३१ बैशाख २०८२, बुधबार

 

के राजावादीले भनेजस्तो बेलायतमा राजतन्त्र फर्किएको हो ?

बेलायतको उदाहरणबाट कहिलेकाहीँ मान्छे भ्रमित हुने गरेका छन् । के बेलायतको अहिलेको राजतन्त्र त्यसरी नै फर्किएको हो, जसरी नेपालका राजावादी भन्ने गर्छन् रु के बेलायतमा गणतन्त्र घोषणाको केही वर्षपछि पुनश्चस् अपदस्थ राजा फर्किएका हुन् ? के हो बेलायती राजतन्त्रको इतिहास ? 

जननिर्वाचित संविधानसभाको अत्यधिक बहुमतबाट गणतन्त्र स्थापना भएको १७ वर्षपछि नेपालका राजावादी राजतन्त्र पुनर्स्थापित गर्ने भन्दै प्रदर्शनमा लागेका छन् । तिनको तर्क छ–राजतन्त्र फर्किन सक्दछ ।

प्रकृतिमा यस्ता कतिपय नियम छन् – जो हुन्छ वा भइसक्छ, त्यसलाई पुरानो अवस्थामा फर्काउन सकिँदैन । जस्तो कि– जन्मिएको बच्चा आमाको गर्भमा फर्किँदैन । उम्रिएको बिउको टुसा फेरि दानामा गएर समेटिँदैन । बगेको खोलाको पानी फेरि मुहानमा पुग्दैन । निस्केको टुथपेस्ट उसै गरी ट्युबमा फिर्ता हुँदैन ।

प्रकृति विज्ञान र समाज विज्ञानमा केही भिन्नता अवश्य हुन्छ । तसर्थ, राजतन्त्रको अन्त्य माथिका उदाहरणजस्तै उत्तिकै दृढ नियम हो भन्न सकिन्न । किनकि राजनीति ‘शुद्ध विज्ञान’ हैन, ‘व्यावहारिक विज्ञान’ हो । तर, समाज विज्ञानमा प्रकृति विज्ञान र व्यवहारिक विज्ञानमा शुद्ध विज्ञानका नियम क्रियाशील नै नहुने हैन । ठूलो अंशमा त्यही हुन्छ । समाज विज्ञानमा अपवादका रूपमा केही फरक पनि हुन सक्दछ ।

नेपालको इतिहास हेर्दा अन्त्य भएको कुनै पनि व्यवस्था, वंश वा प्रणाली जस्तोको त्यस्तै फर्किएको छैन। अर्थात नेपालको राजनीतिक नियम ‘शुद्ध विज्ञान’ जत्तिकै दृढ छ । गोपाल–महिषपाल वंश फर्किएन । किरात वा लिच्छवीकाल फर्किएन । सेन वा मल्लकाल फर्किएन । राणा शासन फर्किएन । निर्दलीय पञ्चायत फर्किएन । २०४७ सालको संविधान नै पनि जस्ताको त्यस्तै फर्किएन । २०३६ सालको जनमत सङ्ग्रह फर्किएन । २४० वर्षपछि विधिवत अन्त्य भएको शाहवंशीय राजतन्त्र चाहिँ किन, कसरी र कुन नियमले फर्किएला त रु

राजावादी भन्छन्– फर्किन्छ । फर्केको इतिहास छ ।

कहाँ छ त त्यस्तो इतिहास रु तिनको उत्तर हुन्छ– बेलायत । बेलायतमा राजतन्त्र फर्किएको हो ।

बेलायतको उदाहरणबाट कहिलेकाहीँ मान्छे भ्रमित हुने गरेका छन् । के बेलायतको अहिलेको राजतन्त्र त्यसरी नै फर्किएको हो, जसरी नेपालका राजावादी भन्ने गर्छन् रु के बेलायतमा गणतन्त्र घोषणाको केही वर्ष पश्चात पुनश्चस् अपदस्थ राजा फर्किएका हुन् रु के हो बेलायती राजतन्त्रको इतिहास रु यो विषयको चर्चा फेरि एकपटक सान्दर्भिक भएको छ ।

नेपालका किरात, लिच्छवी, मल्ल, सेन–ठकुरी, शाहजस्तै बेलायतमा पनि एङ्ग्लो–साक्सन, नोरम्यान, प्यानटाजेनेट्स, लाङ्कास्टर, योर्क, ट्युडर, स्टुअर्ट, हानोवर जस्ता थुप्रै राजवंश भए ।

नेपालमा बेलायतमा राजा फर्किएको चर्चा गर्ने गरिएको घटना भने स्टुअर्ट वंशको हो । यो वंशबाट बेलायतमा जम्मा ४ राजा भए – जेम्स प्रथम, चार्ल्स प्रथम, चार्ल्स द्वितीय र जेम्स द्वितीय ।

स्टुअर्ट वंश सन् १६०३ मा सत्तामा आएको थियो र सन् १६८८ सम्म रह्यो । सन् १६८८ को ‘गौरवमय क्रान्ति’ले यो वंशसँगै निरङ्कुश राजतन्त्रको पनि अन्त्य गरेको थियो ।

त्यसअघि ट्युडर वंशकी एलिजावेथ प्रथम महारानी थिइन । सन् १६०३ मार्च २४ मा उनको निधन भयो । उनी निसन्तान थिइन । उनको परिवारभित्र कोही उत्तराधिकार थिएन । तसर्थ, उनका नजिकका नातेदारको खोजी गर्दा जेम्स प्रथमले राजा हुने अवसर पाए । जेम्स एलिजावेथ प्रथमकी आफन्तका छोरा र स्कटल्याण्डका राजा थिए । यसरी ट्युटर वंशको अन्त्य र स्टुअर्ट वंशको सुरुवात भएको थियो ।

बेलायती राजतन्त्रमा परम्परागत सामाजिक संरचना, धार्मिक पन्थ र जमिनदारी अर्थतन्त्रको एकीकृत शक्ति थियो । तसर्थ, त्यहाँको राजतन्त्रको कुरा गर्दा धार्मिक पन्थहरूको सङ्घर्ष, मूलतः क्याथोलिक, प्रोटेस्टेन्ट र प्युरिटनबीचको सङ्घर्ष पनि जोडिन्छ । त्यसैगरी परम्परावादी पदसोपनीय समाज र उदारवादी आधुनिक खुला समाजको चाहानाबीचको सङ्घर्ष पनि जोडिन्छ । अर्थ प्रणालीका रूपमा जमिनदारी प्रथा र आधुनिक औद्योगिक क्रान्ति तथा सामन्ती प्रणाली र पुँजीवादी प्रणालीबीचको सङ्घर्ष जोडिन्छ ।

सामाजिक, धार्मिक र आर्थिक प्रणालीबीचका यी सङ्घर्ष राजनीतिमा भने ‘राजतन्त्र’ र ‘संसद्’को शक्तिमा विभक्त हुन्छन् । राज्यशक्ति कहाँ हुनु पर्दछ रु दरबारमा कि संसद्मा रु यो बेलायती राजनीतिको शताब्दीऔं लामो भीषण सङ्घर्षको केन्द्रीय विषय थियो । सन् १२१५ को म्याग्नाकार्टाको पृष्ठभूमिदेखि नै यो सङ्घर्ष थियो ।

स्टुअर्ट वंशको पालमा यो सङ्घर्ष सबैभन्दा तीव्र र पेचिलो भयो । सन् १६२५ मा जेम्स प्रथमको निधनपछि उनका छोरा चार्ल्स प्रथम सत्तामा आए । यी दुवै राजाको पालामा संसदवादी शक्तिसँग सङ्घर्ष यति तीव्र भयो कि चार्ल्स प्रथम संसद्सँग सम्झौता गर्न बाध्य भए । सन् १६२८ को अधिकारपत्र ९पेटिसन अफ राइट्स० त्यसैको परिणाम थियो ।

तर, चार्ल्स प्रथमले ‘पेटिसन अफ राइट्स’को व्यापक उल्लङ्घन गरे । उनी दैवी शक्तिको सिद्धान्तमा विश्वास गर्ने निरङ्कुश राजा थिए । राजा भनेकै शासन गर्नका लागि जन्मिने हुँदा उसमा असीमित अधिकार हुनु पर्दछ भन्ने उनको सोच थियो । उनी व्यवहारमा पनि त्यही दाबी गर्थे । त्यस्तै निर्णय र काम गर्थे ।

चार्ल्सको यही सोचका कारण ‘गृहयुद्ध’ भड्कियो । सन् १६३९– १६५१ को समयलाई त्यहाँ गृहयुद्धको अवधि भनिन्छ । यो अवधिमा राजाको शक्ति र संसद्को सर्वोच्चता मान्ने दुई सेनाबीच भीषण सङ्घर्ष भयो ।

ओलिभर क्रमबेलको उदय यही क्रममा भएको हो । यही सङ्घर्षको चरमोत्कर्षमा राजा चार्ल्स प्रथमलाई सन् १६४९ जनवरी ३० मा फाँसी दिइएको थियो । संसद् पक्षधर सेना प्रमुखका रूपमा क्रमबेलले चार्ल्सलाई फाँसी दिने निर्णय कार्यान्वयन गरेका थिए ।

चार्ल्स प्रथमलाई फाँसीमा चढाएपछि भयभीत भएका उनका छोरा चार्ल्स द्वितीय देश छोडेर भागे । क्रमबेलले ‘लर्ड प्रोटेक्टर’ को पद घोषणा गरी सन् १६५८ सम्म तदर्थवादी र सङ्क्रमणकालीन शासन गरे । उनको निधनपछि यो पद छोरा रिचार्ड क्रमबेलले पाए । रिचार्डमा बुवाको जस्तो राजनीतिक क्षमता थिएन । तसर्थ, इङ्ग्ल्याण्डको संसद्ले निर्णय गरेर नै चार्ल्स द्वितीयलाई सन् १६६० मा फिर्ता बोलायो र राजा बनायो ।

नेपालका राजावादीहरूले ‘बेलायतमा राजा फर्कियो’ भनेको यसैलाई हो । त्यहाँ सन् १६४९ देखि १६६० सम्म ११ वर्ष राजा पद निस्क्रिय बसेको थियो ।

यो घटनाको विश्लेषणमा जानुभन्दा पहिले घटनाक्रमकै चर्चा सकौँ । पितालाई फाँसी दिएको देखेको, फ्रान्समा ९ वर्ष लामो निर्वासित जीवन बिताएको, संसद्ले नै निर्णय गरेर फिर्ता बोलाएको हुँदा चार्ल्स द्वितीयले संसद्को शक्तिसँग धेरै टसल गरेनन् । सन् १६८५ मा उनको निधन भयो ।

त्यसपछि उनका भाइ जेम्स द्वितीय राजा भए । किनकि दाजु चार्ल्स द्वितीय निसन्तान थिए । यिनको चरित्र र नियति भने धेरै हदसम्म नेपालका ज्ञानेन्द्र शाहसँग मिल्दोजुल्दो छ । किनकि यी दुवै ‘भाइ राजा’ हुन् । यिनै भाइ राजाको अवधिमा बेलायतमा ‘गौरवमय क्रान्ति’ भयो र स्टुअर्ट वंशकै अन्त्य भयो । गौरवमय क्रान्तिको कारण उनी देश छोडेर भागे । निर्वासित भएको देश फ्रान्समै उनको निधन भयो । फ्रान्स तिनको मावली देश थियो । जेम्स प्रथमले फ्रान्सकी राजकुमारीसँग बिहे गरेका थिए ।

