३ श्रावण २०८३, आईतवार

 

कालीगण्डकी नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ

बागलुङ । कालीगण्डकी नदीमा अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राती साढे १० बजे बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीस्थित कालीगण्डकी नदी किनारमा माछा मारिरहेको अवस्थामा पर्वतको जलजला गाउँपालिका वडा नं.८ का ३४ वर्षिय गोकुल गौतम, सोही ठाउँका ३० वर्षिय किस्मत पुन, ३७ वर्षिय दिल बहादुर मगर र वडा नं. ७ का आर्यन शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको साथबाट प्रहरीले माछा मार्न प्रयोग गरिएको १२ भोल्टको व्याट्री, सेतो तार बेरिएको आल्मुनियमको स्ट्रिक दुई थान, जालीसहितको कुँडुलो दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुलाई जलचर संरक्षण ऐन, २०१७ अन्तर्गतको कसूरमा कारवाहीका लागि सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङमा पठाईएको छ ।

जलचर संरक्षण ऐन अनुसार समात्ने वा मार्ने अभिप्रायले जानि जानि जलमा वा त्यसको आसपासमा कुनै किसिमको विद्युतिय धार, विष्फोटक पदार्थ वा विशालु पदार्थको प्रयोग गर्नु हुदैन भन्ने व्यवस्था रहेकाले कोही–कसैले माछा मार्ने उदेश्यले खोला नदीमा करेन्ट नलगाउन समेत प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung