बागलुङ । बागलुङको बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।बागलुङ नगरपालिका नगर स्तरीय खोप समन्वय समितिको आयोजनामा बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
नगरपालिका भर जन्मेदेखि १५ महिना उमेर समूहका ६ सय ६३ जना नियमित खोप लगाईरहेको र १६ देखि २३ महिना उमेर समुहका ४ सय ४९ जनालाई खोप दिएपछि नगरलाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको खोप समन्वय समितिले जनाएको छ ।
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभएको थियो भने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेस सभा सदस्य तथा पूर्ववनमन्त्री दिपेन्द्रबहादुर थापाले गर्नु भएको थियो ।प्रदेशसभा सदस्य थापाले खोप लगाउने कार्य शुरुवात भएपछि खोप लगाउन नपाएका कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले बालबालिकालाई कुनै पनि खोप लगाउनबाट बञ्चित गराउन नहुने बताउनुभयो ।
स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएकाले यसमा सवै सचेत बन्नुपर्नेमा जोड दिदै थापाले अभियान सफल पार्न महिला स्वास्थ्य स्वंयम सेविकाको महत्वपूर्ण योगदान रहेकाले उनीहरुको सेवा सुविधाका लागि पनि सवै तहले सोच्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय खोप तालिका अनुसार नगरका १४ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित नगरपालिका घोषणा गरिएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
सो अवसरमा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले पदबहाली ग्रहणदेखि हालसम्म नगरपालिकाले गरेका उपलव्धी सार्वजनिक गर्नु भएको थियो । उहाँले निर्वाचित भएर आएदेखि जनचाहना अनुसार हरेक क्षेत्रमा काम गर्ने प्रयास भएको बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकिय अधिकृत हरिदक्त कँडेल, सामाजिक विकास समितिका सदस्य एवं वडा नम्वर ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्री, नारायण स्वास्थ्य चौकी प्रमुख ऋषिराम शर्मा, महिला स्वास्थ्य स्वंयम सेविकाहरुको तर्फबाट कल्पना श्रेष्ठले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम बागलुङ नगरपालिका नगर प्रमुख तथा नगर स्तरीय खोप समन्वय समितिका अध्यक्ष बसन्तकुमार श्रेष्ठको अध्यक्षता, नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद शर्माको स्वागत र स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।




































































































































































