जेम्स द्वितीय धर्मले क्याथोलिक, राजनीतिमा निरङ्कुश र सामाजिक व्यवहारमा अत्याचारी राजा थिए । उनले प्रोटेस्टेन्ट धर्मावलम्बीमाथि व्यापक दमन गरे । संसद्को शक्तिलाई अनदेखा गरे । यहाँसम्मकी छोरी(ज्वाइँ विलियम र मेरीसमेत उनका आलोचक र राजनीतिक विरोधी भए ।

मेरीको बिहे हल्याण्डका राजा विलियमसँग भएको थियो । जेम्स द्वितीयसँग शक्ति सङ्घर्ष बढ्दै गएपछि बेलायतको संसद्ले छोरी र ज्वाइँलाई राजगद्दी सम्हाल्न आव्हान गर्‍यो । १५ हजार सेनासहित विलियम र मेरी हल्याण्डबाट इङ्ग्ल्याण्ड आए । कसैले साथ नदिने निश्चित भएपछि जेम्स फ्रान्स भागे । संसद्ले विलियम र मेरी नै बेलायतका संयुक्त राष्ट्रध्यक्ष हुन् भन्ने प्रस्ताव पारित गर्‍यो ।

त्यसपछि दरबार र संसदबीचको सङ्घर्ष सधैँलाई समाप्त भई ‘संवैधानिक राजतन्त्र’ सुरु भयो, जुन अहिलेसम्म जारी छ । यद्यपि, विलियम र मेरीकी छोरी महारानी एन्ने सम्मलाई कतिपयले स्टुअर्ट वंश मान्छन् तर विलियम स्टुअर्ट वंशका सन्तान हैन, ज्वाइँ थिए ।

बेलायती राजतन्त्रको उतारचढावको मुख्य घटनाक्रम यत्ति नै हो । अब यसको विश्लेषणमा जाउँ ।

पहिलो कुरा – यी सबै सत्रौँ शताब्दी अर्थात करिब ४०० वर्ष अघिका घटनाक्रम हुन् । सत्रौँ शताब्दीका घटनाक्रमलाई एक्काईसौँ शताब्दीका घटनाक्रमसँग तुलना गर्नु आफैँमा नमिल्दो हो । बेलायतको राजतन्त्रले सन् १६८८ यता ३ शताब्दीभन्दा लामो समयदेखि संवैधानिक सीमा उल्लङ्घन गरेको छैन । त्यसैले त्यो टिकेको छ ।

ज्ञानेन्द्र शाहले २०५८ असोज १८ र २०६१ माघ १९ नगरेको भए सायद उनी पनि टिक्न सक्थे होलान् । बेलायती राजतन्त्रले त्यति लामो समयदेखि किन संवैधानिक राजतन्त्रको नियम, मर्यादा र सीमा पालना गर्‍यो, नेपालको शाहवंशले किन त्यस्तो नियम कहिल्यै पालना गरेन रु यो प्रश्न अहं बन्छ ।

दोस्रो कुरा – चार्ल्स प्रथमको फाँसीपछि त्यहाँ नेपालमा जस्तो संविधानसभाको निर्वाचन भएर गणतन्त्रको स्थापना र गणतान्त्रिक संविधानको घोषणा गरिएको थिएन । बुवाको फाँसीपछि चार्ल्स द्वितीय आफैँ डरले भागेका थिए । ओलिभर क्रमबेलले आफूलाई ‘राष्ट्रपति’ घोषणा गरेका थिएनन् । न त उनी निर्वाचित नै थिए । उनका छोरा रिचार्ड क्रमबेलमा राजनीतिक नेतृत्वको क्षमता नदेखेपछि संसद्ले प्रस्ताव पारित गरेरै चार्ल्स द्वितीयलाई बोलाएको थियो ।

नेपालमा निर्वाचित संविधानसभाले विधिवत गणतन्त्र घोषणा गरेको हो । त्यसयता ३ वटा राष्ट्रपतिको निर्वाचन भइसकेको छ । चार्ल्स द्वितीय कुनै राजावादी आन्दोलनले पुनर्स्थापित भएका राजा हैनन् । ओलिभर क्रमबेलको निधन र उनका छोराको अक्षमतापछि संसद्ले नै प्रस्ताव पारित गरेर बोलाएको हो ।

तेस्रो कुरा– जुन राजासँग संसद् र जनताको सङ्घर्ष भएको हो, तिनै व्यक्ति राजाका रुपमा फिर्ता भएका हैनन् । मुख्य तनाव चार्ल्स प्रथम र जेम्स द्वितीयसँग भएको हो । दुवै सत्तामा फेरि फर्किएनन् । चार्ल्स प्रथमलाई फाँसीको सजाय दिइयो भने फ्रान्स भागेका जेम्स द्वितीय त्यही मरे ।

नेपालमा राजतन्त्र र गणतन्त्रको निर्णायक सङ्घर्ष ज्ञानेन्द्र शाहसँग भएको हो । ज्ञानेन्द्र शाह चार्ल्स द्वितीय वा विलियम–मेरी हैनन्, चार्ल्स प्रथम वा जेम्स द्वितीयजस्ता हुन् ।

चौथो कुरा– संवैधानिक राजतन्त्रको नियमको पालना ट्युडर वा स्टुअर्ट वंशको नियमित उत्तराधिकारले गरेको थिएन । त्यस्तो परम्परा र प्रचलन विलियम र मेरीले स्थापित गरेका थिए, जो आफ्नै पिता–सुसुरा जेम्स द्वितीयका राजनीतिक आलोचक, कट्टर विरोधी थिए । उनीहरु संसद्को प्रस्ताव र सहयोगमा १५ हजार सेना लिएर जेम्स द्वितीयसँग लड्न आएका थिए । निरुपाय जेम्स देशै छोडेर भागेका थिए । यहाँ शाहवंशमा त्यस्तो कोही क्रान्तिकारी छोरी ज्वाइँ कोही छैन ।

पाँचौँ कुरा – बेलायती राजतन्त्रमा छोरीलाई पनि महारानी हुने अधिकार थियो । अधिकांश पुरुष राजा अहङ्कारी, विलासी, निरङ्कुश र अत्याचारी हुन्थे । तर, महारानी संसद्सँग मिलेर हिँड्ने, दयालु र नरम चरित्रका हुन्थे । छोरी राष्ट्रप्रमुख हुने आशाले पनि त्यहाँका जनता राजतन्त्रप्रति आक्रामक हुँदैनथे । जेम्स द्वितीयको छोरा जन्मिनुलाई गौरवमय क्रान्तिको एक मुख्य कारण मानिन्छ, जो बाभन्दा बढी अत्याचारी र नालायक हुनेछन् भन्ने जनधारणा थियो ।

हाम्रोमा दयालु छोरी महारानी हुने प्रचलन नै थिएन तर, अत्याचारी र नालायक छोराहरूले सताउने परम्परा भने रह्यो ।

छैटौँ – बेलायतको राजतन्त्र एक अपवाद पनि हो, जो सबै युरोपेली देशमा लागू भएको छैन । राजतन्त्रसँगको कठोर र बारम्बारको सङ्घर्षपछि फ्रान्स, जर्मनी, इटाली, रुसजस्ता कयौँ युरोपेली देशले गणतन्त्रकै बाटो रोजेका छन् ।

सातौँ – शताब्दीऔं लामो अभ्यास र परम्पराले त्यहाँको राजतन्त्र अब ‘शक्तिकेन्द्र’ हैन, ‘सांस्कृतिक संस्था’ मात्रै बाँकी रहेको छ । राजसंस्थाबाट लोकतन्त्रलाई जोखिम छैन भन्ने त्यहाँका जनतालाई विश्वास छ । यदि लोकतन्त्रका लागि जोखिम भयो वा हानी पुर्‍यायो भने त्यहाँ पनि राजतन्त्र टिक्दैन । टिक्न सम्भव नै छैन । नेपालमा जस्तो कुनै अवाञ्छित कार्य, निर्णय गर्ने हो भने त्यहाँ राजतन्त्र एक दिन पनि टिक्न सक्दैन ।

नेपालको शाहवंशीय राजतन्त्रको चरित्र बेलायतको विलियम–मेरी परम्पराको भन्दा बिल्कुलै फरक र उल्टो हो । यहाँ राजतन्त्रले एकपटक, दुईपटक हैन, बारम्बार लोकतन्त्रमाथि घात गर्‍यो । २००७ सालमा त्रिभुवनले, २०१७ सालमा महेन्द्रले, २०३६ सालमा वीरेन्द्रले र २०५८ पछि ज्ञानेन्द्र शाहले लोकतन्त्रमाथि आक्रमण र विश्वासघात गरे ।

नेपालमा शाहवंशीय राजतन्त्र भन्नेबित्तिकै संवैधानिक, शृङ्गारिक वा सांस्कृतिक राजा भन्ने बुझिदैन, बरु निरङ्कुश, अधिनायकवादी चरित्रकै राजा बुझिन्छ । र, व्यावहारिक सत्य पनि त्यही नै हो ।

आठौँ र अन्तिम कुरा– बेलायतमा राजावादी पार्टी पनि राजाको निरङ्कुशताको विरुद्धमा हुन्थे । जस्तो कि टोरी दल (अहिलेको कन्जरभेटिभ पार्टी ) लाई त्यहाँ राजावादी मानिन्छ । तर, त्यसले पनि गौरवमय क्रान्तिको समर्थन गरेको थियो । टोरी, ह्वीङ, लेबर कुनै पनि दलले राजालाई निरङ्कुश हुन उक्साउँदैनन् ।

तर, नेपालका राजावादी शक्ति र दल संवैधानिक राजा र निरङ्कुश राजाबीचको भेद बुझ्दैनन् वा बुझ्न चाहँदैनन् । राजाका जस्तासुकै कदमलाई साथ दिन्छन्, समर्थन गर्दछन् । जस्तो कि राप्रपाले राजा ज्ञानेन्द्रको असोज १८ र माघ १९ दुवै कदमलाई समर्थन गर्‍यो । असोज १८ पछि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री खान कुदे । कमल थापा माघ १९ पछि ज्ञानेन्द्र शाहको गृहमन्त्री भए । बेलायतका टोरी नेताले यस्तो गल्ती गर्दैनन् ।

अहिलेका राजावादीको प्रदर्शनमा पनि त्यही झल्किन्छ । किनकि ती राजाहरूले गरेका गल्ती र संवैधानिक राजतन्त्रको मर्यादा विपरीतको कदमको कहिल्यै विरोध वा आलोचना गर्दैनन् । अहिले पनि यहाँका राजावादीहरूको आदर्श महेन्द्र शाह हुन्, जसले निर्वाचित संसद् विघटन गरी प्रधानमन्त्रीलाई नै लामो समय जेलमा थुनेका थिए । यिनले भन्ने गरेको संवैधानिक राजतन्त्रको कुरामा कसैले विश्वास गर्दैन । यी अप्ठ्यारो बेला त्यस्तो अडानमा बस्दैनन् । अन्ततः यी सबैले निरङ्कुशताकै समर्थन गर्दछन् ।

तसर्थ, यो बुझ्न जरुरी छ कि नेपाल र बेलायतको सन्दर्भ बिल्कुलै अतुलनीय हो । आग्रा र घाग्राका कुरा भनेजस्तो ।

नेपालभ्युजबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung