१९ जेष्ठ २०८३, मंगलवार

 

चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो

बागलुङ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । बागलुङ तथा जिल्ला बाहिरबाट आउने भक्तजनका लागि बिहानै ४ बजेदेखि मन्दिर खुला गरेपछि भक्तजनको घुइँचो लागेको हो ।

बागलुङमा चैते दसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । चैते दसैँका अवसरमा भारतीय पर्यटकको पनि उल्लेख्य उपस्थिति छ । चैते दसैँलाई बागलुङको पहिचानका रूपमा समेत लिइन्छ ।

भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको बागलुङ कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपिठ मानिने कालिका मन्दिरमा पूजाआराधना गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास छ ।

मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । चैते दसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत २० गतेदेखि सुरु भएको छ ।

मेला २५ गतेसम्म सञ्चालन हुने अध्यक्ष खड्काले बताए । मेलाको अवसरमा लोकदोहोरी गीत प्रतियोगिता, कालिका कप पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ ।

पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष खड्काको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung