बागलुङ। यहाँको एक विद्यालयले असार १५ को अवसर पारेर खेतमै विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराएको छ । न्यू एभरेष्ट एकेडेमी बागलुङले विद्यार्थीलाई रोपाई सम्बन्धि ज्ञान दिन खेतमानै प्रयोगात्मक अभ्यास गराएको हो ।
असार १५ को महत्व बुझाउँदै विद्यार्थीलाई माटो र उत्पादनसँग जोड्नका लागि बागलुङ नगरपालिका वडा नं. ३ स्थित खेतमा ल्याएर रोपाई सिकाएको प्रधानाध्यापक कृष्ण अधिकारीले बताए ।
‘चामल कहाँबाट आउँछभन्दा पसलबाट भन्ने परिस्थिती छ, अहिलेका बच्चाहरुले उत्पादन कसरी हुन्छ भन्ने सामान्य ज्ञान समेत सिक्दैनन्’ उनले भने ‘किताबको ज्ञान मात्रै जीवनमा काम नलाग्न सक्छ, हाम्रो परम्परा र जीवनसँग जोडिएको व्यवहारिक ज्ञानका लागि बिद्यार्थीलाई रोपाई अभ्यासनै गराएका हौं ।’
विद्यालयले कक्षा ४ र ५ का विद्यार्थीबाट इच्छुक विद्यार्थीलाई रोपाईमा सहभागि बनाएको थियो । असार १५ धान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम भैरहेका बेला विद्यालयले भने धान दिवस मनाउने र विद्यार्थीलाई काम सिकाउने दुवै प्रयास गरेको उनले बताए ।
रोपाई सम्बन्धि सीप सिकाउन प्रधानाध्यापक अधिकारीसँगै विद्यालयकी जेष्ठ शिक्षिका राधा लामिछानेलगायतका शिक्षक शिक्षिका खेतमा पुगेका थिए । रोपाईमा सहभागि विद्यार्थीले निकै रमाईलो तरिकाले सिक्न पाएको भन्दै खुसी व्यक्त गरे ।













































































































































































































