
काठमाडौँ। विश्व बजारमा सुनको भाउ घट्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अधिकांश व्यापार साझेदारमाथि भटाभट अतिरिक्त भन्सार महसुल लगाइरहँदा महँगी बढ्ने र अर्थतन्त्र मन्दीमा जाने चिन्ताबिच सुनको माग बढेर भाउ पनि बढ्नुपर्ने थियो ।
आर्थिक मन्दी वा भू-राजनीतिक संकटको समयमा सुनलाई महँगीविरुद्ध हेजिङुका रूपमा हेरिन्छ । यस्तो वेलामा सेफ हेभन एसेट सुनको माग निकै बढ्ने र भाउ पनि आकासिने गरेको छ ।
तर यतिवेला सुनको भाउमा अनौठो देखिएको छ । विश्व अर्थतन्त्र मन्दीमा भाँसिने सम्भावना बढिरहेको भए पनि सुनको भाउ भने घटिरहेको छ । पछिल्लो चार दिनको कारोबारमा विश्व बजारमा सुनको भाउ ओरालो लागिरहेको छ । सोमबार विश्व बजारमा सुनको भाउ शून्य दशमलव ३ प्रतिशतले घटेर प्रतिऔंस ३ हजार २७ डलर ९० सेन्टमा झरेको थियो । यो मार्च १३ यताकै न्यून थियो ।
के भन्छन् नेपाली विश्लेषक ?
अघिल्लो दिन नेपाली बजारमा तोलामा १ लाख ७३ हजार ८०० रूपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघ पूर्वअध्यक्ष मणिक रत्न शाक्यले पछिल्लो समय अमेरिकाले लिएको आर्थिक रूपमा अस्थिर नीतिका कारण बजारमा सुनको भाउ घटिरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको अस्थिर आर्थिक नीतिका कारण विश्वका बजारमा प्रभाव परेको यसै कारण नेपाली बजारमा पनि सुनको भाउ प्रभावित भएको उनले बताए । ट्रम्पले विश्वभर विभिन्न देशबाट आयात हुने वस्तुमा अतिरिक्त भन्सार महसुलको वृद्धिको घोषणा गरेपछि यसको प्रभाव सुनमा पर्दा भाउ घटेको हो ।
‘पछिल्लो समय बजारमा सुनको भाउ भारी मात्रामा घटेर तोलाकै एक लाख रूपैयाँमा आउने हल्ला छ । तर त्यस्तो हुँदैन । यो हल्ला मात्र हो । बरु बढ्ने सम्भावना धेरै छ,’ रातोपाटीसँगको कुराकानीमा उनले भने । ‘सुनको भाउ सधैँ बढिराख्छ भन्ने हुँदैन । बढ्दै घट्दै गर्छ, यसको भाउमा उतारचढाव भइरहन्छ,’ उनले थपे ।
आथिक मन्दीको भय
यति वेला आर्थिक मन्दीको जोखिम केन्द्रमा रहेको जेपी मोर्गन चेजका विश्लेषकहरूले हालै एउटा कमेन्टरीमा लेखेका थिए । अघिल्ला वर्ष सुनको भाउ आर्थिक अनिश्चय, महँगी बढ्ने चिन्ता र केन्द्रीय बैंकहरूको आक्रामक अवस्थितिका कारण बढेका थिए । तर हालै सुनको भाउमा आएको सेल-अफले परिवर्तनको संकेत गरेको छ । सेयरललगायत अन्य सम्पत्तिमा तीव्र कमी आएपछि नगद बढाउन र मार्जिन कम गर्न संस्थागत लगानीकर्ताहरूले आफूसँग भएको सुन बेचेर नगद बनाएकोले पनि सुन दबाबमा आएको हुन सक्ने विश्लेषकहरू बताउँछन् ।
‘यतिवेला बजारमा कैयौं द्विविधा र अनिश्चय व्याप्त छ, सेयर बजारमा व्यापक उथलपुथल भइरहँदा सेफ हेभन एसेटले केही भए पनि राहत दिइरहेका छन्,’ आईजीमा बजार रणनीतिज्ञ रहेका यिप जुन रोङलाई उद्धृत गर्दै सीएनबीसीले एउटा समाचारमा भनेको छ ।
तर अहिले पनि सुनको भाउ उच्चस्तरमै छ । यस्तोमा सुनको भाउमा भएको वृद्धिबाट नाफ लिन लगानीकर्ताहरूले भटाभट आफूसँग भएको सुन बेच्न थाल्दा अल्पकालीन अवधिमा पहेँलो धातुको भाउ दबाबमा आउन सक्ने रोङले बताए ।
ट्रम्प ट्यारिफको प्रभावका कारण गएको हप्ता विश्व सेयर बजारले ६० खर्ब डलर गुमायो । सोमबार एकै दिनमा हङकङको हाङशेङ र दक्षिण कोरियाको कोस्पी १० प्रतिशतभन्दा धेरैले घटे । बिहानी कारोबारमा जापानको निक्केई पनि झन्डै ९ प्रतिशत तल आएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले एक्कासि व्यापार साझेदारहरूमाथि अतिरिक्त भन्सार महसुल लगाए । यसको प्रतिकारमा चीनले अमेरिकाबाट आउने सामानमा ३४ प्रतिशतको प्रतिशोधात्मक भन्सार महसुल लगाउने घोषणा गरेको छ ।
चीनले अमेरिकातर्फ दुर्लभ खनिज धातुको निर्यातमा बन्देज लगाएको छ । यसले पनि ‘रिस्क–अफ’ मुड बल्झिएको छ । तर यस्तोमा पनि सुनको भाउ घटेको छ । यसलाई लगानीका लागि सुरक्षित मानिने सुनसमेत अन्य सबै वर्गका सम्पत्तिमा बृहतर करेक्सन आउने अपेक्षा लगानीकर्ताहरूले गरेको हुन सक्ने संकेतका रूपमा हेरिएको छ ।
व्यापार युद्धले आर्थिक गतिविधि खुम्च्याउने भन्दै अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान श्याख्सले हालै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले २०२५ मा ब्याजदर १३० आधार बिन्दुले कटौती गर्ने प्रक्षेपण गरेको छ । यसअघि फेडले ब्याजदरमा १०५ आधार बिन्दुको कटौती गर्ने अनुमान गोल्डम्यान श्याख्सले गरेको थियो ।
उता, फेड प्रमुख जेरोम पावेलले चाँहि ब्याजदर घटाउन बैंकलाई कुनै हतार नभएको भनेका छन् । तर लगानीकर्ताहरूको अपेक्षा अर्कै छ । छिटोमा मेसम्ममा फेडले ब्याजदर घटाउने सम्भावना ५४ प्रतिशत भएको व्यापारीहरूले भनिरहेका छन् ।
सुनको भाउ ३८ प्रतिशतले घट्ने मर्निङस्टारको प्रक्षेपण
सुनको बियरिस परदृश्यमा अमेरिकाको वित्तीय सेवा प्रदायक कम्पनी मर्निङस्टारका विश्लेषक जन मिल्सको टिप्पणीले आगोमा घ्युको काम गरेको छ । मिल्सले केही दिनअघि मात्रै आगामी केही वर्षभित्र सुनको भाउमा एकतिहाइभन्दा धेरैको कमी आउन सक्ने भनेका थिए ।
अहिले ३ हजार डलर आसपास रहेको स्पट गोल्डको भाउ ३८ प्रतिशतले घटेर केही वर्षभित्र १ हजार ८२० डलरसम्ममा आउन सक्ने मिल्सको भनाइ थियो । ‘हालैका दिनमा सुनको भाउ भयले बढाएको थियो, तर महँगी सुस्ताउने अपेक्षा र व्यापार युद्ध सामान्य हुँदै जाने सम्भावनाबिच सुनको भाउमा निकै धेरै करेक्सन आउन सक्छ,’ उनले भने ।
यस्ता हुन सक्छन् सुनको भाउ घट्नुको कारण
अत्यधिक आपूर्तिः सुनको मूल्यमा कमी आउनुको एउटा कारण सुनको अत्यधिक आपूर्ति हुन सक्छ । सन् २०२४ को दोस्रो त्रैमासिक अवधिमा उत्खनन लाभ प्रतिऔंस ९५० डलरसम्म पुगेको थियो । यसबाहेक विश्वव्यापी भण्डार पनि ९ प्रतिशतले बढेर २ लाख १६ हजार २६५ टन पुगेको छ ।
मागमा कमीः सुनको आपूर्ति बढे पनि माग घटेको छ । विश्वभरका केन्द्रीय बैंकहरूले सुन खरिदको गतिलाई सुस्त बनाउने अपेक्षा गरिएको छ । यसैबिच विश्व सुन परिषद्को सर्वेक्षणले पनि ७१ प्रतिशत केन्द्रीय बैंकहरूले आफ्नो सुनको भण्डार घटाउने वा यथास्थिति कायम राख्ने योजना बनाइरहेका छन् ।
रातोपाटीबाट