बागलुङ ।विद्युत आपूर्ति अनियमित हुँदा उद्योगी, व्यवसायी र उपभोक्ता मारमा परेको भन्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ज्ञापन पत्र वुझाएका छन् ।
विद्युत अनियमित र ट्रिपिङको समस्या समाधान नहुँदा बागलुङको उद्योग, घरेलु उद्योग, पर्यटन व्यवसाय, सेवा मुलक व्यवसायका साथै धेरै क्षेत्र प्रभावित भएको भन्दै आपूर्ती नियमित गराउनको लागि पहल गर्न आग्रह गरेका छन् ।
जिल्लामा सञ्चालनमा रहेका फर्निचर, ग्रिल, खाद्यान्न, मसला, सुनचाँदी, बेकरी, पोशाक लगायतका उद्योगहरु, होटल, रेष्टुरेन्ट, खाजा पसल, अपसेट प्रेस, अस्पताल, पोलिक्लिकका ल्याब, खोप मेशिन, एक्सरे, बैंक तथा वित्तीय सस्था, क्याम्पस, विद्यालयका साइन्स ल्याब, कम्युटर ल्याब, संचार माध्यम, विद्युतीय पुस्तकालय लगायतलाई समस्यामा परेको संगठनले जनाएको छ।
पटकपटक विद्युत अनियमित हुँदा विद्युतबाट चल्ने धेरै सामग्री बिग्रिने गरेको, सामान्य हावा चल्दा पनि विद्युत आपूर्ति अनियमित हुने गरेको ज्ञापन पत्रमा उल्लेख छ । विद्युत आपूर्ती नियमित नहुँदा उत्पादनमा कमी भएको मात्र छैन, उत्पादन लागत बढेको, वस्तुको मूल्य महंगो हुन गएको, कर्मचारीलाई दिनुपर्ने मासिक तलब र बैंक तथा वित्तिय संस्थाको किस्ता भुक्तानीमा समस्या परेको, मुनाफामा असर परेको, उपभोक्ताले वस्तु तवा सेवा समयमै नपाएको, उद्योग बन्द गर्नु पर्ने अवस्था आएको र महँगा प्रविधिमा जोडिएका मेशिनरी सामानहरुमा विग्रर्दा उद्योगी व्यवसायीहरु मर्कामा परेका छन् ।
सरकारले लोडसेडिङ अन्त्य भएको जनाए पनि लामो समयदेखि यो समस्याको बारेमा सबै सरोकारवालाहरुलाई पटकपटक उद्योगी व्यवसायीले भोग्नु परेको पीडाको बारेमा ध्यानाकर्षण गराउँदा र विद्युत आपूर्तिमा देखिएको समस्या सहज बनाउन पहल गर्न भनिए पनि त्यसको समाधान नहुँदा बागलुङको औधोगिक क्षेत्र, यस क्षेत्रको अर्थतन्त्र र आर्थिक बजारलाई गम्भीर असर परेको नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालले बताउनु भयो ।
यो समस्या कहिले पनि संघीय, प्रदेश, स्थानीय सरकार, जनप्रतिनिधी, राजनैतिक नेतृत्व र स्थानीय प्रशासनको प्राथमिकता नपरेको उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । बागलुङ जिल्लामा २ हजार ६ सय २० वटा ठुला तथा घरेलु उद्योगहरु, दुई सय वटा होटल तथा रेष्टुरेन्ट, सरकारी र नीजि गरी ३० बटा ल्याब पसल, जनस्वास्थ्य कार्यालयको खोप राख्ने फ्रिज, ८५ स्वास्थ्य चौकी, प्रादेशिक, जिल्ला, नगर अस्तपाल गरी पाँच वटा अस्पताल, सामुदायिक र संस्थागत विद्यालयका २५ वटा कम्युटर ल्याम्ब र साइन्स ल्याव र एउटा विद्युतीय पुस्तकालय लगाएतको क्षेत्रमा गम्भीर असर पर्दा सेवाग्राही चरम मर्कामा परेका छन् ।
अनियमित रुपमा विद्युत आपूर्तीले उद्योग व्यवसाय धरासायी हुने अवस्थामा आएको बताउँदै गम्भिर ध्यानकर्षण भएको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका कोषाध्यक्ष गोकुल प्रसाद कँडेलले बताउनु भयो ।यो समस्याको समाधानको लागि नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका अनुसार पर्वत खुर्कोटको २ सय २० र १ सय ३२ केविको सव स्टेसनमा १ सय ३२ तथा ३३ केविको टान्सफर्मर राखेर ३३ को सप्लाईका लाइन बागलुङ नगरपालिका-१ को रामरेखा सव स्टेसन बागलुङका प्रवाह गर्यो भने यो समस्या हट्ने सुझाव समेत संगठनले दिएको छ।
यसको लागि विद्युत प्राधिकरणको प्रसारण निर्देशानलय काठमाडौंबाट टान्सफर्मर ल्याएर पर्वतको खुर्कोटको सव स्टेसन ल्याउनको लागि पहल गर्न आग्रह गरेको छ । म्याग्दीको दाना सव स्टेसनबाट बेनी आउने लाइनमा समस्या आयो भने त्यसले बागलुङको विद्युत प्रवाहमा समेत समस्या उत्पन्न हुने गरेको छ।
कठिन भूगोल, प्रतिकुल मौसम र पहिरोले पनि विद्युत आपूर्तिमा समस्या उत्पन्न हुने जानकारी गराइएको थियो। ज्ञानपन पत्र बुझाउने कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, नेपाल उद्योग व्यापार संगठन बागलुङका उपाध्यक्ष प्रकाश पौडेल, महासचिव गोकुल प्रसाद कँडेल, कोषाध्यक्ष मनकाजि विश्वकर्मा, पूर्वअध्यक्ष रतन प्रसाद मलेपती, नगर समितिका उपाध्यक्ष कविता बस्नेतको उपस्थिति रहेको थियो ।















































































































































































































