पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गर्ने निर्णय गरेको छ । सरकार र यातायात व्यवसायीबीच सोमबार मध्यराति भएको सहमति कार्यान्वयन गराउन केन्द्र सरकारको पत्र बमोजिम गण्डकी प्रदेश सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
केन्द्रको पत्रपछि मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले छलफल सम्बन्धित मन्त्री तथा पदाधिकारीहरूसँग छलफलपछि नियमावली स्थगित गर्ने र यातायात व्यवसायीसँग वार्ता गर्ने निर्णय गरेको छ ।
बैठकपछि मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको निर्णयमा ‘भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्षलाई वार्ताका लागि पुनस् आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राइड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनी निर्णय भएको व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ,’ उल्लेख छ ।अब बन्द भएको यातायात सुचारु हुने सुचारु हुने भएको छ ।













































































































































































































