यक्ष भएको पालामा पनि वीर गणेशमान फिल्म देखाएर अर्थ संकलन गर्नु भएको थियो ।

पुस्तकालय अगाडिको लल्लरि राजभण्डारी बाजेको घरमा आगलागी हुँदा हामी सबै मिलेर पुस्तकालयका पुस्तकहरु र दस्वावेज पुस्तकालयबाट निकालेर बारीमा फालेका थियौ । तर समयमै आगो निभाउन सफल भएकोले पुस्तकालयमा क्षेति हुन पाएन ।

विसं १९९७ सालमा घरेलु उद्योग विद्यामन्दिर बागलुङ नगरपालिका ३ राधाकृष्ण टोलमा सञ्चालनमा ल्याउन यसका संस्थापक ओमप्रसाद गौचन, मेघ कुमार वैद्य र उहाँको समकालिन साथीहरुले ठूलो साथ दिएका थिए ।

राणा कालमा विद्यालय खोल्ने र त्यहि विद्यालय भित्र विसं २००३ सालमा भारतको बनारसबाट खच्चडमा पुस्तक बोकाएर पुस्तकालय खोल्नु चानचुने कुरा थिएन । यो साह्रै जोखिम र साहसको काम थियो ।

विद्यालयभित्र एउटा कोठामा पुस्तकालय एउटा कोठामा संगीत कक्ष थियो । पछि गृह विज्ञानको पनि पढाई हुन थाल्यो ।

एक जना विद्यार्थीलाई एकातिर शिक्षा, अर्को तिर पुस्तकालयमार्फत विवेकशिल, कला र साहित्यमार्फत सुसंस्कार र घरेलु इलम मार्फत घरेलु सिप सिकाएर श्रम बजारमा काम गरेर खान सक्ने असल दक्ष जनशक्ति उत्पादन गर्ने उहाँको चिन्तन र योजनाको साकार रुप थियो विद्यामन्दिर माध्यमिक विद्यालय ।

ओम प्रसाद गौचन महात्मा गान्धीले नेतृत्व गरेको भारतीय स्वतन्त्रता संग्रहबाट अति नै प्रभावित हुनु हुन्थ्यो । सादा जिवन र उच्च चरित्रका धनी थिए उहाँ ।

उहाँलाई वीपि, गणेश मान र सुवर्ण शम्शेरले पठाएको चिठी अहिले पनि उहाँको आत्मकथामा पढ्न सक्छौं । आफ्नो नारायण चोकको पसलमा रक्सि, चुरोट, खैनी र बिँडी बेच्नु हुन्न थियो बुबाले भन्नु भएको । उहाँले सामानमा दश, प्रन्ध्र प्रतिशतभन्दा बढि नाफा लिनु हुन्थ्यो ।

विसं १९६९ मंसिरमा मुस्ताङको झुमा गाउँमा जन्मनु भएका ओमप्रसाद गौचन र विसं १९५७ सालमा नेपालगञ्जमा जन्मनु भएका मेघ कुमार वैद्य विसं १९८० सालमा बागलुङमा आउनु भएको थियो ।

विसं २०२१ सालदेखि तत्कालिन अध्यक्ष देवेन्द्र राज अधिकारीको पालमा घुम्टी पुस्तकालय सञ्चालनमा ल्याउनु भएको थियो । यो त्यति बेलाको अत्याधुनिक सेवा थियो ।

यस सेवाबाट कारागारका बन्दीहरु, घरबाट निस्कन नपाउने महिला तथा व्यवसायीहरुले सहज ढंगले घरकै दैलोमा पुस्तक पाउन थाले । यसबाट धेरैले पुस्तक पढ्न अवसर प्राप्त गरेका थिए ।

त्यति बेला ज्ञानको ज्योति फैलाउन र नागरिकलाई शिक्षित बनाउन उल्लेख्य भूमिका खेलेको थियो । विसं २०३७ सालतिर ऋषिराम सापकोटा, भरत शाक्य, ध्रुव श्रेष्ठले पुस्तकालयमा विद्यार्थीहरुलाई ट्युसन पढाउनु हुन्थ्यो ।

विद्यामन्दिर पुस्तकालयको इतिहासमा दुई जना महिला मात्र अध्यक्ष भएका छन् । विश्व ज्योति गौचन र गंगा देवी कसजु । विसं २०२५ सालमा गंगा देवी कसजु अध्यक्षको कार्यकालमा पुस्तकालयले साहित्यकार गोपाल प्रसाद रिमालको मसान नाटक मञ्चन गरेको थियो ।

वैकुण्ठ विजुक्छेको निर्देशनमा कालिका कन्या माविमा यो नाटक पुस्तकालयको सहयोगार्थ प्रदर्शन भएको थियो ।

त्यति बेला नाटक मञ्चनबाट २२ सय आम्दानी भएको थियो । त्यस बेलामा यो ठूलो रकम थियो । मसान नाटकमा बागलुङमा पहिलो चोटी पुरुष र महिला कलाकारले आफ्नो भूमिकामा सँगै नाटक खेलेका थिए । त्यसभन्दा अगाडि नाटकहरुमा पुरुष मात्र कि महिला मात्र खेल्ने चलन थियो ।

सामाजिक बन्धनका कारण महिलाहरुले पुरुष कलाकारले भाग लिएको नाटकमा खेल्न पाउदैन थिए । मसान नाटकमा नायकमा शत्रुधन श्रेष्ठ र नायिकमा चन्द्रकुमारी श्रेष्ठ र गंगा देवी राजभण्डारीले भाग लिएका थिए ।

गंगा देवीका अनुसार त्यस जुगमा नाटक खेल्न अनुमती प्राप्त गर्न किनारा टोलको मूल घरमा तेजबहादुर राजभण्डारी, पृथ्वी बहादुर राजभण्डारी, टिकाबहादुर राजभण्डारी र भिमबहादुर राजभण्डारीसँग निर्देशक विजक्क्षेले बैठक बसेर छोरी गंगा देवीको जिम्मा लिएका थिए भने छोरी गंगाले कसैसँग प्रेम नगर्ने र बुबा र दाजुहरुले खोजेको जिल्ला बाहिरको आफ्नै थरका केटासँग विवाह गर्ने वचन दिएकी थिइन ।

त्यति बेला छोरीहरुले एसएलसी दिन पाल्पा जानु पथ्र्यो । पाल्पा परीक्षा दिन जान दाजु भाईहरुले छोड्न जाने, लिन जाने गरिन्थ्यो । बाटोमा खान पकाएर खुवाउन पनि बाहुनी पठाउनु हुन्थ्यो घरका बाजेहरुले ।

विसं २०३१ सालमा चन्द्र नृसिंह राजभण्डारी पुस्तकालयको अध्यक्ष हुँदा उहाँले पुस्तकालयमा लेनिनको ४५ वटा भोलमको पुस्तक सिरिज राख्न र चर्चित दार्शनिक, चिन्तक, साहित्यकार र वैज्ञानिकका बहुमूल्य पुस्तकहरु पुस्तकालयमा राख्नु भएको थियो ।

उहाँको पालामा झिल्का पत्रिका प्रकाशन गर्नु भएको थियो । अमेरिकी, सोभियत संघ, जर्मनी, चीन र इजरायलका दुतावासमा सम्पर्क गरेर पत्रिका र पुस्तकहरु पुस्तकालयमा भित्राउने काम पनि उहाँको पालामा भएको थियो ।

उहाँले पञ्चायत कालमा कालिको छाल प्रगतिशिल साहित्यीक पत्रिकाको सम्पादक भएर भाषा, साहित्य र पञ्चायत विरोधी आन्दोलनमा योगदान दिनु भएको थियो ।

राजभण्डारीले राम स्वरुप वर्माद्धारा लिखित माक्र्सवादको मूल सिद्धान्त पुस्तकलाई नेपाली भाषामा अनुवाद गरेर मार्क्सवादको वैचारिक प्रचारमा उल्लेख्य भूमिका खेल्नु भएको थियो ।

म विसं २०६० सालमा पुस्तकालयको अध्यक्ष भएपछि रिड नेपालसँग सम्झौता गरेर पुस्तकालयको आधुनिक भवन बनाउने कार्यको थालनी भएको थियो ।

भवन निर्माणको लागि साहित्यकार प्रेम छोटाले आमाको स्मृतिमा विसं २०३७ सालमा खोल्नु भएको रत्न श्रेष्ठ पुरस्कार पुस्तकालयसँग विद्यामन्दिर पुस्तकालयको एकता गरेर रत्न श्रेष्ठ पुस्तकालको अस्तित्व र उद्देश्य कायम रहने गरी विद्यामन्दिर पुस्तकालयको सहायक अंगको रुपमा विसं २०५९ साल फागुण १६ गते समाहित गरिएको थियो ।

म तत्कालिन माओवादी पार्टीसँग नजिक भएकोले भवन बनाउने सामान दिन धेरै जना डराउने गर्थे । सेनाले मलाई पक्राउ गरेर लग्यो भने सामानको भुक्तानी पाइदैन कि भनेर ।

त्यस बेला पहिलो संकटकालमा म १६ महिना भुमिगत भएको थिए त्यस बेला गगन लाल शाक्य दाईले कार्यवाहक अध्यक्षको भूमिका कुशलता पूर्वक सम्हाल्नु भएको थियो ।

सबैको सहयोगमा विद्यामन्दिर पुस्तकालयको नयाँ भवन विसं २०६१ साल कार्तिक १२ गते विहीबारको दिन ग्रामीण शिक्षा तथा विकास रिड संस्थाका अध्यक्ष डा. एन्टोनिया न्यूवरले उद्घाटन गर्नु भएको थियो ।

भवन निर्माणको समितिको म अध्यक्ष हाम्रो पुस्तकालयको प्रधान संरक्षक ओमकार गौचन लुम्बिनी विकास कोषको उपाध्यक्ष र उपत्यका संयोजक पुष्पमान श्रेष्ठ अंकल बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको अध्यक्ष हुनु हुन्थ्यो ।

उहाँलाई उहाँका मित्र तथा समाजका सचिव सुमन शाक्यले राम्रो साथ दिएका थिए । हामीले पुस्तकालय भवन निर्माणको लागि बागलुङ, पोखरा, काठमाडौ, बुटवलदेखि विदेशमा बस्नु हुने बागलुङे र शिक्षाप्रेमीहरुसँग सहयोग संकलन गरेका थियौं ।

भवन निर्माण समितिले एक ढलना गरेर फोटो र सबै डकुमेन्ट रिडमा पठाएपछि सम्झौता अनुसार रिड नेपालले पैसा पठाई दिन्थ्यो ।

मैले त्यति बेला उपप्रधान संरक्षक परशुराम श्रेष्ठ, पुस्तकाध्यक्ष तथा पूर्वअध्यक्ष हरिहर श्रेष्ठ र भवन निर्माण समितिका उपाध्यक्ष प्रेम छोटाबिच सन्तुलन मिलाउन मैले समिति र भवन निर्माण समितिमा काजि गाउँले श्रेष्ठ र इश्वर मलेपती दाईलाई ल्याएको थिए भने भवन निर्माणको हिसाब किताब चुस्त र पारदर्शि गराउन उत्तम प्रसाद श्रेष्ठलाई लेखापाल नियुक्त गरेको थिए ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रेम नारायण शर्माले पुस्तकालयको भवन निर्माणको लागि बागलुङमा भित्रिने सामानहरु बाङगेचौर ढाड राख्न दिएर सहयोग उठाएका थियौं ।

साथै उहाँले विदेशमा जाने नागरिकहरुले जिल्ला प्रशासन कार्यालय बागलुङमा पासपोर्ट बनाउदा तत्कालिन महेन्द्र बहुमुखी क्याम्पस हाल धौलागिरि बहुमुखी क्याम्पसमा समाजशास्त्र कक्षा सञ्चालन गर्न सहयोग उठाउने गरिन्थ्यो ।

त्यसको संयोजक तत्कालिन नगर प्रमुख ऋषिराम सापकोटा हुनु हुन्थ्यो । प्रमुख जिल्ला अधिकारी शर्माले क्याम्पसबाट विद्यामन्दिर पुस्तकालयको भवन निर्माणको लागि दुई लाख दिन पत्र नै मलाई दिनु भएको थियो ।

त्यसरी पुस्तकालयको भवन निर्माणको लागि धेरै ठाउँहरुबाट सहयोग जुटाएका थियौं । श्यामप्रसाद श्रेष्ठका परिवारले पनि बुबा श्यामप्रसाद श्रेष्ठ र आमाहरु गोमकुमारी र भुवनेश्वरी श्रेष्ठको सम्झनामा आर्थिक सहयोग गर्न खोज्नु भएको रहेछ ।

ओमकार गौचनले पुस्तकालयलाई नै सहयोग गर्नु भनेपछि म सहयोग लिन काठमाडौं गएको थिए । काका र काकीहरुको पुण्य तिथिको दिन मलाई दीपक दाई र प्रकाश दाईले मेरो हातमा एक लाख राखिदिनु भएको थियो ।

पुस्तकालयको लागि हामीले काठमाडौंबाट फर्निचर, साउण्ड सिष्टम र अन्य सामान पनि खरीद गरेका थिए । गोल्छा कम्पन्नीको राउण्ड टेबल ५० हजारभन्दा बढिमा थापाथली सो रुमबाट किनेका थियौं ।

त्यति धेरै रकम तिरेर टेबल किन्ने पक्षमा प्रेम छोटा काका हुनु हुन्नथ्यो । पछि उहाँलाई मैले मनाए । काठमाडौंमा हामीले उपत्यका आर्थिक संयोजक पुष्पमान काकाको नेतृत्वमा आर्थिक सहयोग संकलन गरेका थियौ ।

त्यति बेला पुष्पमान अंकल भवन निर्माणको लागि विस हजार, प्रेरणा दिदीले बेलायतबाट पन्ध्र हजार र हाम्रो परिवारले दश हजार राखेका थियौं । त्यसबाट बागलुङ बजारमा हामीले महेन्द्र खड्का दाईले मात्र भवनमा आलमुनियमको झ्याल राखेका थियौं ।

भवनमा आलमुनियमको झ्याल जयकार दाईले पठाई दिनुभयो । कति पैसा लाग्यो भनि मैले सोध्दा ओमकार ठूलो बुबाले पैसा दिनु पर्दैन हाम्रो परिवारको तर्फबाट सहयोग राख्नु छ भन्नु भयो ।

धेरैले उहाँले आर्थिक सहयोग राख्नु हुन्न भन्थ्यो तर मलाई त्यस कुरामा विश्वास थिएन । उहाँले ओमप्रसाद गौचनको स्मृतिमा आमा मोहन कुमारी गौचन र छोरा ओमकार गौचन र गौचन परिवारको तर्फबाट एक लाख ५१ हजार राख्नु भएको थियो ।

उहाँको प्राण पुस्तकालय र विद्यामन्दिर माविमा थियो । यो दुई संस्थाप्रति उहाँको लगाव र प्रेम देख्दा म आश्चर्य हुन्थे ।पुस्तकालय वामपन्थी साथीहरुले सञ्चालन गरि रहेको थियो तर उहाँले कहिले पनि त्यस कुरामा आपत्ति जनाउनु भएन ।

पुस्तकालयको समितिमा बसेदेखि उहाँसँग मेरो अन्तरङ्ग संम्बन्ध बस्यो । भवन निर्माणपछि त्यो अझ गाढा भयो । उहाँको मृत्युले मलाई ठूलो झट्का दियो ।

उहाँको शोक सभा राख्नु पर्छ भनेर पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र पुष्पमान अंकलले भन्नु भयो तर धेरैले त्यस कुरामा चासो नलिएपछि हामीले नयाँ विश्व पत्रिकालाई आयोजक बनाएर काठमाडौंको जमलमा होटलमा गौचनको स्मृतिमा सभा आयोजना गरेका थियौं ।

यो हामी सबैको तर्फबाट गौचन प्रति भावपूर्ण श्रद्धा सुमन थियो ।

पुस्तकालय मेरो बौद्धिक साथि हो । मैले घर, विद्यालय र क्याम्पसमा पढ्न नपाएको धेरै कुराको जानकारी पुस्तकालयमा पाए । इतिहासको विरासत बोकेको पुस्तकालयसँग सँगै यात्रा गर्न पाउँदा मैले बागलुङको र समग्र धौलागिरिको शिक्षा, राजनीति, साँस्कृतिक, उद्योग, व्यापार र सामाजिक विषयमा धेरै कुरा थाहा पाए ।

यी कुराहरु शिक्षक, प्राध्यापक, विद्यार्थी र नयाँ पुस्तालाई थाहा दिन पाए हाम्रो लोभलाग्दो विगतबाट सबैले लाभ लिने थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung