बागलुङ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम शिव मन्दिरमा साउन महिनाको प्रत्यक सोमबार दर्शनका लागि जाने भक्तजनलाई लक्षित गरेर इमर्जेन्सी हेल्थ डेक्स सञ्चालन गरिएको छ ।
नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा बागलुङले बागलुङ नगरपालिका स्वास्थ्य शाखासंग सहकार्य गरि मन्दिर परिसरमा हेल्थ डेस्क स्थापना गरेको हो ।
मन्दिर परिसरमा पुग्ने भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी हेल्थ डेस्क स्थापना गरिएको छ ।
स्वास्थ्यकर्मी र स्वयंसेवकसहित हेल्थ डेस्क स्थापना गरिएको शाखा सभापति जगन्नाथ आचार्यले बताउनु भयो ।
मन्दिर आउने भक्तजनको स्वास्थ्यमा समस्या देखिएमा समेत तत्काल स्वास्थ्य परीक्षण गर्ने व्यवस्था हेल्थडेक्सबाट गरिएको र सो हेल्थ डेक्स साउन महिनाका प्रत्यक सोमबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने आचार्यले जानकारी दिनुभयो ।
रेडक्रशले महाशिवरात्री पर्व र श्रावण सोमबारको अवसरमा मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालन गर्दै आएको छ।
साउनको पहिलो सोमबारका दिन आज गौरीधाममा भक्तजनको भीड लागेको छ । मन्दिरमा बिहानदेखि भक्तजनको चहलपहल सुरु भएको थियो । भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सबै प्रबन्ध मिलाईएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।














































































































































































































