







बागलुङ । सरकारले बजेटमा सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करविरुद्धमा बागलुङका सुनचाँदी व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।
माग पूरा गरिने प्रतिबद्धता जनाइए पनि विनियोजन विधेयक पास हुँदा माग सम्बोधन नभएपछि फेरि आन्दोलन गर्नु परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य मनकाजि विश्वकर्माले बताउनुभयो ।
शुक्रबार बागलुङ बजारमा विरोध प्रदर्शन गरी लोकतान्त्रिक चोकमा भएको विरोध सभामा बोल्दै सरकारले माग पुरा नगरे कडा आन्दोलन गर्ने नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो ।
व्यवसायीहरूले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सरकारले सुनचाँदीको व्यापारलाई व्यवसायीमैत्री एवं उपभोक्तामैत्री नीति बनाउनु पर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य सुदेशचन्द्र राजभण्डारीले बताउनुभयो । कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङका सचिव परशुराम सुनारले सञ्चालन गर्नु भएको थियो ।
बागलुङका सुनचाँदी व्यवसायीको आन्दोलनमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, महासचिव तथा बागलुङ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गोकुल प्रसाद कँडेल, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका सदस्यहरु अनिष खाती, धनकाजि विश्वकर्मा उपस्थिति रहेको थियो ।
साथै बागलुङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नरेश कँडेल र संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम, प्रथम उपाध्यक्ष नविन कुमार श्रेष्ठ, द्धितीय उपाध्यक्ष केशव वझा, महासचिवमा इन्द्रमणी पौडेल (अर्जुन), कोषाध्यक्ष मनिष राजभण्डारी, सह–कोषाध्यक्षमा चन्द्रराज रेग्मी, सदस्य विष्णु प्रसाद अधिकारी र महिला सचिव सृजना राजभण्डारीको पनि उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर माग पूरा गरिने प्रतिबद्धता जनाइए पनि उक्त माग सम्वोधन नभएपछि काठमाडौं उपत्यकाका सुनचाँदी व्यवसायी पसल बन्द गरेर आज फेरि सडक आन्दोलनमा उत्रिएका छन् ।
सुनचाँदीमा लगाइएको कर फिर्ताको माग गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।













































































































































































































